नेपाली कांग्रेसको महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । बिहीबार बिहान १० बजेदेखि मतगणना प्रारम्भ गरिएको हो ।
बिहान ९ बजेदेखि नै मतगणना सुरु गर्ने भनिए पनि एक घण्टा ढिला सुरु भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए । समितिका अनुसार कुनै प्राविधिक समस्या नआए महामन्त्रीको अन्तिम नतिजा तीनदेखि चार घण्टामा सार्वजनिक हुनेछ ।
मतगणनाका लागि मतपेटिकाबाट मत खसाइएको र केही समयभित्रै मत परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिले जानकारी दिएको छ ।
कांग्रेसको दुई महामन्त्रीका लागि ६ जना उम्मेदवार छन् । जसमा गगन थापा, विश्वप्रकाश शर्मा, डा.प्रकाशशरण महत, डा.मिनेन्द्र रिजाल, प्रदीप पौडेल र डा.राजाराम कार्की छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।
निर्वाचनको मतगणना बिहान १० बजेदेखि पार्टी कार्यालय सानेपामा सुरू भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् ।
सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसकेका छन् ।
सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । यसैगरी दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।