आधुनिक लोकतान्त्रिक शासन व्यवस्थामा राजनीतिक दलको महत्त्व मोटर गाडीका लागि पाङ्ग्राको जतिकै छ, त्यति नै महत्त्व छ लोकतान्त्रिक व्यवस्थाका लागि राजनीतिक दलहरूको । राजनीतिक दलहरूलाई सम्भवतः आधुनिकता को प्रतीक वा विम्ब पनि मान्ने मान्यता छ । निरङ्कुश तानाशाहले समेत राजनीतिक दलहरूको महत्त्व बुझ्न थालिसकेको समेत हामी पाउँछौ ।
मुलत १८ औँ शताब्दी अझ भन्दा युरोपको पुनर्जागरण कालबाट राजनीतिक दलहरूको विकास भएको इतिहास भेटिन्छ । यस्तै प्रक्रिया बाट आजको युगसम्म आउँदा राजनीतिक दलहरू पूर्ण रूपले परिपक्व र अति आवश्यक भैसकेका छन् ।
नेपालको सन्दर्भमा कुरा गर्दा पनि मुख्य गरेर प्रजा परिषद् बाट नै राजनीतिक दल निर्माण हुने बाटो खुलेको इतिहास छ । विभिन्न सङ्घर्ष र समन्वयबाट आजसम्म आउँदा नेपाली राजनीतिक दलहरूले जनताको चाहाना र देशको आवश्यकता अनुसार सोचे जति गति भने लिन सकेका छैनन् । यो नै यी दलहरूको मुख्य भुल हुन सक्छ ।
आजको अवस्थामा नेपालका राजनीतिक दलहरू किन असफल भए त ? यसका केही शास्त्रीय मान्यता अनुसार केलाउने प्रयास गरौँ ।
दल किन असफल ?
कुनै पनि देशको कुनै पनि राजनीतिक दल निर्माणमा मुख्य केही आधार हुन्छन् । ती आधारहरूले नै राजनीतिक दलहरूको भाग्य र भविष्य निर्माण गर्ने गर्दछ । नेपाली सन्दर्भमा दलहरूले यी तत्त्वलाई छुट्टाउनु नै यी दलहरूको दुर्भाग्य हुन सक्छ । जुन आधार यस प्रकार छन् ।
१) निश्चित राजनीतिक लक्ष्य (सिद्धान्त)
राजनीतिक दलहरूको पहिलो र मुख्य आधार हो राजनीतिक लक्ष्य । यसैका कारणले नै सिङ्गो पार्टीपंक्ति सङ्घर्षमा होमिने गर्दछन् । नेपालका राजनैतिक दलहरूका सन्दर्भमा कुरा गर्दा यो कुरामा नै अलमलिएका देखिन्छन् । आजका दिनमा हामीले नेपाली काँग्रेस को राजनीतिक लक्ष्य के हो ? भनेर प्रश्न गर्यौ भने स्पष्ट जवाफ आउन मुस्किल छ । एमाले, माओवादी, समाजवादी वा अन्य सबै दलहरूको पनि ताल यो भन्दा कम छैन । हुँदा हुँदा वैकल्पिक राजनीतिको उत्तराधिकारी ठान्ने मिश्र र विप्लव को पार्टी को हालत पनि यही देखिन्छन् ।
काँग्रेसले लोकतान्त्रिक समाजवाद लाई राजनीतिक लक्ष्य बनाउँछ तर आजका दिनमा कसरी त्यो अवस्थामा पुगिन्छ भन्ने सामन्य बाटो भने देखाउँदैन ।त्यो ठाउँमा पुग्ने बाटो र विधि के हो त ? एमाले पार्टीको पनि हालत यो भन्दा कम भने पक्कै छैन । मार्क्सवाद, लेनिनवाद र मदन को जवज लाई आफ्नो राजनीतिक लक्ष्य मानेको एमाले समाजमा त्यो बिचारलाई समायोजन गरी कसरी त्यो ठाउँमा पुगिन्छ भन्ने मार्ग खुलाउँदैन ?
यी दुई मात्र हैन नेपालका सबै दलहरू को हरिबिजोग यही हो । जनआन्दोलन बाट अगाडि बढेका माओवादीको पनि यी पार्टी भन्दा फरक छैन । एक्काइसौँ शताब्दीको समाजवाद नामक चीजलाई राजनैतिक कार्यक्रम मान्ने माओवादी दलाल पुजिवादी अर्थतन्त्र र आसेपासे राजनीतिले गाँजेको अवस्थाको परिस्थितिलाई कसरी त्यो अवस्था मा पुर्याउन सकिन्छ भन्ने स्पष्ट पथ नै देखाउन सकेको छैन ।
एमालेबाट छुट्टिएर बनेको नेकपा (एस) को पनि हालत यो भन्दा कम छैन । मार्क्सवाद लेनिनवाद र माओवादी मान्यता लाई आधार बनाएर समाजवादी कार्यक्रमसम्म पुग्ने लक्ष्य बोक्ने ‘एस’ले आजका दिनमा कुन दिशा अपनाउँदा त्यो ठाउँमा मा पुगिन्छ भन्ने स्पष्ट बाटो नहुनु नै उसका लागि दुर्भाग्य हुन सक्छ ।
वैकल्पिक राजनीतिको पगरी लगाउने रविन्द्र मिश्र र विप्लवका पार्टीहरूको पनि दुर्दशा यो भन्दा कम छैन । आसेपासे पुजिवादी मान्यताले गाँजेको राजनीति र दलाली पुँजिवादी विचारले चिराचिरा पारेको नेपाली अर्थतन्त्र लाई कुन बाटोबाट अगाडि बढ्दा आफ्नो लक्ष्य पुरा गर्न सकिन्छ भन्ने प्रस्ट बाटो नहुनु नै यी दलहरूको दुर्दशा हुन सक्छ ।
यस कारण यी दलहरू माथि यक्ष प्रश्न उठ्छ के सत्ता प्राप्त मात्रै यी दलहरूको लक्ष्य हो ? जवाफ जनताले खोज्ने गरेका छन्। यस कारण यी राजनीतिक दलहरूको असफलताको प्रमुख कडि नै यिनीहरूको प्रस्ट राजनीतिक लक्ष्य नहुनु नै हो भन्न सक्ने आधारहरू छन् ।
यसैले यी दलहरूले प्रस्ट राजनीतिक लक्ष्य लिनु पर्छ ।
२) जनाधार (सङ्गठन)
कुनै पनि राजनीतिक दलहरूका लागि जनाधार वा सङ्गठन दोस्रो र महत्त्वपूर्ण आधार हो । जनाधार विना राजनीतिक दलहरूले आफ्नो विचार लाई पूर्णता दिन सक्दैनन् । जनाधार नै राजनीतिक दलहरूको मेरुदण्ड हो । आजका दिनमा समाजमा यी दलहरू माथि एक प्रकारको वितृष्णा पैदा भएको देखिन्छ। कुनै पार्टीका नेता देखेर जनताले आदर प्रकट गर्नुपर्ने बेला घृणा पैदा भएको अनुभव हुन थालेको छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने “गाउँ घरमा नेता देख्दा चोर आयो भन्छन् ।” उनले यो भनिरहँदा त्यहाँ उपस्थित मानिसहरूले ताली बजाएका थिए ।
दलहरूमा जनताको विश्वास घट्ने क्रम जारी छ भन्ने पनि लिङ्देनको बोलीमा देखिएको समर्थनले जनाउँछ। दलहरूमाथि जनताको घृणा विषयमा समीक्षा नहुने हो भने भविष्यमा ठुलो मूल्य चुकाउने अवस्था सिर्जना हुन सक्दछ ।
३) आर्थिक तत्त्व
राजनीतिक दलहरूका लागि तेस्रो महत्त्वपूर्ण आधार पुँजी हो । सङ्गठन निर्माण र परिचालनको शक्ति नै पुँजी भएको कारण राजनीतिक दलहरूमा पुँजीको विशेष महत्त्व हुन्छ। वर्तमान दलहरूको सन्दर्भमा राजनीतिक दलहरूले यो तत्त्वलाई सदुपयोग भन्दा दुरुपयोग गरेको तथ्यहरू हामीले पाउँछौ ।
प्रस्ट रूपमा भन्दा चन्दा आतङ्क, गुन्डागर्दी र आन्तरिक लेवि नै यी दलहरूको प्रमुख आर्थिक स्रोत भएको हामी पाउँछौ । पुँजीको सही सदुपयोग गरेर पार्टी परिचालन भन्दा दुरुपयोग गरेकै कारण यी दलहरूले बाटो बिराए भन्न सकिन्छ । यसैको कारणले दलहरूमा आन्तरिक अन्तर्विरोधको जन्म भएको र पार्टी गुट, टुट र फुट मा रमाएकै कारण यी पार्टीका औचित्य माथि प्रश्न जन्मिएको हो ।
माथिल्लो तहको नेतृत्व विलासितामा रमाउने र तल्लो तहको कार्यकर्ता उत्पीडनमा पर्नु नै यी पार्टीहरूको लागि दु:खद् घटना हो । यसैले पार्टीहरूको असफलताको तेस्रो र महत्त्वपूर्ण कुरा आर्थिक तत्त्व पनि हो भन्न सकिन्छ ।
नेपालका राजनीतिक दलहरूको प्रमुख समस्या र असफलताको आधार माथि उल्लेख गरिएका तत्त्वहरू मान्न सक्ने आधार हाम्रा सामु छन् । आम जनताले यी दलहरूको औचित्य के भनेर प्रश्न उठाउन थालेका छन् ।देश विकास र जनजीविकाको सुनिश्चितता नै राजनीतिक दलहरूको लक्ष्य हो । आफ्नो मान्यतालाई लत्त्याएर विधि र पद्धति भन्दा व्यक्ति प्रधान संस्कृतिमा रमाउने नेपालका राजनीतिक दलहरूको असफलताको प्रमुख जरा हो । लक्ष्यविहीन, पद्धतिविहीन, विधि विहीन पार्टीहरूको अस्तित्व ढिलो चाढो समाप्त हुन्छ । यो अहिले सम्म को इतिहासले देखाएको चित्र हो । सत्ता प्राप्त मात्रै दलहरूले आफ्नो उद्देश्य बनाउनु नै दलहरूको अस्तित्व माथि को प्रश्न हो ।
वैकल्पिक राजनीतिको लय के ?
वैकल्पिक राजनीतिको कुनै शास्त्रीय परिभाषा पाउन अलि मुस्किल नै पर्न सक्छ । तर चलनचल्तीको शब्दहरूमा भन्दा यथास्थितिको राजनीति भन्दा पृथक् वा अग्रगामी राजनीति लाई वैकल्पिक भन्ने चलन छ ।
राजाहरू यथास्थितिवादी भए, यिनीहरू निरङ्कुश भए भनेर दलीय प्रणालीको विकास गरियो जुन त्यो समयको अग्रगामी र वैकल्पिक राजनीति थियो । यसले नयाँ राजनीतिक कार्यक्रमको सूत्रपात गर्यो । फेरि अहिले बेला बेला वैकल्पिक राजनीतिको बहस र चर्चा चल्ने गरेको छ ।अब यहाँ प्रश्न जन्मिन्छ ती वैकल्पिक राजनीतिका सुत्राधार मानिने दलहरूले किन लय लिन सकेनन् त ? प्रश्न वैकल्पिक राजनीतिको उत्तराधिकारी ठान्ने पार्टी र पार्टीका नेताहरू लाई हो ।
चलनचल्ती को वैकल्पिक राजनीति भनिसेके पछि अहिलेका दल भन्दा वैकल्पिक दलहरू के कुरामा फरक देखिए त ? हेर्ने हो भने सबै उस्तै छ । निरङ्कुशता का विरुद्ध प्रजातन्त्र लड्दा स्वभावैले विधि र पद्धति फरक रहेको हामी पाछौँ । तर वर्तमानमा वैकल्पिक राजनीतिको बहस गर्ने पार्टी र नेताहरूले यी दलहरू गलत छन् भन्दै गर्दा यिनीहरूमा फरक के छत ? भन्ने प्रश्नको ख्याल गरेनन् । विचार विधि पद्धति सबैकै जस्तो अनि कुरा वैकल्पिक राजनीतिका गर्नु एक हास्यास्पद कुरा हुन सक्छ । यस कारण यी तमाम आधार र तथ्यहरूले के देखाउँछन् त भन्दा कांग्रेसदेखि महन्थको लोसपा र मिश्रको विवेकशील साझा सम्म का आउँदा यी पार्टीहरू को औचित्य के भन्ने प्रश्न खडा भएका छन् ?
अब वैकल्पिक राजनीतिले लय समात्ने हो भने नेपाली जनता जाग्नु पर्छ । जनता नै इतिहास को निर्माता हुन । यस कारण प्रस्ट राजनीतिक लक्ष्य नबोकी जनाधार नसमाती वैकल्पिक राजनीतिको बहस गर्नु बालुवामा महल बनाउनु बाहेक केही हैन । यसैले यी पार्टी र नेता को विकल्प बुर्जुवा व्यवस्था र पाखण्डी संस्कार को विकल्पमा बहस हुनु नै आजको आवश्यकता हो । आधुनिक लोकतान्त्रिक युगमा लोकतान्त्रिक मान्यता बोक्दै मौजुदा बुर्जुवा व्यवस्था को विकल्प मा हुने जनता को जनवादी विद्रोह नै वैकल्पिक राजनीतिको लय हुन सक्छ ।
लेखक राजनीतिशास्त्रका विद्यार्थी हुन् । यो उनको नीजि विचार हो ।