शीर्षकमै ‘के नेताको मुटु हुँदैन ?’ देखेर अचम्म पर्नु भयो होला !
हुन त यो मुटु भन्ने शब्द नेपालीहरूको लागि नौलो भने हैन । २०७६ पुस २९ गते पत्रकार सम्मेलन नै गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘राम्रो कामको प्रशंसा गर्ने मन मुटु भएका सम्पादक नै छैनन् । कसैले छ्यास्सछुस्स केही लेखिहाल्यो भने पनि राम्रा कुरा गर्न थालिस् भनेर गाली खान्छ ।’
आफू प्रधानमन्त्री हुँदा पत्रकारहरूले आफूलाई सहयोग नगरेको गुनासो उनले पटक-पटक गरेका थिए ।
यस्तै, ओलीले भिआइपी र भिभिआइपीहरूलाई समाचारमा तिमी भनेर सम्बोधन गरेको गुनासो गरिरहेकै हुन्थे । उनले ‘पत्रकारले आमालाई पनि तिमी भन्छ’ भनेर भन्नसमेत भ्याए ।
त्यसपछि सुरु भयो मुटु हुनेहरूको कथा व्यथा ! ओलीको उक्त कुराको प्रतिउत्तरमा त्यति बेला अनलाइन खबरका सम्पादकसमेत रहेका अरुण बरालले २०७६ माघ १ गते ‘ओलीको स्टालिनपथ : मुटु छ भने नडराए हुन्छ !’ भन्ने शीर्षकमा आर्टिकल नै लेखे । उनले , ‘सिद्धान्ततः सरकार र मिडियाबीचको सम्बन्ध अन्तर्विरोधी नै हुन्छ । सरकार सूचना लुकाउन चाहन्छ भने मिडियाले उधिन्न चाहन्छ । सरकार आफ्नो प्रशंसामात्रै होस् भन्ने चाहन्छ भने राज्यको चौथो अङ्गले ‘वाच डग’ को भूमिका खेल्न चाहन्छ । सरकार प्रेस स्वतन्त्रताप्रति अरुचि राख्छ भने मिडिया प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा कवच बन्न चाहन्छ ।’ भनेर स्पष्ट रूपमा खुलाएका थिए ।
अहिले कुनै पनि पार्टीमा आबद्ध नेतासँग रिस उठ्यो भने फोटो एडिट गरेर कुकरलगायतका जनावरहरूको शरीरमा नेताको टाउको जोड्ने प्रचलन बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओलीले बिहे गरेका फोटाहरूदेखि लिएर नेताहरूलाई नाङ्गै पारेर घाँस दिइरहेको फोटाहरूलाई भाइरल गराइन्छ । जिउँदा नेताहरू श्रद्धाञ्जली र रिप (रेस्ट इन पिस) लेखिन्छन् । यसरी आफ्नै श्रद्धाञ्जलीको तस्बिर देख्दा उनीहरूको मन नदुख्ला र ?
यतिले मात्र मुटुको कहानी सकिएन, १२ भाइ सम्पादक नामले परिचित अधिकांश सम्पादकहरूले सो कुरालाई उठान गरे । यस्तै इमेज खबर डटकम को अनलाइनमा पनि सञ्जीव कार्कीको नाममा ‘ आफू हार्ने चुनाव गर्न मुटु चाहिन्छ, तपाईसँग कस्तो मुटु छ प्रधानमन्त्री ज्यू ?’ भनेर आर्टिकल नै आयो । यी त केही उदाहरणहरूमात्र हुन् । गुगलमा सर्च गर्नु नै हो भने पनि मुटुसम्बन्धी थुप्रै लेखहरू पढ्न पाइन्छन् ।
मङ्सिर २४ गते शुक्रबार नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले नेतालाई चोर भन्न थालेको बताए ।
उनी त्यतिमा मात्र रोकिएनन्, उनले हाँस्दै हाँस्दै भने, “पहिले गाउँमा जाँदा कुन नेता आउनुभएको छ भन्ने गरिन्थ्यो, अहिले कुन चोर आएछ भन्ने गरेका छन्।”
उनले अझै थपे , “सरकार सरकारजस्तो छैन, संसद् संसद्जस्तो छैन, अदालत अदालतजस्तो छैन। यो सबलाई ठिक बनाउने राजनीति पनि ठिक छैन,” लिङ्देनले भने, “राजनीतिलाई ठिक बनाउने नेताले पनि विश्वास गुमाएका छन्।”
उनको यो भाषणले त्यहाँ उपस्थित रहेका जनताले त समर्थन जनाए नै तर त्यहाँ सहभागी भएका नेताहरूको अनुहार भने हेर्न लायक थियो ।
उनको कुरालाई नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ फर्काए पनि त्यहाँ उपस्थित भएका धेरैले लिङ्देनलाई नै समर्थन गरे ।
सन्तान शोकमा परेकी प्रचण्ड पत्नी सीतालाई स्वास्थ्य लाभको कामना गर्नुको सट्टा १८ हजारको पाप लागेको भनेर श्राप दिइरहनु कतिको उचित होला । के त्यसमा हाम्रो मानवता झल्किन्छ र ?
यस्तै, प्रज्ञा–सिस्नु पानी देउसी २०७६ मा संस्थाका महासचिव टङ्क आचार्यसहितको टोलीले नेताहरूलाई दह्रो झापड दिने प्रस्तुति दिए । सबैभन्दा मुख्य कुरा त नेताहरू अगाडि बसेर उक्त कुराहरू सुनिरहेका थिए ।
उनले पूर्व सभामुख कृष्णबहादुर महरा, पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई, पुष्पकमल दाहाल र शेरबहादुर देउवा (वर्तमान प्रधानमन्त्री) लगायत परिवारका सदस्यहरूलाई व्यङ्ग्य गर्न भ्याए ।
त्यहाँ उपस्थित रहेका सबै नेताहरू आफ्नै अगाडि भएका आलोचनाहरूलाई सुनिरहे, हेरिरहे । यो लेख लेख्ने पंक्तिकारलाई बेला बेला लाग्छ नेताहरूको मुटु हुँदैन र ? उनीहरू आफ्नोअगाडि आफ्नै आलोचना सुनिरहेका हुन्छन् । जनताको मर्म बुझेनौँ कि भनेर सोचमग्न भइरहेका हुन्छन् होला है !
अहिले नेपालमा राष्ट्रवादको बहस उत्कर्षमा पुगेको छ । विश्वविद्यालयदेखि लिएर चिया खाजा पसलमा समेत यो विषयमा छलफल हुन थालेको छ । अहिले त सर्वाधिक विवाद बनेको एमसिसीको विरोध गर्नेहरू राष्ट्रवादी र यसको समर्थन गर्नेहरू राष्ट्रघाती भनेर बिल्ला नै भिराउने गरिएको छ ।
डिजिटल मिडियाको बढ्दो क्रेजले त झन् नेताहरू दिनानुदिन विवादित बनिरहेका छन् । उनीहरूले गरेको सानो गल्तीलाई आगोको झिल्काबाट घर नै डढाउनेसमेत गरिएको छ । सामाजिक सञ्जालमा उनीहरूमाथि यस्तो गालीगलौच आउँछन् कि मानौँ उनीहरू ठुला अपराधी हुन् । उनीहरूले हाम्रो घरघरमा आएर घर भाँड्ने काम गरेका छन् ।
हामीलाई सानोसानो कुरामा चित्त दुख्छ, कुराहरू पचाउन एकदमै गाह्रो हुन्छ । के उनीहरूसँग चैँ ढुङ्गाको मुटु हुन्छ ?
ईश्वर पोखरेललाई विगत डेढ दशकदेखि ‘पानी ट्याङ्की’ काण्डले लखेटिरहेको छ । अहिले पनि उनको विषयमा समाचार वा अन्तर्वार्ता प्रकाशित हुँदा मुन्तिर कमेन्ट बक्समा कसैले त्यो शब्द लेख्न भ्याइहाल्छ ।
अहिले मुलुकमा डिजिटल हिंसाको अवस्था भयानक भइसकेको छ । २०७८ साल साउनदेखि कात्तिकसम्म चार महिनाको बीचमा एक हजार ८६२ वटा साइबर अपराधका उजुरीहरू दर्ता भएका रहेछन् । त्यसमा हामीले नेतालाई गरेका गालीहरू, उनीहरूलाई गरेको सत्तोसराप, गाली बेइज्जतीलगायतका कुराहरू भने जोडिएका छैनन् । हुन त नेताहरू पनि एक नेताले अर्को नेताको खुट्टा तान्नमै व्यस्त छन् । उनीहरूले सकभर हामीले गरेको गाली देख्दैनन् । देखे पनि नदेखेजस्तो गर्छन् । देख्ने त केवल तिनका परिवार र कार्यकर्ता मात्र हुन् । उनका कार्यकर्ताहरू बचाउमा र विरोधमा उत्रिन्छन् तर परिवार उक्त कुरा सामना गर्न अगाडि आएको उदाहरणहरू भने भेट्न गाह्रो छ ।
अहिले कुनै पनि पार्टीमा आबद्ध नेतासँग रिस उठ्यो भने फोटो एडिट गरेर कुकरलगायतका जनावरहरुको शरीरमा नेताको टाउको जोड्ने प्रचलन बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओलीले बिहे गरेका फोटाहरूदेखि लिएर नेताहरूलाई नाङ्गै पारेर घाँस दिइरहेको फोटाहरूलाई भाइरल गराइन्छ । जिउँदा नेताहरू श्रद्धाञ्जली र रिप (रेस्ट इन पिस) लेखिन्छन् । यसरी आफ्नै श्रद्धाञ्जलीको तस्बिर देख्दा उनीहरूको मन नदुख्ला र ?
यी त केही उदाहरण मात्र हुन् । यस्ता गाली त कति हो कति ? बेला बेला सोच्ने गर्छु, के भगवानले नेताहरूको मन ढुङ्गाको बनाएका छन् ? या त जन्मँदै आमाले सबै कुराको परामर्श दिएर हुर्काएकी छन् ।
नेकपा माओवादी (केन्द्र) को आठाैँ महाधिवेशन चलिरहेको बेला स्व. प्रकाश दाहाल र पूर्वमन्त्री बिना मगरका छोरा अहिले ललितपुरको युलेन्स स्कुलमा पढिरहेका छन् भनेर ठुलै आलोचना गरियो । गलत कार्य गर्नेलाई सधैँ खबरदारी गर्नु पर्छ । तर के ती बालकलाई यो सबैबारेमा थाहा होला ? यदि उनले सुने भने उनको मनस्थितिमा कस्तो असर पर्ला ? के प्रचण्डको नाति भएर जन्मनु उनको गल्ती थियो ?
सन्तान शोकमा परेकी प्रचण्ड पत्नी सीतालाई स्वास्थ्यलाभको कामना गर्नुको सट्टा १८ हजारको पाप लागेको भनेर श्राप दिइरहनु कतिको उचित होला । के त्यसमा हाम्रो मानवता झल्किन्छ र ?
अहिलेका प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पनि बोलीकै कारण आलोचित भइरहन्छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले समेत सार्वजनिक कार्यक्रममा देउवाले बोलेको केही नबुझेको बताएकी थिइन् ।
नेताहरू पनि मानिस हुन् । उनीहरूबाट पनि कयौँ गल्ती हुन्छन् । के उनीहरूले गल्ती स्वीकार्न पनि नपाउनु ? गल्ती स्वीकारेर अगाडि बढ्न खोज्दा पनि उनीहरूलाई त्यो अगाडिको जीवनले पटकपटक आघात पुर्याइरहन्छ ।
सार्वजनिक पदमा बसेका र जनताको मत पाएर हाम्रै सेवा गर्न भनेर सरकारमा गएका व्यक्तिहरूबाट यस्ता कार्यहरू हुँदा स्वतः हाम्रो मन दुख्छ । उनीहरूलाई सचेत गराउने, सही बाटो देखाउन हाम्रो पनि ठुलो भूमिका रहन्छ ।
पुराना गल्तीहरूका कारण अहिले पनि केही नेताहरू विवादित छन् । उनीहरू अगाडि बढ्न खोजे पनि उनीहरूको अतीतले उनीहरूलाई पिरोलिरहन्छ । पूर्वसञ्चार मन्त्री तथा एमाले नेता गोकुल बास्कोटा ७० करोडको नामले चर्चित छन् । उनी त नेता भए, यसै पनि ढुङ्गाकै मुटु भएका, तर के उनको परिवारका सदस्यहरूको मन पनि ढुङ्गाकै होला ? उनका सन्तान तथा आफन्तले सामाजिक सञ्जाल चलाउँदै नचलाउनु ? उनले राम्रो कुरा लेखे पनि सामाजिक सञ्जालमार्फत गाली नै खाने गरेका छन् ।
बालुवाटार जग्गा काण्डमा मुछिएका नेताहरूको कुरा गरिसाध्य छैन । उनीहरू सबैभन्दा धेरै विवादित व्यक्तिहरू हुन् । केपी शर्मा ओलीको बचाउमा परेका विष्णु पौडेल पनि गाली खानबाट पन्छिएका छैनन् । भलै उनले जग्गा फिर्ता गरेको घोषणा गरे ।
काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका धनराज गुरुङलाई पनि रातो पासपोर्ट काण्डले छोडेकै छैन । बास्कोटाको तुलनामा गुरुङ भने कम गाली खानेमा पर्छन् । यस्तै, अरूको सन्तानको हत्या गरेर आफ्नो नातिसँग रमाएको भनेर बाबुराम भट्टराई पनि गाली खाइरहने व्यक्तिमा पर्छन् ।
यस्तै, ईश्वर पोखरेललाई विगत डेढ दशकदेखि ‘पानी ट्याङ्की’ काण्डले लखेटिरहेको छ । अहिले पनि उनको विषयमा समाचार वा अन्तर्वार्ता प्रकाशित हुँदा त्यसको तलतिर कमेन्ट बक्समा कसैले त्यो शब्द लेख्न भ्याइहाल्छ ।
राप्रपाबाट एमालेमा इन्ट्री मारेपछि राष्ट्रियसभा सदस्य पद पाएकी पूर्वसञ्चारकर्मी कोमल वली पनि गाली खानबाट अछुतो छैनन् । एमालेमा वर्षौँदेखि योगदान गरेका महिलाहरूलाई ठाउँ दिनुपर्नेमा वली भएकै कारण केपी ओलीले विशेष स्थान दिएको भन्दै एमालेकै महिला नेतृहरूले उनको खेदो खन्ने गरेका छन् यद्यपि वली र ओली फरक हुन् भनेर बहस पनि चलिरहेको छ ।
केपी शर्मा ओलीले पनि सयौँ गल्ती गरेका छन् । यो पंक्तिकारले पनि सामाजिक सञ्जालमार्फत खबरदारी गरेकै हो तर पनि, उनको गल्तीलाई लगेर सन्तान नभएको, औँलामा समस्या भएको, फलानोको प्रेमी भन्दै गलत रूपमा प्रचार गर्दा के हामी सही हुन्छौँ ?
अहिलेका प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पनि बोलीकै कारण आलोचित भइरहन्छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले समेत सार्वजनिक कार्यक्रममा देउवाले बोलेको केही नबुझेको बताएकी थिइन् । २०७६ साल असोज ३ गते राष्ट्रिय सभागृहमा भएको एक कार्यक्रममा देउवापछि बोलेकी राष्ट्रपति भण्डारीले भनिन्, ‘यो मञ्चमा वक्ताले बोलेको केही नबुझ्ने रहेछ। नेताहरूले जोस्सिएर बोल्नुभयो। फ्लोरबाट राम्रो स्वागत भयो, ताली बज्यो। राम्रो बोल्नुभयो जस्तो लाग्यो । तर, के बोल्नुभयो भन्ने कुरा आम रूपमा बुझिएन । कान सुनिएन । अब मिडियाबाट थाह पाइएला।’
यस्तै, देउवा पत्नी तथा नेतृ आरजु राणा प्रधानमन्त्रीदेखि लिएर मन्त्रीहरूलाई समेत हस्तक्षेप गरेको आरोप खेप्दै आएकी छन् । यो लेख लेखिरहँदा उनी सुटुक्क दिल्ली भ्रमणमा गएको र त्यहाँ बिजेपीका नेतासँग भेट गरेको तस्बिर बाहिरिएको थियो । परराष्ट्रमन्त्रीले गर्नुपर्ने काम उनले गरेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भइहेको छ ।
पूर्वअर्थमन्त्री रामशरण महतलाई पनि जस्तापाता काण्डले छाडेकै छैन । २०७२ सालमा गएको भूकम्पको बेलामा जस्तापाता लुकाएको आरोप उनले आजसम्म खपिरहेका छन् ।
रोशनी र महरा काण्डले पनि बजार निकै ततायो । हुन त अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिएता पनि समाज र सामाजिक सञ्जालमा भने उनी विवादित नै छन् । माओवादी निकट पत्रकारहरूका अनुसार आज पनि महरा शिर झुकाएर बोल्छन् ।
यस्ता गाली खाने अन्य नेताहरू पनि छन् । यी त केही उदाहरणमात्र हुन् । के हामीले उनीहरूलाई गाली गर्दैमा, उनीहरूको बदनाम गर्न अनेकौँ फण्डा निकाल्दैमा, या सामाजिक सञ्जालमा उफ्रिँदैमा उनीहरू सुध्रिने हुन् र ? कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रामा राखे पनि जस्ताको त्यस्तै भनेझैँ हामीले सामाजिक सञ्जालमा गाली गर्दैमा उनीहरू सुध्रिने हैनन् जस्तो यो पङ्क्तिकारलाई लाग्छ ।
नेताहरू पनि कोभन्दा को कम चाहिँ छैनन् । उनीहरूले पनि आफूले आफूलाई सुधार्नु पर्ने सयौँ कारणहरू छन् । सधैँ गल्ती मात्र दोहोर्याउँदा जनताहरू पनि चुप लागेर बस्नेवाला छैनन् । अन्य देशमा ३५/३६ वर्षका युवाहरूले देश चलाइरहेका छन् । हाम्रोमा भने ३५/३६ वर्षको युवा आलोकाँचो र ७०/७५ वर्षका वृद्धहरू युवा हुन्छन् । उनीहरूले नै देश हाँकिरहेका छन् ।
भर्खरै मात्र नेकपा एमाले, राप्रपा, नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको महाधिवेशन सम्पन्न भयो । पार्टीको शीर्ष पदमा राप्रपाबाहेक अन्य दलहरूमा पुराना नेताहरू नै दोहोरिए । या भनौँ, कार्यकर्ताहरूले पुरानै अनुहार हेर्न रुचाए । समय आएको बेलामा हामी आफूले पनि सक्षम नेतृत्व चयन गर्नुपर्ने हुन्छ । आफ्नो अधिकारको सही सदुपयोग गर्नुपर्ने हुन्छ । अहिलेको परिपेक्षमा कसैले पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने सोच बनाएका छैनन् । चाहे त्यो पार्टीको राजनीतिमा होस् वा सरकारमा । यी कुनै पनि नेतासँग अवकाशको योजना छैन ।
अहिले नेपाली राजनीतिमा नयाँ पुस्ताका नेताले आफ्ना बूढा नेताहरूविरुद्ध आवाज उठाउने हिम्मत गर्दैनन्, न त उनीहरू नेतृत्व हत्याउने खालको सङ्घर्ष नै गरिरहेका छन् ।
नयाँ पुस्ताका नेताहरू एकजुट हुँदैनन्, आपसमा अविश्वास छ र विभाजन पनि यति उच्च तहमा छ कि त्यसैलाई वरिष्ठ नेताहरूले आफ्नो फाइदाका लागि उपयोग गरिरहेका छन् ।
अर्को कुरा हामी जनताले पनि प्रत्यक्ष/अप्रत्यक्ष रूपमा नेताहरूलाई गलत बाटोमा हिँड्न प्रेरित गरिरहेकै छौँ । उनीहरूले गरेका गलत कार्यहरूलाई हामी ढाकछोप गर्नतर्फ लाग्छौँ । साइबर सेना, साइबर मञ्चलगायत बनाएर एक अर्काको खेदो खन्नतर्फ लाग्छौँ । त्यो पार्टीको नेताको इज्जत कसरी लिलामी गर्न सकिन्छ भनेर सोच्नतर्फ लाग्छौंँ । उनीहरूले गरेको गलत कार्यलाई वाहीवाही गरेपछि उनीहरूलाई पनि गलत कार्य गर्न प्रेरणा मिल्छ र गरिरहन्छन् ।
अब नेताहरूले आफ्नो स्वमूल्याङन गर्नुपर्छ । आजसम्म भएका गरेका गलत काम र तिनका परिणामबाट पाठ सिकी इमानदार, देश र जनताप्रति उत्तरदायी हुँदै घमण्डी, झगडालु र वृद्ध नेतालाई ससम्मान राखेर युवा र मिलनसारलाई अघि सारेर चुनावसम्म जानू पर्छ । र हामी जनताले पनि हाम्रो दुःख सुखमा साथ दिने नेतालाई चुन्नु पर्छ ।
हामी आज पनि राम्रालाई भन्दा हाम्रालाई जिम्मेवार निकायमा पुर्याउने गर्छौँ , जसले गर्दा हामी यस्तो घिनलाग्दो राजनीतिक अवस्थामा गुज्रिरहनु परेको कटु यथार्थता छ, प्रधानमन्त्रीको लागि लामो समयदेखि नै अङ्कगणितमय खेल भइरहेको छ । नेता तथा दलले भ्रष्टाचार गर्नुहुँदैन । विकास निर्माणका कार्यमा जोड दिनुपर्छ । गल्ती गर्नेलाई हदैसम्मको कारबाही गर्नुपर्छ । के हामीले इमानदारिता, निडरता, आदर्शता, वास्तविकता, र बौद्धिकता भएको व्यक्तिलाई चुनेर नेतृत्वमा पठाएका छौँ ? यो पनि एक सोचनीय विषय बनेको छ ।
अतः नेताले पनि जनताको मतको कदर गर्नु पर्छ । आफू अभिभावक भएर जनताहरूको हकहितको लागि कार्य गर्नु पर्दछ । गलत कार्य गर्ने नेता तथा कार्यकर्ताको बचाउमा उत्रनुभन्दा सत्य तथ्य छानबिन गरेर कडाभन्दा कडा कारबाही गर्नुपर्छ । सबैभन्दा पहिलो प्राथमिकता जनतालाई दिँदै उनीहरूको अभिभावकत्व ग्रहण गर्नुपर्छ जसले गर्दा नेता र जनताबीच समन्वय हुन्छ र नेताले गाली खानु पर्दैन ।