राजनीति नेताको सफलता मापनको आधार जस्ता सुकै काम गरेर पनि सत्ता र शक्ति आर्जन हो त ? अहिले नेपाली राजनीतिमा यो एउटा ज्वलन्त प्रश्नका रूपमा खडा भएको छ ।
खासगरि नेपाली समाजमा नै अहिले जस्तासुकै तिकडम गरेर भए पनि सत्ता र शक्ति आर्जन गर्नुलाई राजनीतिमा सफलता मापन गर्ने आधार बन्दै गएको छ । विचार, सिद्धान्त र इमानदारिता र निष्ठालाई आधार मानेर राजनीति नेताको सफलता मापन गर्न छोडिएको छ । त्यसैले पटक पटक असफलहरूले नै शक्ति र सत्ता आर्जन गर्ने गरेका छन् । त्यही कारणले मुलुक पनि असफलता तर्फ जान थालेको छ ।
लौह पुरुष गणेशमान सिंह न काँग्रेसको सभापति बने न त प्रधानमन्त्री । अहिलेको राजनीति मापन गर्ने आधारले गणेशमान सिंह असफल राजनेता हो । तर के गणेशमान सिंह असफल राजनेता हो त ? होइन, उहाँलाई नेपाली जनताले सर्वमान्य नेताको उपमा दिएका छन् । अन्तर्राष्ट्रिय छवि पनि गणेशमानको विश्वका धेरै नेताको भन्दा कम छैन । त्यसैले राजनीति नेताको सफलता मापनको आधार सत्ता र शक्ति आर्जनलाई मात्र मान्न सकिन्न ।
अहिले पनि नेपाली काँग्रेसमा सत्ता र शक्ति आर्जन विना नै सफल नेता मान्ने हो भने रामचन्द्र पौडेल नै हो । नैतिकता, इमानदारिता, निष्ठामा रामचन्द्र पौडेलले कहिल्यै सम्झौता गर्नुभएन । उहाँले पनि सत्ता र शक्ति प्राप्तिका लागि हुने तिकडममा सामेल भएको भए त्यो ठाउँ आर्जन गर्नुहुन्थ्यो होला तर त्यो तर्फ सोचाई नै भएन उहाँको । त्यसैले त उहाँसँग सत्ता र शक्तिमा पुग्नेहरूका असफलता बारेमा प्रश्न उठाउन नैतिक हैसियत छ । पौडेल स्थानीय विकास मन्त्रीदेखि पछिल्लो पटक शान्तिमन्त्री हुँदा समेत असफल भएनन् । उनका कारणले पार्टी कहीँ कतै कमजोर पनि भएको छैन ।
२०४८ सालको आम निर्वाचनपछि बनेको सरकारमा पौडेल स्थानीय विकास मन्त्री हुनुभयो । उहाँ स्थानीय विकास मन्त्री भएका बेलामा भएको स्थानीय चुनावमा काँग्रेसलाई स्थानीय चुनावमा सर्वशक्तिमान् बनाउनुभयो । २०४९ सालमा भएको स्थानीय चुनावमा काँग्रेस दुईतिहाई भन्दाबढि स्थानीय निकायमा जीत हात पारेको थियो । पौडेल स्थानीय विकास मन्त्री भएका बेलामा ल्याएका ग्रामीण स्वावलम्बन कार्यक्रम अन्तरगत नै गाउँ गाउँमा बाटो, बिजुली, अस्पताल स्कुल बनेका हुन् । पौडेलले अगाडि सारेको ग्रामीण स्वबलम्बन कार्यक्रम जस्ताको त्यस्तै कार्यान्वयनमा आएको भए, एमालेले २०५१ सालपछि बनेको एमालेको सरकारले आफ्नो गाउँ आफै बनाऊ भन्ने कार्यक्रम ल्याउने अवस्था नै रहँदैनथ्यो ।
पौडेलले स्थानीय विकास मन्त्री भएका बेलामा अगाडि सारेको ग्रामीण स्वबलम्बन कार्यक्रमलाई प्रधानमन्त्रीले वीपी कोइरालाको जन्म जयन्तीको दिनमा रेडियो नेपालमार्फत देशवासीका नाममा सम्बोधन गर्ने तयारी थियो । तर वीपी जयन्तीका बेलामा त्यो देशवासीका नाममा नभई प्रधानमन्त्रीका नाममा विज्ञप्ति जारी भयो । त्यसमा गाउँलाई शक्तिशाली बनाउने, गाउँको विकास गर्ने र सामाजिक सुरक्षाका विषयहरूलाई विज्ञप्तिमा गायब बनाइयो । जसका कारणले ग्रामीण स्वबलम्बन कार्यक्रम लङ्गडो बन्यो ।
त्यसैगरि २०५१ सालको आम निर्वाचनपछि काँग्रेस संसद्मा दोस्रो पार्टी बन्यो । संयोगले प्रतिनिधिसभाको सभामुख रामचन्द्र पौडेल हुनुभयो । काँग्रेसको इज्जत जोगाउनका लागि रामचन्द्र पौडेलले सभामुखको आसनबाट जुन भूमिका देखाउनुभयो । त्यसले संसद्को गरिमा र काँग्रेसको भूमिका बढाएकै थियो । पौडेलले विकास क्रममा रहेको संसदीय व्यवस्थालाई व्यवस्थित बनाउने र संवैधानिक पदमा बसेर दोस्रो पार्टी भएर कमजोर भएको काँग्रेसको भूमिका बढाउने काम गर्नुभयो ।
बरु २०६४ को चुनावपछि पौडेल संसदीय दलको नेता भएका बेलामा काँग्रेस देखिने सुनिनेमा पर्दथ्यो । त्यो बेला पनि काँग्रेस कमजोर थियो । संसद्मा सदस्य थोरै थिए । तर काँग्रेस देखिन्थ्यो सुनिन्थ्यो । पौडेल संसदीय दलको नेता भएको अवस्थामा भरखरै शान्ति प्रक्रियाबाट संसदीय राजनीतिमा प्रवेश गरेको माओवादीलाई साइजमा ल्याउन तर्कपूर्ण रूपमा काँग्रेस संसद्मा प्रस्तुत हुने गरेको थियो । त्यो बेलामा शान्ति प्रक्रियाका कतिपय बाँकी काम सम्पन्न गर्न पनि काँग्रेसले माओवादीलाई साइजमा ल्याएको थियो ।
समग्रमा भन्दा काँग्रेस संसद्मा त्यो बेला सुनिन्थ्यो, देखिन्थ्यो अनि अरू कसैको हैन काँग्रेसकै आवाज बोलिन्थ्यो । २०७४ सालको चुनावपछि जस्तै चुनाव हारेर थलिएको काँग्रेसलाई पौडेलले संसदीय दल मार्फत चाँडै ब्युँताउनु भएको थियो । तर २०७४ सालमा चुनाव हारेर मुर्छित बनेको काँग्रेसलाई सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले अर्धचेतको बनाइरहे । काँग्रेसलाई सत्ताको सहयोगी भएको आरोप लाग्दै आयो । सरकारका नीति तथा कार्यक्रममा समेत काँग्रेसले समर्थन गर्यो । के आम काँग्रेसजनले यसैलाई काँग्रेसको सफलता मान्छन् त ? यसरी काँग्रेस मुर्छित बनेको बेलामा तनहुँमा पुल उद्घाटनमा केपी ओलीको दुई तिहाइलाई चुनौती दिन फेरि रामचन्द्र पौडेल नै अगाडि आउनुपर्यो । पौडेलले तनहुँमा पुल उद्घाटन गर्ने क्रममा पौडेललाई ओली सरकारले गिरफ्तार गर्यो । काँग्रेस निन्द्राबाट बिउँझिने क्रम यहीबाट सुरु भयो । देशैभरका काँग्रेस सडकमा आए । यसलाई पनि असफलता भन्न मिन्छ र ।
सत्ताको सहयोगीको आरोप खेप्दै आएको काँग्रेसलाई केपी ओलीको संसद् विघटन गर्ने प्रतिगामी कदमको सहयोगी बन्नबाट रोक्नु पनि असफलता हो र ? ओलीले पुस ५ गते संसद् विघटन गर्दा संसद् पुनः स्थापना भन्न नसक्ने काँग्रेसलाई रामचन्द्र पौडेलले ओलीको सो कदमको विरोधमा लतारेर सडकमा उतार्नुभएको हो । पार्टी सभापति शेरबहादुर देउवालाई यही जगमा प्रधानमन्त्री पदमा आसिन बन्नुभयो ।
पौडेल पार्टीको उपसभापति र नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक भएको अवस्थामा काँग्रेस देशभर पुगेको थियो । रामचन्द्र पौडेल उपसभापति र नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक भएका बेलामा कहिले वीपी विचार यात्रा, गणेशमान बलिदानी अभियान सञ्चालन गरेर माओवादी द्वन्द्वकाल देखि निरीह बन्दै २०६४ सालमा चुनाव हारेपछि निराश बनेका काँग्रेस कार्यकर्तामा ऊर्जा भरिएको थियो । यसैको जगमा काँग्रेस २०७० सालको आम निर्वाचनमा पहिलो पार्टी बन्यो ।
अर्को महत्पूर्ण जिम्मेवारी जहाँ रामचन्द्र पौडेल पूर्ण रूपमा सफल हुनुभएको छ । त्यो भनेको पछिल्लो पटक शान्तिमन्त्री हुँदा पौडेलको भूमिका हो । पौडेलकै भूमिकाका कारण मुलुकमा संसदीय व्यवस्था बलियो भयो । माओवादीसँग शान्ति वार्ता सम्भव भयो । विस्तृत शान्ति सम्झौता सम्भव भयो । अनि संविधानसभाको चुनाव पनि सम्भव भयो । आदिवासी जनजाति, मधेसी लगायतका धेरै समूहसँग वार्ता सम्भव भयो । यी सबै कामलाई सफलता भन्ने कि असफलता ?
यति मात्र होइन लामो र अथक राजनीतिक सक्रियता रामचन्द्र पौडेलको प्रमुख पुँजी हो । ०१७ सालपछिका हरेक राजनीतिक सङ्घर्षहरूमा उहाँ संलग्न रहनुभयो । र पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक बहन गर्नुभयो । कहिल्यै पनि आफ्नो निष्ठा आदर्शलाई बन्धक बनाउनुभएन । अनि आफ्नो स्वार्थका लागि पार्टीलाई कहिल्यै प्रयोग गर्नुभएन । काँग्रेसभित्र नीतिगत–वैचारिक चिन्तन गर्न सक्ने नेताका रूपमा रामचन्द्र पौडेललाई नै लिइन्छन् । विषेशगरि वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादका व्याख्याता रामचन्द्र पौडेल हुनुहुन्छ । उहाँले वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई व्यवहारमा समेत लागू गर्नुभएको छ । पटक–पटक मन्त्री हुँदा उहाँ कुनै गम्भीर विवादमा मुछिनुभएन । भ्रष्टाचारमा नमुछिएका इमानदार र निष्कलङ्क छवि भएका नेताका रूपमा उहाँ चिनिनुहुन्छ । पार्टीभित्र च्याउझैँ गुट र उपगुट जन्मिँदा पनि रामचन्द्रले आफ्नै गुट बनाउन कहिल्यै लाग्नुभएन ।
कतिपयले यसलाई उहाँको कमजोरीका रूपमा लिन्छन् । तर, पार्टी राजनीति स्वस्थ हुनुपर्छ भन्ने मान्यता राख्नेहरूका लागि गुटबाट टाढा रहनु सकारात्मक कुरा हो । गुटहरूबिचको विवादमा पौडेलको भूमिका समन्वयकारी देखिने गरेको छ । राष्ट्रिय राजनीतिमा पनि रामचन्द्रको बलियो उपस्थिति छ । अन्तर पार्टी वार्तालापमा काँग्रेसको आधिकारिक लाइनको वकालत गर्न उहाँ नै प्रायः अघि सर्नुहुन्छ । त्यो नैतिक साहस पौडेलसँग मात्रै छ ।
यो लेखकको निजी बिचार हो । सम्पादक