झापामा भन्सार छलेर भारतबाट भित्र्याएको करिव साढे १५ लाख मूल्यको सामान बरामद भएपछि सशस्त्र प्रहरीबाट गायव पारिएको छ ।
यो घटना श्रावण ९ गतेको हो, सशस्त्र प्रहरीले बीआर ५० एच ६०८३ नम्बरको भारतीय कारसहित १५ लाख ४५ हजार ८१८ मुल्य बराबरको स्टेशनरी सामग्री बरामद गरेको थियो । नेपाल भारत सीमा नाकामा परिचालित शसस्त्र प्रहरीले अवैध रुपमा भारतबाट नेपाल ल्याइएका सामान बरामद गरेर भन्सार दाखिला नगरी गायव पारेको प्रमाण केटिएम दैनिकले फेला पारेको छ ।
केटिएम दैनिकलाई प्राप्त कागजातमा सशस्त्र प्रहरीका सइ रमेशकुमार कुँवरको नेतृत्वमा रहेको प्रहरीको टोलीले भद्रपुर नगरपालिका–५ डिम्की चोकबाट अवैधानिक रुपमा ल्याएको किताबहरुसहित स्टेशनरी सामग्री बरामद गरेको उल्लेख छ ।
बरामद सामग्रीको मुचुल्का गरेर कारवाहीको लागि मेची भन्सार कार्यालय बुझाउन तयार गरिएको पत्रमा २३ फरक सामाग्रीको मूल्य १५ लाख ४५ हजार ८१८ रहेको उल्लेख छ । बरामदी मुचुल्कामा शसस्त्र डिएसपी प्रेम प्रसाईँसहित १९ जना प्रहरीको नाम उल्लेख छ । सई कुँवर भने यस विषयमा कुरा गर्नको लागि हाम्रो सम्पर्कमा आउन चाहेका छैनन् ।
कतिपय प्रहरी अधिकारीहरुको बैंक खाता नम्बरसमेत मुचुल्कामा उल्लेख छ । तर, यतिदिन बित्दा पनि सो सामान भन्सार दाखिला नभएको पाइएको छ ।
मेची भन्सार कार्यालय स्रोतले भन्सारमा सशस्त्र प्रहरीले सो परिणामको कुनै सामाग्री दाखिला नगरेको पुष्टि गर्यो । प्रहरीले बरामद गरेर मुचुल्का समेत भइसकेको सामग्री कहाँ गयो ? नाम उल्लेख नगर्न आग्रह गर्दै एकजना प्रहरी अधिकारीले भने ‘भन्सार आउँदा आउँदै ६ लाख रुपैयाँमा सेटिङ मिलाएर सम्बन्धित मालधनीले त्यो सामान फिर्ता लगेका छन् ।’ उनले सशस्त्र प्रहरीले बिभिन्न समयमा पक्राउ गरेका अवैधानिक सामग्रीहरु सम्बन्धित सामानधनीसँग सेटिङ मिलाएर त्यसरी छोड्ने गरेको समेत बताए ।
यस विषयमा हामीले सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विदुर खड्कासँग कुरा गरेका थियौं । उनले सशस्त्र प्रहरीले बदनियत राखेर सामान गायव गरेको पाइएको खण्डमा विभागीय कारवाही गर्ने बताए ।
यसबारेमा केटिएम दैनिकले निरन्तर फलोअप गर्नेछ ।
अपडेट