एक बिहानै म्यासेन्सरको नोटिफिकेसन बज्छ । म्यासेज हेर्दा समाजको एक प्रतिष्ठित व्यक्तिको म्यासेज रहेछ, जसमा लेखिएको थियो ‘गुड मर्निङ’ । मैले सहजै बिहानीको नमस्कार उस्तै शैलीमा फर्काएँ । लगत्तै उताबाट म्यासेज आयो, मैले सामान्य तरिकाले जवाफ दिँदै गए । सञ्चारकर्मी भएका कारण समाचारसँग सम्बन्धित विषय हो कि भन्ने मेरो अपेक्षा थियो, तर सामान्य गफमै कुराकानी टुङ्गियो । जसलाई मैले सहज लिएँ ।
दिनभर आफ्नो काम सकेर साँझ खाना खाएर सुत्ने तरखरमा थिए, पुनः म्यासेन्जरको नोटिफिकेसन बज्यो । म्यासेज तिनै व्यक्तिको थियो, जोसँग बिहान कुरा भएको थियो । मैले सहज रूपमा जवाफ फर्काए । केही दिनअगाडि एउटा कार्यक्रम सञ्चालन गर्दा उहाँ अतिथिको रूपमा उक्त कार्यक्रममा सहभागी हुनुहुन्थ्यो, त्यही कारण पनि मैले उहाँको म्यासेजलाई ‘इग्नोर’ गर्नुपर्ने कारण थिएन । सम्मानित व्यक्ति भएका कारण मैले सोधिएका प्रश्नको शिष्ट शैलीमा जवाफ दिएँ र केही छोटो कुराकानीपछि बातचित टुङ्गियो ।
उहाँसँगको कुरा टुङ्गियो तर मेरो मनमा भने अब अनेकौँ प्रश्न जन्मिन थाले । हुन त कुराकानी सामान्य औपचारिकता भन्दा बढी थिएन । फेसबुकमा पहिल्यैदेखि जोडिएको भए पनि प्रत्यक्ष रूपमा मैले उहाँलाई त्यही कार्यक्रममा भेटेकी थिएँ, जुन कार्यक्रमको सञ्चालकको रूपमा म पनि पुगेकी थिएँ । यसअघि एक पटक पनि कुराकानी नभएका कारण उहाँको प्रत्येक म्यासेजलाई मैले महत्त्वका साथ लिँदै गए ।
केही दिनपछि पुनः उहाँको म्यासेजको नोटिफिकेसन आयो । स्टोरीमा प्रतिक्रिया दिएर लेखिएको रहेछ ‘व्युटिफुल’ । मैले धन्यवाद फर्काएँ । केही क्षणमै उहाँको जवाफ आयो । ‘भर्सटाइल’ र ‘इनरजेटिक’ जस्तो शब्दले प्रशंसा गर्न थाल्नुभयो । त्यति बेला मैले असहज महसुस गरेँ । उहाँले लेखेका शब्दले मेरो प्रशंसा गरेको देखिन्थ्यो तर मैले त्यो प्रशंसालाई सहजै स्वीकार गर्न सकिनँ ।
सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट, असभ्य म्यासेज गर्नु, एउटा व्यक्ति चाहे महिला हुन् वा पुरुष उसको निजी जीवनलाई असहज बनाउनु पनि हिंसा हो । कार्यक्षेत्रमा महिलाले भोग्नुपरेको पीडा थुप्रै हुन्छ, कति बाहिर आउँछन् कति दबिएर बस्छन् । आवाज उठाउँदा चरित्रमाथि नै प्रश्न उठाउने गरिन्छ ।
त्यसपछि मैले धन्यवाद दिँदै आफ्नो कुरा टुङ्ग्याए । त्यसपछि लगातार उहाँको म्यासेज आउन थाल्यो, जुन मैले अपेक्षा गरेभन्दा फरक थियो । मैले उहाँको म्यासेज ‘इग्नोर’ गर्न थालेँ । समाजको एक प्रतिष्ठित व्यक्तित्व, जसलाई समाजले हेर्ने सम्मानित दृष्टिकोण र गर्ने सम्मानित व्यवहार । सञ्चारकर्मसँग जोडिएको मैले सम्मानमा कमी गर्नुपर्ने कारण थिएन ।
तर केही दिनको छोटो कुराकानीले उहाँलाई हेर्ने दृष्टिकोण भने मेरो बदलिन पुग्यो । म गलत पनि हुन सक्छु । तर उहाँसँग बोल्नुपर्ने बाध्यात्मक स्थिति नभएका कारण मलाई त्यो निर्णय लिन कुनै अफ्ठेरो भएन । त्यति बेला मैले मेरो लागि र मेरो आत्मसम्मानका लागि उहाँलाई ‘इग्नोर’ लिस्टमा राखिदिएँ ।
इग्नोरमा भएका कारण उहाँको म्यासेजको नोटिफिकेसन अब मेरो मोबाइलमा बज्न छाडिसकेको छ । उहाँ एक उदाहरणमात्रै हो, म्यासेन्जरमा यस्तै किसिमको म्यासेज यसअघि नआएको होइन । म्यासेज गर्ने कोही परिचित हुन्छन् कोही अपरिचित । तर कस्तो म्यासेजको कस्तो जवाफ फर्काउने निर्णय नितान्त मेरो हो । म त्यसैअनुसार आफ्नो निर्णय लिएर अघि बढिरहेकी हुन्छु ।
म्यासेन्जरमा आएका म्यासेजको जवाफ नफर्काउँदा किन नबोलेको ? फ्रेन्ड रिक्वेस्ट एसेप्ट किन नगरेको ? बोल्न किन गाह्रो भएको ? यस्तै किसिमको म्यासेज थुप्रै हुन्छ । यतिसम्मकी अपरिचित व्यक्तिले प्रेम प्रस्तावसमेत प्यासेन्जरबाट राखिसकेको हुन्छ । तर त्यसलाई कुन ढङ्गले लिने त्यो निर्णय मसँग निहित छ । त्यसैले अनावश्यक म्यासेजबाट तनाव लिनेभन्दा पनि त्यसको उचित व्यवस्थापन गर्न जरुरी हुन्छ ।
यस्तै एउटा प्रसङ्ग जोड्न चाहेँ । रेडियोमा कार्यरत छु, समाचार पढ्ने र कार्यक्रम सञ्चालन गर्ने गरेको छु । आठ वर्षको दौरानमा थुप्रै श्रोतासँग परिचित छु, धेरैसँग आत्मीयता पनि बढ्दै गएको छ । तर श्रोताहरूमध्येकै एक जनाको म्यासेज लामो समयदेखि म्यासेन्जरमा आएको रहेछ । जुन श्रोतासँग कार्यक्रममा निरन्तर फोनमा कुराकानी भइरहन्थ्यो । फेसबुकमा साथी नभएका कारण मैले त्यो म्यासेज समयमै हेर्न नसकेको रहेछु । मलाई दुःख लाग्यो र उनको म्यासेज सुरुदेखि पढ्न थाले । तर अन्तिमसम्म पढ्दा उनले म्यासेज नहेरेको रिस पनि पोख्न भ्याइसकेका रहेछन् ।
मैले सहज लिएँ, गल्ती मेरै थियो । मैले आफ्नो श्रोताको म्यासेज समयमै पढ्न र जवाफ फर्काउन सकिनँ । तर उनको अन्तिम म्यासेजहरूले तत्काल जवाफ फर्काउन मलाई निकै असहज बनायो र यतिकै छाड्न म बाध्य भए । क्षमा-याचनासहित उनको जवाफ फर्काउन मन थियो, तर आक्रोशसहितको उनको म्यासेज पढेपछि म निःशब्द हुन पुगेँ ।
एक दिन महिलासँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दा तिनै श्रोताको फोन आयो । महिलालाई गरिने सम्मान र यस्तै विषयसँग सम्बन्धित कुराकानीमा उनले खुलेर आफ्नो धारण राखे । उनको धारणाबाट म खुसी भएँ, मैले त्यो बेला म्यासेन्जरको म्यासेज सम्झिन चाहिनँ । कुराकानी टुङ्गियो । त्यसको केही दिनपछि पुनः उनले म्यासेज गरे । उक्त म्यासेजमा कुनै शिष्टता थिएन, फोनमा महिला सम्मानको कुरा गर्दा खुसी भएको मेरो मन उनको म्यासेज पढेर पुनः दुखित हुन पुग्यो । मैले तत्काल प्रतिक्रिया दिइनँ । त्यही दिन राति उनले अचानक मेसेन्जरमा भिडियोकलसमेत गरे, मैले रिसिभ गरिनँ ।
उनको कलपछि पुनः मेरो मनमा अनेकौँ कुरा खेल्न थाले । कसैको जवाफ फर्काउनु वा नफर्काउनु त्यो मेरो व्यक्तिगत स्वतन्त्रताको कुरा हो । तर जवाफ नफर्काएकै कारण मानसिक तनाव झेल्नुपर्ने ? आफैँले आफैँलाई प्रश्न गर्न थालेँ । जवाफ भेटिनँ । हुन त सामाजिक सञ्जाल भनेको विश्वव्यापी रूपमा एक-अर्कालाई जोड्ने सञ्जाल हो । तर यसको अर्थ सबैसँग जोडिनैपर्छ भन्ने हुँदैन । सम्बन्ध विस्तार गर्ने नाममा असभ्यतालाई स्वीकार गर्न सकिँदैन ।
ममात्रै होइन, यस्तै समस्या भोग्ने थुप्रै सहकर्मी साथीहरू पनि छन् । रेडियोमै कार्यरत एक जना महिला पत्रकारले ‘अनलाइन ह्यारेसमेन्ट’ को प्रसङ्ग चलिरहँदा आफ्नो अनुभव सुनाइन् । रेडियोमा कार्यरत उनी कपडा किन्न बजार गएकी रहिछिन् । एउटा पसलमा पुगेकी उनलाई त्यसका सञ्चालकले रेडियोमा काम गर्नुहुन्छ भन्दै सोधे । उनले हो भन्दै जवाफ दिइन् । त्यसपछि सञ्चालकले आफ्नो पसलको विज्ञापन रेडियोमा बजाउनुपर्ने छ भन्दै सम्पर्कका लागि उनको मोबाइल नम्बर लिएछन् । उनले पनि रेडियोसँग सम्बन्धित विषय भएका कारण सहजै नम्बर दिएर घर फर्किइन् ।
घर पुगेको केही बेरमा उनको मोबाइलमा ‘आई लभ यु’ भन्दै म्यासेज आउँछ । उनी छक्क पर्छिन् । मेसेज पठाउने तिनै पसल सञ्चालक थिए । केही बेरमै अर्को म्यासेज आउँछ ‘म तपाईंलाई धेरै माया गर्छु, धेरै दिनदेखि तपाईंसँग बोल्न खोज्दै थिए, आज मौका पाएँ’ । म्यासेज पढेर उनी निःशब्द हुन्छिन् र इग्नोर गर्छिन् । त्यसको भोलिपल्ट उनको म्यासेन्जरमा म्यासेज आउँछ, म्यासेज पठाउने पसल सञ्चालक हुन्छन् र म्यासेजमा विवाहको प्रस्ताव आउँछ । ‘म तपाईँलाई साँचो माया गर्छु, मैले मेरो घरमा पनि कुरा राखेको छु, सबैको सहमति छ, तपाईंलाई माग्न कहिले आउँ ?’
म्यासेज पढेर उनी आक्रोशित हुन्छिन् र रेडियो पुगेर उसलाई फोन गर्दै हप्काउँछिन् । तत्कालै उनले पसल सञ्चालकको नम्बर ब्ल्याक लिस्टमा राख्छिन् । त्यसको केही दिनपछि पसल सञ्चालकले म्यासेन्जरमा आफू मर्ने धम्की दिँदै उनलाई धम्क्याउने प्रयास गर्छन् । उनको धम्कीले अत्तालिन पुगिन् । पसल सञ्चालकले हात काटेको, टाउको फुटाएको तस्बिर उनलाई पठाउन थाल्छन् । तस्बिर हेरेर मानसिक तनावमा परेकी उनी डराउन थाल्छिन् । यसबीचमै उनले घटनाको वास्तविकता आफ्नो अभिभावकलाई सुनाउने निर्णय गर्छिन् ।
पसल सञ्चालकले पठाएको सबै म्यासेज हेरेपछि अभिभावकले उनको हौसला बढाउँछन् र उनलाई तनावमुक्त हुन अनुरोध गर्छन् । कामलाई निरन्तरता दिन र यस्तो कुरालाई इग्नोर गरेर अघि बढ्न सुझाएपछि उनी खुसी हुन्छिन् र आफ्नो नियमित काममा फर्कन थाल्छिन् । त्यसयता फरक-फरक आइडीबाट आउने म्यासेजलाई उनले वास्ता गर्न छाडिन् ।
रेडियो पत्रकारितामै भविष्य खोज्दै गरेकी उनले केही समय उनले भोग्नुपरेको पीडा भने निकै दुःखदायी र अस्वाभाविक थियो । हामी शारीरिक हिंसालाई मात्रै हिंसा बुझ्ने गर्छौं । तर सामाजिक सञ्जालबाट हुने यस्ता गतिविधि पनि हिंसा नै हुन् । मानसिक रूपमा कसैलाई तनाव दिनु, यो हिंसा हो यसलाई कदापि स्वीकार गर्नु हुँदैन, यसविरुद्ध आवाज उठाउन जरुरी हुन्छ ।
सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट, असभ्य म्यासेज गर्नु, एउटा व्यक्ति चाहे महिला हुन् वा पुरुष उसको निजी जीवनलाई असहज बनाउनु पनि हिंसा हो । कार्यक्षेत्रमा महिलाले भोग्नुपरेको पीडा थुप्रै हुन्छ, कति बाहिर आउँछन् कति दबिएर बस्छन् । आवाज उठाउँदा चरित्रमिथी नै प्रश्न उठाउने गरिन्छ । त्यसैले पनि महिलाहरूले सहेर बस्न बाध्य हुन्छन् । तर जबसम्म यस्ता गतिविधिविरुद्ध आवाज उठ्दैन तबसम्म यस्ता गतिविधिको अन्त्य पनि हुँदैन । सामाजिक सञ्जालबाट हुने हिंसाबाट मुक्ति पाउन र पीडकलाई कानुनी दायरामा ल्याउन कानुनी उपचार खोज्न ढिला गर्नुहुन्न ।
एक व्यावसायी महिला केही समयअघि यस्तै साइबर अपराधको पीडाबाट गुज्रिरहेकी थिइन् । उनले कानुनी सहायता लिइन् । जसका कारण आज उनी अनावश्यक तनावबाट मुक्त छिन् । उनी एउटा उदाहरणमात्रै हुन् साइबर अपराधका कारण पीडामा परेका नारी हुन् वा पुरुष कानुनी सहायता लिन ढिला गर्नु हुँदैन । हिंसा कसैका लागि स्वीकार्य हुँदैन । त्यसैले सामाजिक सञ्जाल होस् वा कार्यक्षेत्रमा हुने हिंसा, त्यसविरुद्ध आवाज उठाउने काम आफैँबाट सुरु गर्नुपर्छ ।
लेखक निलिसा बर्मा रेडियो आकाशवाणी ९३ दशमलव १ मेगाहर्ज र इशिला लेख अनलाइनको अंग्रेजी संस्करणमा सम्पादकको रूपमा कार्यरत छिन् ।