अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता संसदबाट अनुमोदन गराउने भएपछि सरकारले बानेश्वर क्षेत्रमा सुरक्षा बढाएको छ ।
सत्तारुढ गठबन्धनमा रहेका दलका जनवर्गीय संगठनहरूले समेत आज एमसीसीलाई लिएर विरोध प्रदर्शन गर्ने तयारी गरेपछि संसद भवन वरिपरि सुरक्षाकर्मीको बाक्लो उपस्थित गराइएको छ ।
कांग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी अनुमोदनको लागि संसदमा टेवल गर्न प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई अनुमति दिएको थियो ।
सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेवल गर्ने तयारी गरिरहेको छ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेपाल र राष्ट्रिय जनमोर्चाले यथास्थितीमा एमसीसी पास गर्न नदिने जनाउँदै विरोधमा उत्रेका छन् ।
सत्तारुढ दलमध्ये माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एमसीसीका केही बुँदा राष्ट्रघाती भएको जनाउँदै संशोधन नगरी पास नगर्ने बताएका छन् । जसपा भित्र एमसीसीलाई लिएर एकमत छैन ।