दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमण घट्दै गइरहेको समयमा पछिल्ला केही दिनहरुमा सङ्क्रमणको दर बढ्न थालेको छ ।
नेपालमा अहिलेसम्म परीक्षण गरिएकामध्ये औषतमा २० प्रतिशतमा कोरोना भाइरसको सङ्क्रमण देखिँदै आएकोमा आज २२ दशमलव २६ प्रतिशतमा सङ्क्रमण देखिएको छ ।
मन्त्रालयले मङ्गलबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार देशभरका विभिन्न जिल्लाहरुमा १७ हजार ५१८ जनाको नमूना परीक्षण गर्दा ३ हजार ८९९ जनामा सङ्क्रमण देखिएको छ ।
यो सङ्ख्या डेढ महिनायताकै बढी हो । आज १२ हजार ६५५ पिसिआर परीक्षणबाट २ हजार ७२६ र ४ हजार ८६३ एण्टिजेन परीक्षणबाट १ हजार १७३ जनामा सङ्क्रमण पाइएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।
यही अवधिमा १ हजार ७७८ जनामा सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ४७ हजार ७९ पुगेको छ भने थप २० जनाको निधन भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ७५८ पुगेको छ ।
अहिले देशभर २८ हजार ८३६ सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये ८० प्रतिशतभन्दा बढी होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।