माघ ७ गते शुक्रबार साँझतिर । बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिला सुनसरीको इटहरीबाट बहिनीको घर जाँदै थिइन् । दुई महिनाअघि मात्र खोटाङबाट बसाइँ सरेर मोरङ झरेकी उनी आफ्ना दुई छोरा र दुई छोरीका साथ सुन्दरहरैँचा गछियास्थित आफ्नी बहिनीकोमा बस्दै आएकी थिइन् । बहिनीको घरबाट धाउनेगरी उनी इटहरीस्थित एउटा घरमा काम गर्न थालेकी थिइन् ।
शुक्रबारबाटै उनले त्यहाँ काम सुरु गरेकी थिइन् । पहिलो दिनको काम सकेर उनी बहिनीको घरमा फर्कँदै थिइन् । गछिया चोकमा म्याजिकबाट उत्रिएर अर्को एउटा गाडीमा रहेका रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जीलाई बहिनीको गाउँबारे सोधिन् । रामबहादुरले बहिनीको घर लगिदिने भन्दै साँझ ६ बजेतिर प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा बस्न भने ।
विश्वास मानेर सो गाडीमा बसेकी ती महिलालाई रामबहादुरले बेहोस बनाउने वस्तु खान दिएर र सुँघाएर गछियाबाट बलियास्थित श्रेष्ठ होटल एन्ड फेमिली लज पुर्याए । गाडीमा राखेपछि अपहरण शैलीमा उनीमाथि लठ्याउने औषधि खुवाइयो । होटलको कोठामा लगेपछि तीन जना मिलेर उनलाई पटकपटक बलात्कार गरे । होटल सञ्चालक सुन्दरहरैँचा–४ बलियाको सो होटलका सञ्चाकल ३६ वर्षीय अर्जुन श्रेष्ठ र अर्जुनका भाइ सुरज श्रेष्ठले उनीमाथि पालैपालो बलात्कार गरे ।
प्रतिकार गर्नखोज्दा रामबहादुरले उनको यौनाङ्गमा हात छिराएर क्षतविक्षत पारे । त्यसपछि सुरु भएको रक्तश्राव नियन्त्रणमा आएन । यौनाङ्गबाट निरन्तर रगत बग्न थालेपछि उनीहरूले सोही होटलमा काम गर्ने आरती श्रेष्ठ नाम गरेकी युवतीलाई रगत सफा गर्न लगाए । पीडित ती महिला ओछ्यानमै छटपटाइरहिन् । सामूहिक बलात्कार भएको घटना प्रत्यक्ष देखेकी आरतीले पीडित महिलाले चिच्याएर हारगुहार गर्दा पनि प्रहरीलाई खबर गरिनन् ।
पछि पीडित महिलाले बहिनीलाई खबर गरेपछि बहिनी प्रहरी लिएर घटनास्थल पुगेकी थिइन् । यौनाङ्ग क्षतविक्षत भएर अत्याधिक रक्तश्राव भएपछि बेहोस बनेकी बलात्कार पीडित महिलालाई शनिबार बिहानमात्र उपचारका लागि विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएको थियो । अहिले पीडित महिला अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।
उता बलात्कारमा संलग्न तीनै जना इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा छन् । प्रहरीले हिरासतमा राखेर उनीहरूमाथि अनुसन्धान गरिरहेको छ । पीडित महिलाका दुई छोरा र दुई छोरी छन् । उनीहरू केही दिनदेखि बहिनीकोमा बस्दै आएका थिए । दुई महिनाअघि मात्र खोटाङबाट मोरङ आएका कारण बहिनीको घर जाने बाटो अल्मलिएपछि विश्वास गरेर सोधेकी उनी सामूहिक बलात्कारको सिकार भएकी हुन् ।
पक्राउ परे सामूहिक बलात्कार तीनै आरोपितहरू
सुनसरीको इटहरीबाट बहिनीको घर जाँदै गरेकी बेलबारी नगरपालिका–४ की ३०...
बिहीबार, माघ १३ २०७८यो एउटा प्रतिनिधिमुलक घटना हो । यसरी नै पुरुषमाथि भरोसा गर्ने धेरै महिलाले विश्वासको बदलामा बलात्कारजस्तो जघन्य अपराधको सिकार हुनु परेको छ । आफ्नो पुरुषार्थ देखाउन अर्काको अस्मिता लुट्न जाने प्रवृत्तिका पीडक पनि बाक्लै भेटिन्छन्, आजभोलि । हुन त जन्मदाता, संरक्षक र विश्वासको पात्र बाबुबाट पनि छोरीले बलात्कृत हुनु परेका कैयौँ घटनाहरू छन् । शिक्षित र शिष्ट भनौदो समाजमा बलात्कारजस्तो घृणित घटनाहरू बग्रेल्ती छन् । बलात्कार सबैभन्दा पीडादायी अपराध हो । हत्याभन्दा पनि डरलाग्दो हुन्छ । बन्दुकले सुट गर्नुभन्दा बलात्कार डरलाग्दो पीडा मानिन्छ ।
प्रदेश १ मा मात्रै आर्थिक वर्ष २०७८/७९ को पछिल्लो सात महिनामा जबरजस्ती करणीसम्बन्धी दुई सय २८ वटा मुद्दा दर्ता भइसकेका छन् । जसमध्ये सबैभन्दा धेरै सुनसरी जिल्लामा ४४ वटा मुद्दा दर्ता भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्कमा उल्लेख छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी नवीनराज राईका अनुसार आव २०७८र७९ को माघ २५ गतेसम्म प्रदेशभरि दुई सय २८ वटा मुद्दा दर्ता भएको छ भने जबरजस्ती करणी मुद्दामा एक सय ५८ जना पुरुष पक्राउ परेका छन् । यस्तै, बलात्कार मुद्दामा संलग्न ५३ पुरुष र दुई महिला फरार रहेका उनले जनाएका छन् ।
यी त सार्वजनिक भएका केही घटनाहरू हुन् । तर धेरै घटना त्यस्ता हुन्छन्, जुन पीडक वा पीडितको कारण लुकाइने गरेको हुन्छ । विशेषगरी आर्थिक रूपमा सक्षमहरूले घटना लुकाउने गरेकाले पनि धेरै मुद्दा बाहिर आउन सक्दैनन् । कतिपय पीडक सम्पन्न वर्गबाट पनि हुने गरेको हुन्छ । त्यस्ता व्यक्तिबाट भएका घटना आर्थिक प्रलोभन र राजनीतिक पहुँचका कारण बाहिर आउन सक्दैन । नेपालमा साक्षरता दर कम हुनु, बलात्कारसम्बन्धी कानुन फितलो हुनु र बनेका कानुन पनि लागू नहुनुले शक्तिको दुरूपयोग गर्नेका लागि उपयुक्त समय मिल्छ ।
बलात्कार समाजकै उपज हो । हुन त समाज जब विचलन र निराशामा जान्छ । त्यसबेला अपराध बढ्छ । पारिवारिक विचलन र विखण्डन आउँदा बलात्कारका घटना बढ्छन् । युगौँदेखि जरा गाडेर बसेको धर्म, कानुन, मूल्य, मान्यता, मिथक र फितलो कानुनका कारण समाजमा बलात्कारीको सङ्ख्या बढिरहेको छ ।
बलात्कारका घटना पहिलेको तुलनामा अहिले बढेजस्तो देखिनुमा उजुरी दिने पीडितको सङ्ख्या पहिलेको तुलनामा बढेकाले पनि हुन सक्ने एसपी राई बताउँछन् । बलात्कारविरुद्ध सबै सचेत हुनु पर्ने बताउँदै उनी भन्छन्, ‘आजको समाजमा बलात्कारका घटना बढ्नुमा मानिसको हातहातमा पुगेको मोबाइलको दोष हो जस्तो लाग्छ मलाई । प्रविधिले जीवनशैलीलाई छिटोछरितो र सहज बनाएको छ । तर यही प्रविधिको दुरुपयोग गरी कतिजनाले पोर्नोग्राफी हेर्छन् र हेर्नेमध्ये कतिजना बलात्कारमा संलग्न हुन्छन् भन्ने निक्र्योल गर्न निकै कठिन छ ।’
बलात्कारका घटना बढ्नुका विभिन्न कारणमध्ये पोर्नोग्राफी एउटा हो । पछिल्लो समय विद्युतीय संञ्चारमार्फत महिलामाथि यौनजन्य दुव्र्यव्यहारका घटना बढेको छ । प्रविधिको विकासलाई सही तरिकाले प्रयोग गर्न नसक्दा महिला तथा बालिका हिंसाको सिकार हुनुपरेको छ । प्रविधिकै कारण यौन शोषण बढेको छ, अन्तरङ्ग कुराकानी हुने, नजिकपना बढ्दै जाने, आपसमा विभिन्न कुरा साटासाट हुने अनिसम्बन्धमा खटपट सुरु भएपछि ब्याकमेलिङ गर्ने र यौनशोषण गर्ने प्रवृत्ति बढेको छ ।
समाजमा पारिवारिक विचलन र विघटन आउँदा बलात्कारका घटना बढ्ने गर्छ । समाजमा आउने विचलनले मानिसलाई सामाजिक रोगी बनाउँछ । बलात्कारको घटना पीडक र पीडितबीचको मात्रै कुरा होइन, यो निकै डरलाग्दो सामाजिक कारण हो ।
समाजशास्त्री डा. चन्द्र उपाध्याय
समाजमा बलात्कारी किन उत्पादन भइरहेको छ भन्नेबारे बुझ्न ऊ कस्तो सामाजिक परिवेशमा हुर्किएको छ भन्ने हेर्नुपर्ने समाजशास्त्री डाक्टर चन्द्र उपाध्याय बताउँछन् । उनी भन्छन्, ‘समाजमा पारिवारिक विचलन र विघटन आउँदा बलात्कारका घटना बढ्ने गर्छ । समाजमा आउने विचलनले मानिसलाई सामाजिक रोगी बनाउँछ । बलात्कारको घटना पीडक र पीडितबीचको मात्रै कुरा होइन, यो निकै डरलाग्दो सामाजिक कारण हो ।’
‘राज्यले दिने संस्थागत वा विद्यालय/विश्वविद्यालयको शिक्षाभन्दा पारिवारिक शिक्षा महत्त्वपूर्ण हुन्छ,’ उनी थप्छन्, ‘बालबालिका हुँदादेखि नै महिला हिंसा, बलात्कार, छोरा–छोरीबीचको विभेदका विषय, समानताका कुरामा परिवारले प्राथमिकता दिनु नै महत्त्वपूर्ण हुन्छ । पछिमात्र आउँछ विद्यालयस्तरको शिक्षा । विद्यालयस्तरको शिक्षामा हिंसाको पाठ्यक्रम खोज्नुभन्दा पनि परिवारले आफ्ना सन्तानलाई यसबारे शिक्षा दिनु आवश्यक छ ।’
बलात्कारको अपराधमा हुने सजाय
जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी हने कैद सजाय :
(क) १० वर्षभन्दा कम उमेरकी बालिका भए १६ वर्षदेखि २० वर्षसम्म ।
(ख) १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १४ वर्षदेखि १६ वर्षसम्म ।
(ग) १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म ।
(घ) १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म ।
(ङ) १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म ।
(च) वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा
(१) पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा ५ वर्षसम्म ।
(२) सामूहिक रूपमा जबर्जस्ती करणी गरेमा वा ६ महीनाभन्दा बढीको गर्भवती, अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिक रूपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जबर्जस्ती करणी गरेमा बलात्कारको सजायमा थप ५ वर्षसम्म ।
(३) बालयौन दुरूपयोग गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना ।
(छ) हाडनाता करणीमा फरक–फरक सजाय हुनेः
(१) जन्माउने आमा–छोराको वा बाबु–छोरीको करणीमा जन्मकैद ।
(२) सौतेनी आमा–छोरा वा बाबु–छोरी, सहोदर दिदी–भाइ वा दाजु–बहिनी, एकै हाँगाको ससुरा–बुहारी, एकै हाँगाको बाजे–नातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइबुहारी वा देवर–भाउजूको करणी भएमा चार वर्षदेखि १० वर्षसम्म कैद र ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना ।
(३) एकै हाँगाको तीन पुस्तासम्मको बज्यै, नाति वा पनाति, एकै हाँगाको ठुलो बाबु वा काका–भतिजी, एकै हाँगाको भतिजो–ठुली आमा वा काकी, एकै हाँगाको ससुरा–भतिजीबुहारी, साक्खै मामा–भाञ्जी वा भानिज–माइजू, आमातर्फका ठुली आमा वा सानी आमा र छोरा र आफ्नी श्रीमतीतर्फकी सासू र ज्वाइँको करणी भएमा ३ वर्षदेखि ६ वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म जरिवाना ।
(४) यी तीन अवस्थाबाहेक आफ्नो वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगा, नाता र पुस्तासमेत विचार गरी १ वर्षदेखि ३ वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म जरिवाना ।
(२०७५ साल १ भदौदेखि लागू भएको मुलुकी अपराधसंहिता)
नोट : हामीले ७ दिनसम्म बलात्कार विरुद्ध ७ वटा स्टोरीहरू प्रकाशित गर्नेछौं । आज तेस्रो दिन हो । तपाइलाई पनि बलात्कार विरुद्ध केही लेख्न मन छ भने हामीलाई ktmdainikofficial[at]gmail.com मा पठाउन सक्नुहुन्छ । अघिल्लो वर्ष भ्यालेन्टाइन सप्ताह मनाइरहँदा हामीले बलात्कार विरुद्धको अभियान सुरुवात गरेका थियौं । यो वर्ष त्यसकैको निरन्तरता हो । अभियान नाम सुन्नेबित्तिकै कुनै संस्था, सरकार वा आइएनजिओबाट आर्थिक रकम लिएको बुझिएला तर यसमा कसैको सहयोग नरहेको स्पष्ट पार्न चाहन्छौं । यो अभियान समाजमा चेतना जगाउने केटिएम दैनिकको प्रयास हो ।