भारतले युक्रेनको बुचामा भएको हत्याको ‘स्पष्ट रूपमा निन्दा’ गरेको छ । भारतका विदेशमन्त्री एस जयशंकरले युक्रेनको बुचा सहरमा भएको सामूहिक हत्याको निन्दा गर्दै स्वतन्त्र अनुसन्धानको लागि आह्वान गरेका छन्।
यसअगाडि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को मंगलबारको बैठकमा भारतले बुचा हत्या एकदम चिन्ताजनक भएको भन्दै स्वतन्त्र छानबिन गर्न पनि माग गरेको थियो ।
संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले युक्रेनको खराब अवस्थाबारे गहिरो चिन्ता व्यक्त गर्दै हिंसा र शत्रुताको तत्काल अन्त्य गर्न माग गरेका हुन् ।
संयुक्त राष्ट्रसंघको बैठकमा भारतले बुचा हत्याकाण्डमाथि गरेको निन्दा रुसले युक्रेनमा आक्रमण गरेपछिको सबैभन्दा कडा बयान हो । दिल्ली अहिलेसम्म रुसी कदमको निन्दा गर्ने राष्ट्रसंघीय मतदानबाट भने टाढै छ ।
संसद्को तल्लो सदनमा रुस-युक्रेन द्वन्द्वमा भारतको अडानको जवाफ दिँदै जयशंकरले भने, ‘धेरै सांसदहरूले बुचामा भएको हत्याको घटनालाई उठाए र म भन्न चाहन्छु कि हामी रिपोर्टहरूबाट गम्भीररुपमा चिन्तित छौं। त्यहाँ भएका हत्याको घोर भर्त्सना गर्दछौं। यो अत्यन्तै गम्भीर विषय हो र हामी स्वतन्त्र छानबिनको मागलाई समर्थन गर्छौं।
उनले भारत रुस-युक्रेन द्वन्द्वको कडा विरुद्धमा रहेको दोहोर्याए र वार्ता र कूटनीतिबाट समस्या समाधान गर्न लोकसभामा सुझाव दिए।
बुचामा हत्या गरिएका सर्वसाधारणको शवको तस्बिरले संसारलाई स्तब्ध बनाएको छ । रिपोर्टहरूका अनुसार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र पूरै शहर जाँच गरिँदै गर्दा मृतकको कुल संख्या बढ्न सक्ने सम्भावना छ।
सयौं नागरिकहरू सडकमा, उनीहरूको घरको छेउमा र सामूहिक चिहानहरूमा मृत फेला परेका थिए। युक्रेनले रुसलाई बुचा नरसंहारको आरोप लगाएको छ । तर, रुसले उक्त आरोपलाई अस्वीकार गर्दै युक्रेनी गलत प्रचार भएको बताएको छ ।