अभिनेता पल शाहविरुद्ध बलात्कारको जाहेरी दर्ता भएपछि प्रहरीले ५ टोली बनाएर खोजी सुरु गरेको छ। पलको खोजीका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसहितका ५ टोली खटिएका हुन्।
प्रहरी स्रोतका अनुसार पलको खोजीमा अहिले सिआइबी, महानगरीय प्रहरी कार्यालय, महानगरीय प्रहरी अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ र ललितपुर खटिएको छ।
‘पल शाहको खोजी गर्नका लागि प्रहरी परिचालन भइसकेको छ। उनलाई आजै पक्राउ गर्ने तयारी गरिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘सीआईबी, काठमाडौं, ललितपुर र अपराध महाशाखासहित ५ टोली परिचालन भएको छ।’
१७ वर्षीया किशोरीमाथि बलात्कार गरेको भन्दै तनहुँ प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि पललाई पक्राउ गर्न लागिएको हो। कास्की घर भएका ती किशोरीका बुबाले आफ्नी छोरीमाथि पटकपटक पलले बलात्कार गरेको भन्दै जाहेरी दिएका थिए।
जाहेरीमा माया प्रेमको झुठा नाटक गरी जवरजस्ती गर्ने गर्ने पल शाहलाई मुलुकी अपराध संहित २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडा भन्दा कडा कारबाही गरी कानुन बमोजिम सोही संहिताको दफा २२८ बमोजिम पीडीतलाई उचित क्षतिपूर्ति समेत दिलाउन माग गरिएको छ ।