प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका छन् । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उनी विजयी भएका हुन् । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हुन् ।
सभापति देउवा प्रतिस्पर्धी डा शेखर कोइरालालाई ८७८ मतान्तरले पाराजित गर्दै विजयी भएका हुन् । मङ्गलबार राति सम्पन्न मतगणनामा जम्मा खसेको मत ४ हजार ६२३ मा देउवाले २ हजार ७३३ मत प्राप्त गरेका छन्भ ने डा कोइरालाले १ हजार ८५५ मत प्राप्त गरेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जम्मा ३५ मत बदर भएको थियो ।
दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको थियो । मतदानमा कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५७४ ले मतदान गरेका थिए । सोमबार भएको निर्वाचनमा सभापति पदका पाँच जना प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति देउवा र नेता डा शेखर कोइरालाबीच मङ्गलबार पुनः मतदान भएको हो ।
* यसअगाडि अन्तिम मतपरिणाम अन्यथा भएकाले सच्चाइएको छ ।