शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतगणनाका लागि काठमाडौंको राष्ट्रिय सभा गृहमा तयारी तीव्र पारिएको छ ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंले सभागृहमा मतपत्रको सुरक्षाको लागि सिसिटिभी र तारजाली लगाउन सुरू गरेको हो । सभागृहमा काठमाडौ महानगरका सवै वडाको मत गणना हुने आयोगले जनाएको छ ।
महानगर प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?
काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूले विभिन्न ठाउँबाट मतदान गर्दैछन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले वडा नम्बर १६ र एमालेका केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएका छन् ।
सिंहले युवक माविबाट मतदान गर्नेछिन् भने स्थापितले पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गर्नेछन् ।
विवेकशील साझाकी समीक्षा बास्कोटाले वडा नम्बर ३१ स्थित भ्याली भ्यु मतदान केन्द्र र स्वतन्त्रबाट प्रमुखकै उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन) ले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गर्ने बताइएको छ ।
शुक्रवार सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंमा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ । त्यसै गरी गठबन्धनकै तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले वडा नम्बर १२ र एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएकी सुनीता डंगोलले वडा २१ बाट मतदान गर्ने जनाइएको छ ।
तस्बिरहरू