राजधानीमा इन्द्रजात्राको रौनक शुरु भएसंगै आज भक्तपुर नजिकको जंगलबाट लिएर आएको लिङ्गो नगर प्रबेश गरेको छ ।
आज बिहान ७:२४ को साइत पारेर नेपाली सेनाको सहयोगमा भोटाहिटीमा राखिएको लिङ्गो डोरीले तानेर हनुमानढोका परिसरमा पुर्याइएको छ ।
मल्लकालदेखि इन्द्रजात्रामा कुमारी जात्रा पनि गर्न थालिएको हो । मल्लराजा यात्रामा सँगसँगै रथमा बसेर हिँड्ने चलन थियो ।
पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि भने दाम राखेर ढोग्ने परम्परा सुरु भएको हो । प्राचीनकालमा भारत वर्षभर इन्द्रजात्रा गर्ने परम्परा भए पनि मुस्लिमको आक्रमण भएका स्थानमा यो परम्परा टुटेको छ ।
नेपाल भने बाह्य शक्तिको नियन्त्रणमा नपरेकाले वैदिक कालदेखि नै यो परम्परा निरन्तररुपमा चलेको विश्वास गरिन्छ । आधुनिक इतिहास भने मल्लकालदेखि मात्र इन्द्रजात्रा सुरु भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।
मल्लकालसम्म भाद्र शुक्ल एकादशीका दिन गरिने इन्द्रध्वजोत्थान शाहकालदेखि भने भाद्र शुक्ल द्वादशीका दिन गर्न थालिएको हो । पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि पनि यहाँको संस्कृतिलाई आत्मसात् गर्दै यो परम्परालाई निरन्तरता दिइएको इतिहासका पुस्तकमा उल्लेख छ । यो जात्रा काठमाडौंकै लामो जात्रा हो ।
थप तस्बिरहरू