पश्चिमाहरू धूर्त मात्र हैन महा धूर्त उचाल्न र पछार्नमा पनि माहिर छन् । जाति देखि धर्मको नाउँमा जनता लडाउन खप्पिस, २०४६ साल पछि नेपालको मौलिक संस्कृति मास्न र इसाई धर्म फैलाउन कुन कुन पार्टीलाई हातमा लिए र त्यसको नतिजाले देश आज कुन स्थितिमा पुगेको छ भन्ने दिब्यज्ञान काँग्रेस कम्युनिस्ट देखि पूर्व पन्च लगायतका प्राय सबै पार्टीहरूले पाएका छन् ।
वामपन्थीहरू आंधी जस्तो आउँछन् र तुफान मच्चाएर जान्छन् । संसारमा देखिएको यही नै हो । नेपालमा खाँटी बामपन्थी छैनन् भनेर पनि भन्ने गरिएको छ । बाघको छाला ओढेको स्याल जस्तै हो नेपालको कम्युनिस्टहरू । अर्काको ट्रेडमार्क बोकेर राजनीति गर्दै छन् । हँसिया हथौडा चिन्ह देखि मार्क्स, लेनिन हुँदै माओ नेपाली पहिचान पनि हैन । बिदेसी वाद र संस्कृति अंगाल्दा भोलि नेपाल र नेपाली रहन्छ कि रहँदैन भनेर कम्युनिस्टहरूको दस्ताबेजमा पक्कै पनि लेखिएको छैन । यदि लेखिएको हुन्थ्यो भने इसाईको ढाल बन्दै सनातन धर्म संस्कृतिको जरो किन उखेल्थे ।
जहानियाँ राणा शासन विरुद्ध विद्रोहको पहिलो झिल्को नेपालमा नै उठेको थियो । दक्षिणका शासकहरूले गिद्धे दृष्टि लगाएर आफ्नै देशमा नेपालको तत्कालीन शासक विरुद्ध ईन्कलाब घन्काउन आश्रय दिए । काँग्रेस तथा कम्युनिस्ट नामको दुवै पार्टीको जन्म भारतमा नै भएको हो । इतिहास साक्षी प्रमाण बनेर उभिएको छ ।
आफ्नो फाइदाको लागि जस्तो सुकै घटिया हर्कत गर्न छिमेकीहरू पछि पर्दैनन् । आफैले मलजल गरेर हुर्काएको बिरुवा जोगाउने इच्छा र चाहना राख्थे भने २०१७ सालमा प्रजातन्त्रको घाँटी पक्कै पनि निमोठिन दिन्थेनन् । आफ्नो फाइदाको लागी मात्र काँग्रेस कम्युनिस्टहरू लाई प्रयोग गरेका रैछन, अझै पनि गर्दैछन् ।
जुटेको कम्युनिस्ट पार्टी एमाले आठ वर्ष नपुग्दै माले र एमाले बन्न पुग्यो । एमालेले केही समय चम्किएर हत्या र हिंसाको बाटो अङ्गालेर शासन सत्तामा आएको माओवादी सँग लगन गाँठो कस्न पुग्यो । माले यतिखेर नाम मात्रको पार्टी बन्न पुगेको छ । कम्युनिस्टहरू जुट्न जान्दैनन् । यदि जानेका हुन्थे भने जुटेर देशकै एक मात्र ठुलो बनेको ने.क.पा पार्टी अहिलेको वर्तमान परिस्थितिमा फुटको सँघारमा पुग्दैन थियो । फुटे तर साथमा एमालेलाई पनि फुटाई दिए । हिजो एक बनेर बहुमतको शासन चलाउने पार्टी आज तिन भएर छिन्नभिन्न हुन पुगेका छन् । फुटेका पार्टीकाहरू यतिखेर काँग्रेसको वैशाखी समातेर राजनीतिको रोटी सेक्दैछ्न ।
२०१७ साल पुषमा जन्मेको पञ्चायतबाट आफ्नो फाइदा हुने नदेखे पछि काँग्रेस देखि कम्युनिस्ट पार्टीका नेताहरूलाई पुनः आफ्नो देशमा आश्रय दिएर २०२८ साल देखि नेपालको शान्ति र विकास खलबल्याउन सुरु गराएकै हुन । २०२८ सालमा पूर्वी नेपालमा सुरु भएको सामन्ती मास्ने नाउँमा कम्युनिस्ट पार्टीले मच्चाएको हत्या र हिंसा अनि २०३३ सालमा २००७ सालकै नक्कल गर्दै काँग्रेसको जिल्ला कब्जाको योजना प्रमाण हुन । सामन्ती मास्ने भन्दै त्यो समयका हत्याराहरू पञ्चायतको अन्त्य पछि मन्त्री देखि प्रधानमन्त्री समेत हुन भ्याए । आज नेपालमा को शासक को सामन्ती को वर्ग शत्रु तिनीहरूले नै खुट्याउन नसक्ने स्थितिमा पुगी सकेको छ ।
काँग्रेस र कम्युनिस्टको अराजक गतिविधि देखि दिक्क हुँदै राजाबाट २०३६ सालमा नेपालमा निर्दलीय पञ्चायती व्यवस्था कि बहुदलीय प्रजातन्त्र भनेर रोज्ने भनेर जनमत सङ्ग्रह गराइयो । आधिकारिक रूपले पञ्चायती व्यवस्था विजयी भएको घोषणा गरियो । नेपाली काँग्रेसको संस्थापक नेता स्व.बि.पी कोइरालाले जनताको मत भन्दा ठुलो अरू केही हुन्न भन्दै पराजयलाई स्विकार्नु भयो र नेपालमा दोस्रो पटक प्रजातन्त्रको स्थापना हुन सकेन ।
२०३६ सालको जनमत सङ्ग्रह गराउने जिम्मा तत्कालीन प्रधानमन्त्री स्व.सूर्य बहादुर थापाको जिम्मामा थियो । स्व.थापा पनि नेपाली काँग्रेसका उत्पादन हुन । चाहेको भए मातृ पार्टीको मागलाई पुरा गर्न ह्याउ राख्ने स्व. थापाले बहुदल नरोजेर किन निरङ्कुश भनिएको पञ्चायती व्यवस्था नै रोजे त्यो समय बुझ्न नसकिने कुरा थियो ।
२०३६ सालको जनमत संग्रहले चम्केका स्व. थापालाई टक्कर दिन सुदूर पश्चिमबाट लोकेन्द्र बहादुर चन्दको उदय भयो । झट्ट हेर्दा नेपालमा भन्ने गरिएको एकदलीय निरङ्कुश पञ्चायती शासन व्यवस्था भए पनि जनताले जिताएका पञ्चायती माननीयहरू स्व.थापा र चन्द गुट गरेर दुई खेमामा बाँडिएको थियो र नेपालको राजनीतिमा गुटबन्दीको जन्म २००७ साल भन्दा अगाडि नै भई सकेको थियो । काँग्रेस पार्टीका दुई गुट त्यसैको उदाहरण थिए ।
२०४२ सालमा पञ्चायतमा थापा र चन्द गुटको शक्ति सङ्घर्षबाट फाइदा उठाउँदै नेपालमा राम राजा प्रसाद सिंह र खेमराज मायालु भट्ट मिलेर मच्चाएको बम काण्ड पनि छिमेकीले आफ्नो फाइदाको लागी रचाएको थियो । जनताले बहुदललाई नभएर निर्दलीय शासन व्यवस्थालाई मत दिएको हो भनेर संस्थापक नेताले स्वीकारे पछि पनि नेपाली काँग्रेसले विभिन्न किसिमको आन्दोलन गर्न भने छाडेको थिएन । यदि जनमतको कदर गर्थे भने ६ वर्ष नपुग्दै बामपन्थी सँग मिलेर देशमा आन्दोलनको आगो सल्काउँदैनथे । बामपन्थी सँगको घाँटी जोडाई कति सम्मको अफापकारी हुने रैछ अहिले आएर कांग्रेसी नेताहरूले पक्कै पनि बुझेको हुनु पर्दछ ।
२०४६ साल पछि चम्केको काँग्रेसले २०४८ सालको आम निर्वाचनमा बहुमत ल्याएर सरकार बनायो । सरकार बनेको ३ वर्ष नपुग्दै आफ्नै पार्टीका नेताहरू छत्तीसे र चौहत्तरे नामका दुई गुटमा विभाजन भएको कारणले गर्दा बहुमतको पार्टीले मध्यावधि निर्वाचनको घोषणा गरेको पनि देखिएकै हो ।
पञ्चायती शासनमा नै दुई खेमा भएको थापा र चन्द गुटले २०४६ साल पछि राष्ट्रिय प्रजातन्त्र पार्टी नाम राखेर नाम एकै तर कोष्ठ भित्र थापा र चन्द चुनाव चिन्ह गाई र हलोको स्थापना गरे । दुई अलग पार्टीले बहुदलीय राजनीतिमा पकड जमाउन नसके पछि एकीकरण गरे । नतिजा छि भन्ने खालको थिएन । प्रजातन्त्र स्थापना भएको ५ वर्ष नपुग्दै दुवै महापन्च अर्थात् पञ्चायतकलाका हस्ती तथा पूर्व प्रधानमन्त्रीहरू स्व.सूर्य बहादुर थापा देखि लोकेन्द्र बहादुर चन्दले प्रधानमन्त्रीको कुर्चीमा बस्ने मौका जुर्नु भनेको एकताको नै बल हो भन्ने सन्देश थियो भने काँग्रेस, कम्युनिस्ट पार्टी फुट्दा घाटा कसलाई हुने रैछ भन्ने अर्को उदाहरण पनि थियो ।
आफ्नो बिचार लागु भएन वा लाद्न सकिएन भने छुट्टै गुट बनाउन पछि पर्दैनन् । जुटेको कम्युनिस्ट पार्टी एमाले आठ वर्ष नपुग्दै माले र एमाले बन्न पुग्यो । एमालेले केही समय चम्किएर हत्या र हिंसाको बाटो अङ्गालेर शासन सत्तामा आएको माओवादी सँग लगन गाँठो कस्न पुग्यो । माले यतिखेर नाम मात्रको पार्टी बन्न पुगेको छ । कम्युनिस्टहरू जुट्न जान्दैनन् । यदि जानेका हुन्थे भने जुटेर देशकै एक मात्र ठुलो बनेको ने.क.पा पार्टी अहिलेको वर्तमान परिस्थितिमा फुटको सँघारमा पुग्दैन थियो । फुटे तर साथमा एमालेलाई पनि फुटाई दिए । हिजो एक बनेर बहुमतको शासन चलाउने पार्टी आज तिन भएर छिन्नभिन्न हुन पुगेका छन् । फुटेका पार्टीकाहरू यतिखेर काँग्रेसको वैशाखी समातेर राजनीतिको रोटी सेक्दैछ्न ।
२०६४ सालको कथित जन-आन्दोलन पछि नेपालमा राजतन्त्रको अन्त्य भएको घोषणा गरियो । बामपन्थी सँग कुम जोडेर नेपाली काँग्रेसको नेता स्व.गिरिजा प्रसाद कोइराला र तिनका प्यादाहरूले गरेको यो दूषित कार्यले सिङ्गो पार्टी एक दिन धराशायी हुन्छ भन्ने सोचेनन् । संस्थापक नेताहरू स्व.बि.पी., गणेशमान, भट्टराई देखि महेन्द्र नारायण निधिहरू आज बाचिरहेका भए यो दुर्दिन देख्नु पर्दैन थियो । कम्युनिस्ट भनेको गणतन्त्रको ठेकेदार हो र नेपालमा कम्युनिस्ट शासन हुनुहुन्न भनेर स्व.बि.पी ले पटक पटक भन्नु भएको पनि हो तर नेपालमा राजा सहितको प्रजातन्त्र चाहिन्छ भन्ने आफ्नै दाज्यूको भनाइलाई हठी नेता स्व.गिरिजाले कुल्चेर बामपन्थी सँगको लगनगाँठो जोड्दा आजको दिनमा नेपाली काँग्रेसको स्थिति रा.प्र.पा पार्टीको हैसियतमा पुगेको छ ।
नेपालको राजनीतिमा स्व.सूर्य बहादुर थापाले आफू बाचुन्जेल सकुनीको भूमिका निर्वाह गरे । बडो दुखले एकीकरण भएको पार्टीमा अभिभावकको भूमिका लिनु छाडेर छुट्टै जनशक्ति पार्टीको स्थापना गरेर अरूलाई पनि पार्टीमा विद्रोह गर्न सिकाए । नतिजा एक भएको पार्टी तिन हुन पुग्यो । सिगो पार्टी थापा, चन्द, राणा खेमा हुँदै पछि लोहनी देखि लावती खेमामा बाँडिन पुग्यो । नपरे सम्म चेतिँदैन । यही किसिमले चल्यो भने पार्टीको अस्तित्व मेटिन सक्छ भन्ने चेत पलाएर होला अहिले पूर्व पञ्चहरू एक जुट भएर पार्टी एकीकरण गरेका छन् । जुट्नु भनेको राम्रै हो ।
भोलिका दिनमा फुटेर हैन जुटेर अगाडी बढ्नु पर्छ भने त्यसको लागी अब खुल्ला मैदानमा युवाहरूलाई उतारेर वृद्ध नेताहरूले अभिभावकको भूमिका निभाउन सक्नु पर्छ । यदि त्यसो नगरेर काँग्रेसका स्व.गिरिजा देखि सुशील कोइराला, कम्युनिस्टका स्व.मन मोहन, सी.पी, बिजुक्छे, देखि अहिलेका प्रचण्ड, ओली, माकुने, चित्र के.सी, वैद्य देखि मधेसी पार्टीका ठाकुर, महतो जस्ता नेताहरूले बाचुन्जेल पद ओगटेर बस्ने नियत राख्छन् भने नेपालबाट अहिलेको राजनीति पार्टीहरूको राजनीति एकादेशको कथामा नेपालमा काँग्रेस र कम्युनिस्टको नामको पार्टी थियो भन्ने दिन आउन सक्छ ।