आज ऋषि पञ्चमी, अर्थात् सप्त ऋषिहरुको पूजा अर्चना गर्ने विशेष दिन हो । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व सप्तर्षिको पूजा गरी विशेष गरि नारीहरूले मनाउने दिन हो ।
तीजको व्रत पछिको हिजोको एकदिन विट मारेर फेरि नारीहरुले आजको दिन पुनः त्यहि उत्सर्ग र उत्साहकासाथ मनाउने दिनलाई ‘ऋषि पञ्चमी’ भनिन्छ ।
आजको दिन बिहानै उठेर सरसफाई गरेर ब्राह्मणलाई निमन्त्रणा दिई पुनः मध्याह्नको समयमा नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई १०८ वा ७ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो, पीना र खरानी आदि लगाई स्नान गर्ने गर्छन् ।
स्नान गरिसकेपछि पञ्चभाग्य अर्थात दूध, दहि, घ्यू, दुवो, कुश र गोवर मिसाएर तामाको भाडोमा राखिएको कुराको एक वा दुइ थोपा सेवन गर्ने सनातन चलन पनि चलि आएको छ ।
पञ्चभाग्यको सेवनले क्षयरोग अनि चर्मरोगहरु नहुने र भएकोभए पनि निको हुने विश्वास रहेको छ । यसरी विहानै स्नान गरेर शरीर र आत्माको शुद्धि गरिसकेपछि नारीहरुले दियो, कलश अनि गणेश स्थापित गरेर विभिन्न भजन र प्रार्थनागर्दै कश्यप, आरती, भार्गदोज, विश्वमित्र, गौतम, जमदग्नी अनि वशिष्ठलगायतका ऋषिहरुको पूजा र आव्हान गर्ने गरिन्छ । त्यस्पश्चात् ब्राम्हणले रितिअनुसार पूजा अर्चना गरेपछि मात्र ऋषि पञ्चमीको अनुष्ठान पूर्ण हुन्छ ।
नेपालमा पनि बिहानै नुहाउने र ३ सय ६५ वटा दत्तिवन टोक्ने चलन छ । रजस्वलाका समयमा छाइछुई लगायत कुनै त्रुटि भएको अवस्थामा अरुन्धतीसहित सप्तषिर्को पूजा गर्नाले त्यस पापबाट मुक्ति पाइने शास्त्रीय वचन पनि रहि आएको छ ।
आजको दिन रजस्वाला हुन शुरुभइसकेका महिलाहरुले रजस्वाला हुँदा आफूबाट केही गल्ति या अमर्यादित क्रियाकलाप भएको भए ती कुराहरुको शुद्धा शुद्धिकालागि पूजा अर्चना गर्ने दिन हो ।
आजका दिन काठमाडौं टेकुको ऋषेश्वर मन्दिर लगायत देशभरिका विभिन्न ऋषि आश्रमहरुमा विशेष घूँइचो लाग्ने गर्दछ । यस दिन नारीहरुले आफ्नो शौभाग्यका सुचक सिन्दुर पोते अनि चुरा धागोहरु चढाउने चलन पनि छ ।
आजको दिन विशेषतः माटोमा कसैले नरोपेरै आफै प्राकृतिकरुपमा उम्रिएका कुराहरु जस्तै कर्कला, कन्दमुल लगायतका अन्य विशेष तरकारी बनाई सेवन गर्ने चलन छ ।
वैदिक सनातन संस्कारले नारीहरुको यौन तथा प्रजजन स्वास्थ र अधिकारलाई दिएको महत्वको इतिहास हजारौं वर्ष पुरानो छ । नारीलाई रजस्वालाको ४ दिनहरुलाई चारवटा देवीहरु अनुरुप तुलना गर्ने चलन छ । प्रथम दिन चण्डालनी, दोश्रो दिन ब्रह्मधातिनी, तेश्रो दिन धोबिनी र चौंथो दिन स्नान गरि शुद्ध हुने चलन छ ।
महिनावारीको समयमा पर्याप्त आराम होस् भनेंर परापूर्व कालमा भान्सा अनि अन्य कामहरु गराउन निषेध गरिएको हो । तर पछि गएर यो निषेधलाई छुवाछुत अनि दोषका रुपमा लिन थालिएको हो ।