वितेको २४ घण्टामा देशका विभिन्न जिल्लामा कोरोना भाइरसको सङ्क्रमणबाट २३ जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार देशभर १३ हजार ८११ जनाको नमूना परीक्षण गर्दा थप ३ हजार १२५ जनामा सङ्क्रमण देखिएको छ ।
आज १० हजार ६१९ पिसिआर परीक्षणबाट २ हजार २७९ र ३ हजार १९८ एण्टिजेन परीक्षणबाट ८४६ जनामा सङ्क्रमण पुष्टि भएको हो । अहिलेसम्म ७ लाख ६२ हजार ४३२ जनामा सङ्क्रमण देखिएकोमा ६ लाख ५८ हजार १२२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना सङ्क्रमणमुक्त भएका हुन् ।
आजसहित कोरोनाबाट निधनहुनेको सङ्ख्या ९ हजार ८९८ पुगेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ हजार ६२९ रहेको छ जसमध्ये २८ हजार ४०५ जना होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेका ३ हजार २२४ सङ्क्रमितमध्ये गम्भिर अवस्थाका ६९० जनालाई आइसीयू र १७५ जनाको भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक लाख ८१ हजार २५ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । नेपालमा अहिलेसम्म २० लाख दुई सय ११ जनाले दुइ वटै मात्रा र ४१ लाख ६३ हजार दुई सय ५१ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।