सरकारसँग भएको पाँच बुँदे सहमति पुरा नभएको भन्दै निहारिका राजपुत अनसन बस्न खोज्दा प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ९ निवासी निहारिकाले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर असार ३ गते अनसन तोडेकी थिइन् ।
प्रतिवादी शिवराम श्रेष्ठ र निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, अनसनकर्ता र निजको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएको थियो ।
सहमति पत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुँवरले हस्ताक्षर गरेका थिए।
सरकारसँग भएको पाँच बुँदे सहमति पुरा नभएको भन्दै आज सिंहदरबार दक्षिणी गेट अघि अनसन बस्न लाग्दा प्रहरीले पक्राउ गरेको छ । उनी संगै पक्राउ परेकी एक सहयोगी सहित उनलाई अहिले प्रहरी वृत सिंहदरबारमा राखिएको प्रहरीले बताएको छ ।