झापामा भन्सार छलेर भारतबाट भित्र्याएको करिव साढे १५ लाख मूल्यको सामान बरामद भएको सामानको सूचना सशस्त्र प्रहरी मुख्यालयमा नपठाइएको पाइएको छ ।
उक्त मुचुल्काको एक प्रति मुख्यालयमा पठाउनु पर्ने भएतापनि सशस्त्र मुख्यालयमा उक्त मुचुल्काको प्रतिलिपी पठाइएको छैन । सशस्त्र प्रहरी हेडक्वाटरले केटिएम दैनिकलाई दिएको जानकारी अनुसार उक्त मितिमा ती समानहरू बरामद भएको सूचनामा आएको छैन ।
केटिएम दैनिकले मंगलबार “भन्सार छलेर नेपाल भित्र्याइएको सामान सशस्त्र प्रहरीबाटै गायव !” शीर्षकमा समाचार सम्प्रेषण गरेपछि सशस्त्र प्रहरी मुख्यालयले यसबारे चासो देखाएको छ ।
श्रावण ९ गते भन्सार नियन्त्रणको लागि खटिएको सशस्त्र प्रहरीको टोलीले बीआर ५० एच ६०८३ नम्बरको भारतीय कारसहित १५ लाख ४५ हजार ८१८ मुल्य बराबरको स्टेशनरी सामग्री बरामद गरेको थियो ।
बरामद सामग्रीको मुचुल्का गरेर कारवाहीको लागि मेची भन्सार कार्यालय बुझाउन तयार गरिएको पत्रमा २३ फरक सामाग्रीको मूल्य १५ लाख ४५ हजार ८१८ रहेको उल्लेख छ ।
साथै बरामदी मुचुल्कामा १९ जना प्रतिवेदकहरूको नाम समावेश हुनु पनि अनौठो भएको मुख्यालयको ठहर छ । शसस्त्र प्रहरी हेडक्वाटरको सूचना शाखामा कार्यरत डिएसी शैलेन्द्र थापाका अनुसार प्रतिबेदकमा १९/१९ जनाको नाम समावेश गर्नु हाम्रो संगठनको प्राक्टिस भित्र पर्दैन । थापाले मुचुल्कामा केहीको बैंक खाता समेत समावेश भएकोमा अर्को आश्चर्य व्यक्त गरेका छन् ।
बरामदी मुचुल्कामा कार्यलय प्रमुखको हस्ताक्षर हुनुपर्नेमा सो पनि छैन । मुख्यालयले उक्त मुचुल्कमा नाम समावेश भएका १९ जनालाई विभागीय कारबाही गर्ने भएको छ । केटिएम दैनिकको प्रश्नमा मुख्यालयले भन्यो, “केही व्यक्तिले गरेको कामले संगठनको मान प्रतिष्ठामा नै आँच आउने हुनेले तिनीहरूमाथि छानविन गरेर विभागीय कारबाही अगाडि बढाइन्छ ।”
उक्त सामान छुटाउनको लागि सत्तारुढ दलका एक नेताले केन्द्रबाट दवाव दिएको अपुष्ट खबर छ । यस विषयमा केटिएम दैनिकले थप फ्लोअप गर्नेछ ।