चीनको सांघाईमा कोभिड–१९ बाट थप सात जनाको मृत्यु भएको छ ।
सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिहरू ६० देखि १०१ वर्ष उमेर समूहका छन् । उनीहरूको स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि रहेको बताइएको छ ।
यसअघि सोमबार अधिकारीहरूले सांघाइमा कोभिडबाट ३ जनाको मृत्यु भएको बताएका थिए । सांघाइमा मङ्गलवार २० हजार ४१६ जना नयाँ सङ्क्रमित फेला परेका छन् ।
बेइजिङले शून्य–कोभिड नीतिलाई जोड दिँदै आएको छ । सङ्क्रमण घटाउन उसले लकडाउन, सामूहिक परीक्षण, लामो क्वारेनटाइन र कडा प्रतिबन्ध जस्ता उपायहरू अवलम्बन गर्दै आएको छ । तर, प्रतिबन्धका बाबजुद पछिल्लो समयमा सङ्क्रमण दर बढिरहेको छ ।
सरकारले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कमा केहीले शङ्का गरेका छन् । उनीहरूका अनुसार देशको बढ्दो वृद्ध जनसङ्ख्यामा खोप दर न्यून छ ।
सांघाईका ६० वर्षमाथि दुई तिहाइभन्दा बढीले पूर्ण खोप लगाएका र करिब ४० प्रतिशतले बुस्टर डोज लगाएका स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका थिए ।