अभिनेता पल शाह पक्राउ परेका छन् ।
उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । आइतबार मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काले शाहलाई पक्राउ गरिएको पुष्टि गरे । केटिएम दैनिकसँग खड्काले भने “उहाँ आज कार्यालयमा उपस्थित हुनुभएको छ ।’
शाहले आज बिहान समाजिक सञ्जालमा एक स्टयाटस लेख्दै आफू प्रहरीसामु आजै उपस्थित हुने बताएका थिए । पल शाह चढ्ने गाडी काठमाडौैंमा भेटिएको थियो तर गाडीमा उनी थिएनन् ।
प्रहरीले खोजी गरिरहेका पल शाह कसरी तनहुँ पुगे भन्नेबारेमा केही खुल्न सकेको छैन ।
शाहमाथि एक नाबालिग गायिका जबरजस्ती करणीको आरोप छ । आफ्नो बुवासहित फाल्गुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर पीडित परिवारले किटानी जाहेरी दिएका थिए। आफूमाथि किटानी जाहेरी परेको थाहा पाएपछि पल फरार भएका थिए ।
फरार भएका शाहले सामाजिक सञ्जालमार्फत आफूलाई फसाउन षडयन्त्र गरिएकोभन्दै छ वटा अडियो क्लिक सार्वजनिक गरेका थिए । अभिनेता शाहमाथि अभियोग पुष्टि भएमा १० देखि १२ वर्षसम्म जेल सजाय हुनेछ ।