करिब १ वर्षअगाडि सांसद् कोमल वलीको विषयमा माधव-झलनाथ पक्षका (अहिले नेकपा एकीकृत समाजवादी) नेता रघुजी पन्तले दिएको अभिव्यक्तिले धेरैको ध्यान खिच्यो । ‘केपी ओलीलाई सारी सारेर पिँडौला देखाएर कोमल वली केन्द्रीय सदस्य भएकी’ भन्ने आरोप पन्तले लगाएपछि राजनीतिमा मात्र होइन, कलाकारिता तथा अन्य क्षेत्रमा रहेका महिलाहरूसमेत अत्तालिए । महिलामाथि निरादर आक्षेप लगाएपछि वलीको पक्षमा आवाज उठाउँदै धेरैले पन्तमाथि धारे हात लगाए ।
त्यसैबेला अभिनेत्री वर्षा सिवाकोटीले आफ्नो पीडा पोखिन् । उनले सामाजिक सञ्जालमा लेखिन् ‘तिम्रो राजनीति म बुझ्दिनँ । तर यति बुझ्छु, बर्षौँ भान्साको चार पर्खालभित्र बस्दा भन्दा एक छिन त्यो पर्खालबाहिर बस्दा बढी पीडा हुन्छ । शारीरिक हिंसा, दुर्व्यवहार र चरित्र हत्याको डर सधैँ भइरहन्छ ।’
‘यो समाज कति अगाडि बढ्यो जस्तो लाग्थ्यो, महिलाहरू भान्साबाट बाहिर आए, ठुला पदमा पुगे, प्रधानमन्त्री अनि राष्ट्रपति भए, अन्तरिक्षसम्म पुगे, तर कतिको मानसिकता अझै बदलिएन ।’ उनले धेरै सङ्घर्षपछि आएको अहिलेको परिवर्तनलाई केही दरिद्र सोच भएका मानिसको अभिव्यक्तिले केही प्रभाव नपार्नेसमेत बताएकी थिइन् । ‘आर्थिक, प्राविधिक अनि सामाजिक रूपमा ठुला खुट्किला चढेका मानव जातिमा अझै मानसिक विकास हुन भने बाँकी रहेछ, विश्वास भयो’ भन्ने उनको अभिव्यक्तिले पनि उनलाई सामाजिक लाञ्छनाको डर रहेछ भनेर पुष्टि हुन्छ ।
हामी महिलामाथि हुने हिंसाको अन्त्य गरौँ भन्छौँ । विभिन्न कार्यक्रमहरूबाट जनचेतना जगाउने कार्यहरू पनि गरिरहेका नै हुन्छौँ । महिला हिंसा विरूद्धको १६ दिने अभियान मनाउँछौँ । घरेलु हिंसा, कुटपिट, एसिड, बलात्कार, बलपूर्ण गर्भपतन लगायतलाई हिंसामा प्राथमिकताका साथ सञ्चारमाध्यहरूले पस्किने गर्दछन् । तर, डर, धाक धम्की, त्रासपूर्ण दुर्व्यवहार, गालीगलौज, झुटा आरोप, बेइज्जत, भेदभाव, लाञ्छना लगायतको घटनाहरू भने ओझेलमा परेको देखिन्छ ।
विश्व विख्यात अमेरिकन विचारक बेली ग्राहमले भनेका छन्,’आफ्नो छोराछोरी र नाति नातिनाहरूलाई हस्तान्तरण गर्न सक्ने सबैभन्दा ठुलो विरासत भनेको पैसा वा अन्य भौतिक चिजहरू होइन, बरु चरित्र र विश्वासको विरासत हो ।’ हो, चरित्र नै मानिसको सबैभन्दा ठुलो सम्पत्ति हो ।
यति कुरा थाहा हुँदा हुँदै पनि किन मानिसहरू महिलाको चरित्रको पछि लाग्छन् ? उनले भनेका छन्, ‘जब सम्पत्ति हराउँछ, केही पनि हराउँदैन जब स्वास्थ्य हराउँछ, केही हराउँछ, जब चरित्र हराउँछ, सबै हराउँछ । यसको भावार्थ हो कि धन–दौलत वा स्वास्थ्य पुनर्स्थापित गर्न सकिन्छ तर एक पटक गुमेको चरित्र जतिसुकै मूल्य चुकाए पनि पूर्ववत् स्थितिमा ल्याउन सम्भव छैन । समस्त मानव जीवनको सार हो उसको चरित्र ।’
महिला अगाडि बढ्न खोज्दा उनलाई विभिन्न किसिमका लाञ्छनाहरू लगाउने र उनीहरूलाई गिराउन हरसम्म प्रयास गरेका उदाहरणहरू हाम्रो समाजमा पाइन्छन् ।
केही समयअगाडि आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेकी एक महिला राजधानीबाट प्रकाशित हुने एक ब्रोडसिट दैनिकमा जागिर खान गइन् । उक्त कार्यालयमा काम गर्ने अन्य कर्मचारीहरूले उनलाई मानसिक तनाव दिन थाले । सिनियर पत्रकारको रूपमा काम गर्न पुगेकी उनलाई अन्य पत्रकारहरूले सर भनेर सम्बोधन नगरेको, अन्य अनलाइनको समाचार कपी गरेको, समयमा अफिस नआएको भन्दै हाकिमलाई कुरा लगाउन थाले ।
ती महिलालाई हाकिमले दिनहुँ फोन गरेर मानसिक तनाव दिइरहे । पछि बुझ्दै जाँदा महिलाले नेतृत्व गरेको कुरा उनका समकक्षीहरूलाई मन परेको रहेनछ र उनलाई निकाल्नको लागि भए नभएको आरोप हाकिसामू पुर्याइएको रहेछ।
एक दिन तिनै महिला पत्रकार अफिस पुग्दा उनलाई कसरी निकाल्ने भनेर षड्यन्त्र भइरहेको थाहा पाउँछिन् र भोलिपल्टबाट अफिस जान छाड्छिन् । उनी त एक प्रतिनिधि पात्रमात्र हुन्, धेरै पुरुषहरू महिलाको नेतृत्व स्वीकार गर्न तयार हुँदैनन् । तसर्थ अगाडि बढ्न खोज्ने महिलामाथि अनेक लाञ्छना लगाउन सुरु गर्छन् ।
अहिले पनि कुनै महिला ठुलो पदमा पुग्यो वा उसले गरेका कार्यहरू चित्त बुझेन भने ए, त्यो फलानी ? खुब ठूलीँ हुँ भन्छे, फलानो केटासँग कफी खाएर बसेको थिई ! कहाँ कमकी छे र ? त्यसलाई मैले दिनहुँ बेग्लाबेग्लै मानिसहरूसँग हिँडेको देख्छु । तर यो कुरा कसैलाई पनि नभन है भन्दै संवाद सकिन्छ र त्यो कुरा धेरैभन्दा धेरै माझमा पुग्छ र उनको चरित्रहत्या गर्नतर्फ लागिन्छ ।
यो चरित्रताको दाग विशेषगरी ठुलो पदमा पुगेकी महिला, अगाडि बढ्न चाहने र बढिरहेकी महिला, एकल महिलाहरूलाई लगाउने गरिन्छ । कुनै महिला ठुलो पदमा पुग्नेबित्तिकै फलानोको सहाराले पुगेकी भनेर लाञ्छना लगाइहाल्नु पर्ने ? उनीसँग अर्को पुरुषको नाम जोडिहाल्नुपर्ने ?
राजधानीमा आयोजित एक कार्यक्रममा काठमाडौंबाट प्रकाशित हुने एक मासिक पत्रिकाको सम्पादकले भावुक हुँदै भनिन्, ‘कहिलेकहिले भनेको समयमा गाडी हुँदैन, ड्राइभर हुँदैनन्, आफूलाई हतार हुन्छ र पठाओ टुटललगायतका राइडरमा हिँड्यो भने पनि त्यो महिला त दिनहुँ फेरि-फेरि केटासँग हिँड्छे भनेर आरोप लगाउने गरिन्छ । एकल महिलाचाहिँ अरूको बाइकमा हिँड्नै नहुने ? मेरो श्रीमान् भएको भए सायद मैले यस्ता आरोपहरू झेल्नु पर्दैनथ्यो कि ?’
अवसर पाएको खण्डमा महिलाले के काम गर्न चुकेका छन् र ? राष्ट्रपति र प्रधानन्यायाधीस जस्तो सम्माननीय पदमा महिला पुगिसकेका छन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो महिला राष्ट्रपतिको रूपमा इतिहासमा आफ्नो नाम दर्ज गरेकी छन् ।
तर महिला नेतृत्वमा पुगेकै कारण उनले धेरै लाच्छनाहरू सहनु परेको छ । उनलाई आजको दिनमा पनि केपी ओलीको सहाराले त्यहाँसम्म पुगेको भनेर आरोप लगाउने गरिन्छ । के त्यहाँसम्म पुग्न उनले मेहनत गरिनन् ?
चरित्रवान् हुनलाई बर्षौँ लाग्छ , टुट्नको लागि एक सेकेन्ड पनि लाग्दैन । त्यसको लागि सानो अपशब्द भए पुग्छ, ठुलै गल्ती गर्नु जरुरी हुँदैन । यस्ता लाञ्छना, सिकार प्रायःजस्तो महिला कलाकारहरू पनि हुने गरेका छन् । उनीहरूले जे गरे पनि गलत देख्ने समाज छ । आफ्नो अभिनय क्षमताले उँचाइमा पुगेकी दीपाश्री निरौलालाई राजेश हमाल महानायक हो र ? भनेकै आधारमा सामाजिक सञ्जालमार्फत गाली गरियो । उनलाई त्यो गालीले निकै असर गर्यो । उनी मानसिक रूपमा विक्षिप्त समेत बनिन् र माफी माग्नुपर्ने अवस्थासमेत आयो ।
झन् कलाकारहरूले त आफ्नो तवरले जिन्दगी जिउन पनि पाउँदैनन् । पर्दाको चमकधमकपूर्ण जीवनभन्दा अलिक पर एउटा सार्वजनिक व्यक्तिको नितान्त व्यक्तिगत जीवन पनि हुन्छ भन्ने कुरा हामी बिर्सन्छौँ । र, सार्वजनिक व्यक्तित्वको ट्यागमा उसको सबै कुरा सार्वजनिक ठानेर उसलाई मिडियाका नाममा निर्मम तरिकाले प्रहार गर्छौँ । सञ्चारकर्मीहरू (विशेष गरी युट्युव कन्टेन्ट क्रियटरहरूले ) यस्ता कुरालाई मनन गरेर अगाडि बढ्न जरुरी छ ।
न्यायाधीशदेखि प्रधानन्यायाधीशसम्मको यात्रामा सुशीला कार्कीले आफ्नो छुट्टै पहिचान बनाएकी थिइन् । भ्रष्टाचारीलाई तह लगाउने साहसिक न्यायमूर्ति उनको परिचय बन्यो । उनको यही पहिचानले अवकाशको पूर्वसन्ध्यामा उनले महाअभियोग समेत झेल्नुपर्यो ।
महिलाको चरित्रलाई समाजले सधैँ तराजुमा जोखिराखेको हुन्छ । महिलाको बौद्धिकता पेसाभन्दा पनि महिलाको घरायसी भूमिका र आचरणलाई उसको पहिचान मान्दै आएको छ । कसैलाई प्रतिस्पर्धामा दबाब अनुभव हुन थाल्यो भने महिलाको क्षमता, काम र प्रमाणपत्रमा प्रश्न गर्दा प्रमाण पेस गर्नुपर्ने तर चरित्रसँग जोडिदियो भने प्रमाण पेस गर्न नपर्ने कारण हराउनको लागि अन्तिम अस्त्रको रूपमा चरित्र जोड्ने गर्छन् । जसले गर्दा महिलाहरू ठुलो पदमा पुग्न पनि डराउनु पर्ने अवस्था छ ।
कसैको चरित्रमा नभएका कुरा जोडेर धावा बोल्दा बोल्नेको इज्जत जान्नुपर्ने र आरोप लगाउनेलाई कारबाही गर्ने संयन्त्र दरिलो बनाउनु पर्छ । नेपालको कानुनमा कसैलाई होच्याउने नियतले बोली वा बचनले अपमानजनक शब्द प्रयोग गरेमा गाली गरेको मानिन्छ र गाली गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ । मुलुकी अपराधसंहिता, २०७४, दफा ३०५ अनुसार गाली गर्न नहुने भन्ने उल्लेख छ ।
कुनै पनि किसिमबाट जानी जानी अरूको इज्जतमा धक्का पुर्याउने वा कसैको चरित्रहत्या गर्ने वा दोष लगाउने कुनै पनि कार्यलाई बेइज्जती गरेको मानिन्छ । बेइज्जती गर्ने वा गराउनेलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ भने विद्युतीय वा आमसञ्चारका माध्यमबाट बेइज्जती गर्ने गराउनेलाई थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ (मुलुकी अपराध संहिता, २०७४, दफा ३०७) मा व्यवस्था गरिएको छ ।
तर पनि, आफ्नै चरित्रमाथि प्रश्न उठ्ने हुनाले अधिकांश त्यस्ता लाञ्छना सहेर नै बस्न बाध्य छन् । महिलाको नेतृत्व घरबाहिर स्वीकार्न नसक्ने व्यक्ति र समाजले उनलाई अनावश्यक कुराहरूको बोझ बोकाउने गरेको छ । प्रायः पुरुष सफल हुनुको पछाडि एउटा महिलाको हात हुन्छ भनेझैँ महिलाको सफलतामा पनि पुरुषको साथ सहयोगको त्यति नै आवश्यकता हुन्छ । त्यसो भन्दैमा महिलाको लागि पुरुषले सहज वातावरण बनाइदिएको खण्डमा मात्र महिला पुरुष समान हुन सक्ने भन्ने चैँ बिलकुलै होइन। त्यसैले नै कानुनी रूपमै महिलाको हकहितको बन्दोबस्त गरिएको छ।
२० वर्षदेखि मोफसलमा रहेर पत्रकारिता गरिरहेकी एक महिला पत्रकारले यो लेख तयार गर्ने पङ्क्तिकारसँग भनिन्, ‘मैले त जे लेखे पनि सरले लेखिदिएको त हो नि, भनेर भन्ने गरिन्छ । मैले पत्रकारिता सुरु गर्दा उहाँको साथ पाएँ, अहिले पनि यो विषयचाहिँ उठाउँदा ठिक होला भनेर सुझाव दिनुहुन्छ । यसको मतलब यो हैन कि, उहाँले मेरो हात समाएर लेखिदिनु पर्छ ।’
उनले भनिन्, ‘काखमा छोरो च्यापेर मैले पत्रकारिता सुरू गरेकी हुँ, एउटा कार्यक्रममा मैले राम्रो प्रस्तुती दिँदा सरले घरमा लेखिदिनु भएको थियो भनेर प्रश्न समेत तेर्साइयो, जबकी उक्त सामाग्री मैले तालिमकै दौरानमा त्यही बसेर बनाएकी थिएँ ।’ उनका श्रीमानको पेशा पनि पत्रकारिता नै हो ।
यस्ता आलोचनाबाट बच्नको लागि पनि महिला स्वयम् सक्षम हुनु आवश्यक छ। हामी आफूभित्र आत्मविश्वास बढाउन जरुरी छ । हामी आफैँ सक्षम भएपछि अरूले के भन्छ भनेर मतलब गर्ने कुरै भएन । त्यसैले त कुन्ती मुक्त्तानले भनेकी होलिन्, ‘म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर…’
राजधानीमा आयोजित एक कार्यक्रममा काठमाडौंबाट प्रकाशित हुने एक मासिक पत्रिकाको सम्पादकले भावुक हुँदै भनिन्, ‘कहिलेकहिले भनेको समयमा गाडी हुँदैन, ड्राइभर हुँदैनन्, आफूलाई हतार हुन्छ र पठाओ टुटललगायतका राइडरमा हिँड्यो भने पनि त्यो महिला त दिनहुँ फेरि-फेरि केटासँग हिँड्छे भनेर आरोप लगाउने गरिन्छ । एकल महिलाचाहिँ अरूको बाइकमा हिँड्नै नहुने ? मेरो श्रीमान् भएको भए सायद मैले यस्ता आरोपहरू झेल्नु पर्दैनथ्यो कि ?’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७२ सालमा गरेको एक अध्ययनले निजामति सेवामा महिलाहरूको सहभागिता १८ प्रतिशत मात्र रहेको देखाएको छ । नेपालमा कुल जनसंख्या मध्ये ५१.०४ प्रतिशत महिला रहेकोमा निजामती सेवामा महिला कर्मचारीको न्यून उपस्थितिले नीति निर्माण तहमा महिलाको पहुँच कम भएको जनाउँछ ।
महिला कर्मचारीहरूको सङ्ख्या न्यून हुनुमा माथि उल्लेख गरिएका कुराहरू पनि महत्वपूर्ण छन् ।
अहिले महिला राजनीतिककर्मीप्रति प्रयोग गरिएको तुच्छ शब्दहरू र देखाइएको मानसिकता सामाजिक सञ्जालमा छताछुल्ल छ । संसदमा राष्ट्रियताको विषयमा खरो भाषण गरेर चर्चामा आएकी गंगा चौधरी ‘सत्गौवा’ले लगाएको सुनलाई लिएर बजारमा जुन हल्ला फैलाइएको छ त्यो निन्दनीय र गलत छ । यस्ता कलङ्कित शब्दहरू आपत्तिजनक मात्र होइन निकृष्ट, खेदजनक र हिंसायुक्त छन् । यो प्रवृत्तिको जति नै निन्दा गर्दा पनि कम हुन्छ । एउटा सुन लगाएकै भरमा महिलालाई अनावश्यक गाली गरेर लाञ्छना लगाउनु कहाँको न्याय हो ?
ठुला-ठुला विचार बोक्छु भन्ने दाबी गरेका, ठुला-ठुला नाम भएका हाम्रा राजनीतिक अभिभावकहरूको एक अर्कोप्रति टिप्पणी र प्रतिकार गर्ने शब्द चयनहरू पनि राम्रो छैनन् ।
अत: महिलामाथि हुने यस्ता आरोप प्रत्यारोप, गालि गलौचको विरुद्धमा सबैले आवाज उठाउ !