केहीदिनअघि निधन भएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई टिभि टूडेले १ लाख सहयोग गरेको छ ।
माघ ५ गते बुधबार अचानक स्वास्थ्यमा थप समस्या देखिएपछि बानेश्वरको निजामती (सिभिल) अस्पतालमा उपचारका लागि पुगेका विश्वकर्मालाई केही रकम अपुग भएपछि त्यहाँबाट ललितपुरस्थित पाटन अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा माघ ६ गते बिहीबार बिहान ३:०० बजे निधन भएको थियो ।
पत्रकार विश्वकर्माको दुःखद् निधन हुनुमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको नेपाल पत्रकार महासंघको अध्ययन टोलीले निश्कर्ष निकालेको छ ।
पत्रकारको निधन भएपछि नेपाल प्रेस काउन्सिल नेपाल र श्रमजिवी पत्रकार संघले उनी कार्यरत सञ्चारगृहमा पुगेर परिवारलाई राहत दिन माग गरेका थिए । साथै उनीहरूले निजामती (सिभिल) अस्पतालमा पुगेर सत्यतथ्य छानविन गर्न र दोषिमाथि कारवाही गर्न माग गरेका थिए । अस्पतालले माघ ९ गते चार सदस्यीय छानविन समिति गठन गरेर तीन दिनभित्र प्रतिवेदन सार्वजनिक गर्ने बताएपनि उक्त प्रतिवेदन भने सार्वजनिक गरिएको छैन ।
प्रेस काउन्सिल र संघको आग्रहपछि टिभी टूडे व्यवस्थापनले मृतकको श्रीमती निर्मला बिकको बैंक खातामा १ लाख रुपैयाँ जम्मा गरेको हो ।
यसअगाडि शहरी विकास मन्त्री रामकुमारी झाँकीले आफ्नो एक महिनाको तलबको आधा रकम सहयोग गरेकि थिइन् । नेपाल पत्रकार महासंघले मृतकको परिवारलाई राहत स्वरूप तत्काल ५० हजार रुपैँया दिने निर्णय गरेको छ ।
मृतक पत्रकार विश्वकर्माको श्रीमती र साढे ३ वर्षको छोरा छन् । नेपाल पत्रकार महासंघको अध्ययन टोलीले आश्रित परिवारको हेरविचारका लागि श्रीमतीलाई जीवन निर्वाहका लागि रोजगारी र बच्चाको उच्च शिक्षासम्मको पढाईको जिम्मेवारी लिनका लागि उनी कार्यरत रहेको सञ्चार गृह र सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।