नेपाल वायुसेवा निगमले पाँच वर्षमा रु.१ अर्ब ९० करोड घाटा भएको निष्कर्ष निकाल्दै २०७७ १५ साउन देखि ६ चिनियाँ जहाज नउडाउने निर्णय गर्यो।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पाँच वर्षदेखि उडान गर्न थालेको चिनियाँ जहाजले घाटा भएको र उडान सञ्चालनबाट नाफा कमाउन नसक्ने निर्णय गर्दै चिनियाँ जहाज थन्क्याइएको डेढ वर्षभन्दा बढी भइसक्यो।
निगमले चीनसँग अनुदानमा ल्याएका २ र खरीद गरेका ४ सहित ६ वटै चिनियाँ जहाज अब नउडाउने निर्णय गरेको हो। निगमले चिनियाँ जहाज उडान थालेको पाँच वर्षमा रु.१ अर्ब ९० करोड घाटा भएको र आगामी दिनमा पनि लाभ गर्न नसक्ने निष्कर्ष निकाल्दै रु.३ अर्ब १४ करोड ऋण रहेका ६ वटै चिनियाँ जहाज नउडाउने निर्णय गरेको हो।
जहाज किन्दाको ऋण र निगमको घाटा गरी पाँच वर्षमा रु.पाँच अर्ब चार करोड रुपैंयाँ तिर्नुपर्ने भएको छ। निगम सञ्चालक समितिले एक साता अगाडि नै निर्णय गरेर सो निर्णयको जानकारी निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन समक्ष पेश गरिएको थियो। उक्त चिनियाँ जहाजहरु फिर्ता गर्ने सरकारले बताए पनि चिनियाँ पक्ष भने यस विषयमा कुरा नै गर्न चाहँदैन।
निगमले उडाउन नसक्ने निर्णय गरेका ६ वटै चिनियाँ जहाजको ऋण रु.३ अर्ब १४ करोड ४ लाख ८९ हजार ७८२ रहेको छ। यसमध्ये दुईवटा एमए ६० को ऋण रु.१ अर्ब ६५ करोड ८ लाख ८३ हजार र चार वटा वाई १२ को ऋण रु.१ अर्ब ३६ करोड ९६ लाख ६ हजार ७८२ छ। बाँकी १२ करोड भन्सार तिर्दा लिएको ऋण पनि निगमले तिर्न बाँकी छ। निगमले जहाज किन्दा लिएको ऋणको एमएम ६० को वार्षिक ब्याज नै रु.६५ लाख र वाई १२ ले रु.२ करोड ३९ लाख तिर्नुपर्छ।
यस्तो घाटा रकममा चारवटा वाई १२ को मात्रै रु.३८ करोड १८ लाख ९० हजार २९ र एमए ६० को रु.३९ करोड ५५ लाख २० हजार ११४ रहेको छ । सञ्चालन सहितको कुल घाटा भने वाई १२ को रु.७२ करोड ६३ लाख ३७ हजार १३४ र एमए ६० को रु.१ अर्ब १८ करोड ५ लाख ९५ हजार ९८० रहेको निगम स्रोतले हिमालखबरलाई उपलब्ध गराएको एक तथ्यांकमा उल्लेख छ।
यसरी निरन्तर घाटा व्यहोरिरहेका चिनियाँ जहाजहरुलाई फिर्ता गर्ने विषयमा सरकारले चिनियाँ पक्षसँग कुरा गर्ने बताइएको छ। पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार भने यस विषयमा चिनियाँ पक्ष कुरा गर्नै चाहँदैन।