स्थानीय तह निर्वाचन सकिएसँगै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि निर्वाचन आयोगले तयारी सुरु गरेको छ ।
यो समाचार तयार पार्दासम्म निर्वाचनको मिति तय नभएको भएता पनि आयोगले असार १ गते प्रेस विज्ञप्ति जारी गर्दै देशभर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य पुनः सुचारु गरिएको जनाएको छ ।
“केटिएम दैनिकको निर्वाचन शिक्षा शृङ्खला” अन्तरगत आज हामी प्रतिनिधि सभा निर्वाचन क्षेत्रको बारेमा जानकारी दिन गइरहेका छौँ । यसअगाडि प्रतिनिधि सभा निर्वाचनबारे केही कुरा जान्नुपर्ने हुन्छ ।
देशभर रहेका ७७ जिल्लामा १६५ निर्वाचन क्षेत्र छन् । ती निर्वाचन क्षेत्रबाट सबैभन्दा बढी मत ल्याउने उम्मेदवार निर्वाचित भएर प्रत्यक्षतर्फबाट सङ्घीय सदनको सांसद बन्छन् । त्यस्तै समानुपातिक तर्फबाट ११० सांसद चयन भएर प्रतिनिधिसभामा कूल २७५ सांसद हुन्छन् ।
समानुपातिक सांसदको बारेमा हामीले आउँदा शृङ्खलाहरूमा चर्चा गर्नेछौँ ।
देश सङ्घीय संरचनामा गइसकेको हुनाले पहिला प्रदेशगत कति निर्वाचन क्षेत्र छन् भन्नेबारेमा जानकारी लिऊँ । १४ जिल्ला समेटेर बनेको प्रदेश १ मा २८ निर्वाचन क्षेत्र छन्, तराईका आठ जिल्ला समेटेर बनेको मधेस प्रदेशका प्रत्येक जिल्लामा ४/४ निर्वाचन क्षेत्र गरी कूल ३२ निर्वाचन क्षेत्र रहेका छन् ।
१२ जिल्ला समेटेर बनेको बागमती प्रदेशमा सबैभन्दा धेरै अर्थात् ३३ निर्वाचन क्षेत्र रहेका छन् । यीमध्ये सङ्घीय राजधानी समेत रहेको काठमाडौँ जिल्लामा १० वटा निर्वाचन क्षेत्र छन् । जिल्लागत रूपमा दोहोरो अङ्कमा निर्वाचन क्षेत्र कायम भएको देशको एक मात्र जिल्ला काठमाडौँ हो ।
११ वटा जिल्ला मिलेर बनेको गण्डकी प्रदेशमा १८ वटा निर्वाचन क्षेत्र छन् ।१२ जिल्ला मिलेर बनेको लुम्बिनी प्रदेशमा २६ वटा निर्वाचन क्षेत्र छन् । विकासको दृष्टिकोणले पछाडि पारिएको कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात् १२ र सुदूरपश्चिम प्रदेशमा १६ गरी कूल १६५ निर्वाचन क्षेत्र छन् । स्मरण होस् कर्णाली प्रदेशका २ वटा जिल्लाबाहेक अन्य जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र छ । दैलेख र सुर्खेतमा भने २/२ वटा निर्वाचन क्षेत्र रहेका छन् । स्थानीय तहमा महानगर र उपमहानगर नभएको एक मात्र प्रदेश कर्णाली प्रदेश हो ।
कुन जिल्लामा कति ?
नेपालका ७७ जिल्लामा ३५ जिल्लामा एक मात्र निर्वाचन क्षेत्र रहेका छन् । २१ जिल्लामा २ वटा निर्वाचन क्षेत्र हुँदा तीन निर्वाचन क्षेत्र भएका जिल्लाको सङ्ख्या सात छ ।
त्यस्तै गरी चार वटा निर्वाचन क्षेत्र हुने जिल्लाहरू नौ वटा छन् । मधेस प्रदेशका आठ जिल्ला र प्रदेश १ को सुनसरी जिल्लामा ४/४ वटा निर्वाचन क्षेत्र छन् ।
कैलाली, झापा र रुपन्देहीमा ५/५ वटा निर्वाचन क्षेत्र हुँदा मोरङमा ६ वटा र काठमाडौँमा १० वटा निर्वाचन क्षेत्र रहेका छन् ।
कास्कीमा तीन, गोरखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बागलुङ र स्याङ्जा मा २/२ र बाँकी पाँच जिल्लामा १/१ वटा निर्वाचन क्षेत्र छन् ।
रुपन्देही जिल्लामा ५ वटा निर्वाचन क्षेत्र हुँदा, कपिलवस्तु, दाङ र बाँकेमा ३/३ वटा, गुल्मी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा र बर्दिया जिल्लामा २/२ वटा र अर्घाखाँची, प्युठान, रुकुम पूर्व र रोल्पामा १/१ वटा निर्वाचन क्षेत्र रहेका छन् ।
कुन जिल्लामा भएको कति निर्वाचन क्षेत्र र सो निर्वाचनमा क्षेत्रमा पर्ने वडाहरूको विवरण