नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फर्ता लिनका लागि आइतबार विहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ ।
कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । आइतबार सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ । सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ ।
राष्ट्रियसभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डप गरि तीन स्थानमा मतदानको व्यवस्था मिलाइने जनाइएको छ । मतदान मतपत्र मार्फत गर्नु पर्ने छ । विद्युतीय मतदानको व्यवस्था गर्ने भनिएको भए पनि हुन नसकेको कांग्रेसले जनाएको छ । मतदानका लागि एक जनालाई ४५ मिनेट भन्दा बढी समय लाग्ने अनुमान गरिएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको १ सय ३४ पदका लागि ५४८ जना उम्मेदवार मैदानमा रहेका छन् ।महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ७४३ रहेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधी, डा. शेखर कोइराला, कल्याण गुरुङ र युवराज न्यौपानेको उम्मेदवारी परेको छ । उपसभापतिमा विजयकुमार गच्छदार, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी साह र पूर्णबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् । यसैगरी महामन्त्रीमा डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा. राजाराम कार्कीको उम्मेदवारी परेको छ ।
सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, सुरेन्द्र चौधरी, शेख वकिल, देवराज चालिसे, किशोरसिंह राठौर, रञ्जीत कर्ण, जीवन परियार, रामकृष्ण यादव, जीवनबहादुर शाही, विकास लामा, कमला पन्त, तेजुलाल चौधरी, भीष्मराज आङदाङवे, चेतनाराज बजाल, उमाकान्त चौधरी, गङ्गा सुनार, महेन्द्र यादव र डिना उपाध्यायले उम्मेदवारी मनोनयन गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै केन्द्रीय सदस्यतर्फ पिछडिएका समूहबाट दुई, अपाङ्ग कोटामा १७, अल्पसङ्ख्यकमा ६, मुस्लिम कोटामा १६, थारु समुदायबाट १४, मधेशीमा ३२, दलित ३९, महिला ३१, खसआर्यतर्फ ८३ जना, आदिवासी जनजाति क्लष्टरबाट ८७ जना र खुलातर्फ ११० जनाको उम्मेदवारी परेको छ ।
यसैगरी प्रदेश १ बाट १३, प्रदेश २ बाट पाँच, लुम्बिनी प्रदेशका लागि ११, गण्डकीका लागि ६, कर्णालीका लागि छ, सुदूरपश्चिम प्रदेशका लागि १२, वाग्मतीका लागि नौ जनाले उम्मेदवारी मनोनयन गराएका छन् ।
निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभागृहबाट भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो । यसअघि शुक्रबार भृकुटीमण्डपमा भव्य समारोहका बीच महाधिवेशनको उद्घाटन भएको थियो ।