नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारीसहित १३४ पदको लागि ५४८ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
सभापतिको पदको लागि ६ जनाको उम्मेदवारी परेको छ । सभापतिमा अहिलेका सभापति शेर बहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै २ उपसभापतिको लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला, महेश आचार्य र दिवेश्वरी शाह गरी ७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
२ महामन्त्री पदको लागि ६ जनाको उम्मेदवारी परेको छ । महामन्त्रीमा उम्मेदवारी दिनेमा विश्वप्रकाश शर्मा , गगनकुमार थापा, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, प्रदीप पौडेल र डा. राजाराम कार्की छन् ।
८ सहमहामन्त्री पदको लागि २० जनाको उम्मेदवारी परेको छ ।
थारू कलस्टरबाट निर्वाचित हुने दुई महिलासहित चार सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको छ भने खुलातर्फबाट निर्वाचित हुने ३५ जनाका लागि १०९जनाको उम्मेदवारी परेको छ ।
मधेशी कलस्टरबाट निर्वाचित हुने चार महिलासहित नौ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ ।
सात महिलासहित १५ जनाको कोटा रहेको आदिवासी जनजाति कलस्टरमा ८७ जनाको उम्मेदवारी परेको छ भने ६ महिलासहित १३ जनाको कोटा रहेको खसआर्य कलस्टरमा ९३ जनाको उम्मेदवारी परेको छ ।
चार महिलासहित नौ दलित सदस्यका लागि ३९ जना, खुलातर्फ नौ महिला कोटाका लागि ३१ र एक पिछडिएको क्षेत्रका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
अपांगता भएका व्यक्तिको एक जनाको कोटामा १६ जनाको उम्मेदवारी परेको छ भने एक जनाकै कोटा रहेको अल्पसंख्यकमा ६ जना र एक महिलासहित तीन जनाको कोटा रहेको मुस्लिम कलस्टरबाट १६ जनाकाृे उम्मेदवारी परेको छ ।
भौगोलिक क्षेत्रबाट सात प्रदेशबाट महिलासहित २१ जनाको प्रतिनिधित्व हुनुपर्नेमा प्रदेश १ बाट १३ जना, प्रदेश २ बाट पाँच जना, बाग्मती प्रदेशबाट नौ जना, गण्डकीबाट सात जना, लुम्बिनीबाट ११ जना, कर्णालीबाट सात जना र सुदूरपश्चिम प्रदेशबाट १२ जनाको उम्मेदवारी परेको छ ।