नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल चितवन आइपुगेका छन् । १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा आइपुगेका हुन् । रावल स्थलमार्ग अर्थात् सडकमार्गबाट महाधिवेशनस्थल आइपुगेका हुन् ।
वर्तमान अध्यक्ष केपी शर्मा ओली भने सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्टसहित जहाजबाट उडेर चितवन आएका थिए । ओली जहाजबाट भरतपुर ओर्लिँदा भीम रावल सडकको जाम छिचोल्दै कार्यकर्ताका साथ चितवन आइपुगेका हुन् । एमालेको १० औं महाधिवेशनमा सहभागी हुन देशभरबाट नेता कार्यकर्ता चितवन आउने क्रम जारी छ । नेकपा एमालले ५ लाख भन्दा बढी कार्यकर्ता चितवन उतार्ने बताएको छ ।
चितवनको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्द सत्र हुने चितवनको महाधिवेशनलाई लक्षित गरी हुन सक्ने सवारी चापलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम) बसेको अन्तर जिल्ला समन्वय समितिको बैठकको निर्णयानुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित राष्ट्रिय लोकमार्ग भएर पूर्व जाने र पूर्वबाट पश्चिम आउने मालवाहक र खाली ट्रक, ट्रिपर लगायत अन्य हेभी सवारी साधनहरूलाई बिहीबार साँझ ६ बजेदेखि शुक्रबार मध्यराति १२ बजेसम्म आवतजावतमा रोक लगाइएको हो ।