लामो समयको अन्तराल पछि बल्लतल्ल परीक्षाको मिति तोकिएको छ । लाखौँ विद्यार्थीहरूले राहतको सास फेरेको हामी सामाजिक सञ्जालहरूमा सजिलै देख्न सक्छौँ । २०७६ भदौमा स्नातक प्रथम वर्षमा भर्ना भई २०७८ साउन १० देखि परीक्षा सुचारु हुन लाग्नु आफैँमा ढिलासुस्तीको पराकाष्ठा हो । ढिलासुस्ती हुनुमा विविध कारणहरू छदै छन् जस मध्ये सबैभन्दा पहिलो नम्बरमा कोरोना आउँछ भने त्यस पछि क्रमशः विद्यार्थी सङ्गठनको कमजोरी र त्रिभुवन विश्वविद्यालयको लापरबाही आउलान् । खैर जे होस् कारण त्यसमा अब अलमलिनु भनेको भूतकालमा प्रवेश गरेर त्यसलाई परिवर्तन गर्न सक्छु भन्ने बेतुकको तर्क प्रस्तुत गर्नु मात्र हो । भूतलाई भूतमै रहन दिऊँ भूतप्रति चिन्तित हुनु समयको बरबादी सिवाय केही हुँदैन । भूतबाट पाठ सिक्दै बर्तमानमा भूतमा भन्दा राम्रो कर्म गरेर उज्ज्वल भविष्यको कल्पना गर्नु नै युक्तिसंगत हुन्छ ।
लामो समयपछि परीक्षा तोकिदा नि हाम्रा केही साथीहरू (हाल स्नातक प्रथम वर्षमा अध्ययनरत) लाई केही मात्रामा असहज अनुभूति भएको कुरा म हरेक दिन सामाजिक सञ्जालहरूमा देखिरहेको छु । साथीहरूलाई सम्बोधन गरेर पटक पटक लेख लेख्न कोसिस नि गरे तर सकिन । मेरो कलमले मैले भनेको टेर्दै टेरेन । म उसलाई कापीमा दौडी भन्छु उ भने घस्रन नि मानेन । साथीहरूको अनुभूति देखेर म केही दिन चकित परे, केही दिन तर्कहरूको सिलसिला नि हेरे तर मलाई किन किन ती सबै तर्कहरू अनुभूति भन्दा पनि ज्यादा परीक्षासँगको डर जस्तो मात्र लाग्यो । हुन त मानिसले एक बिन्दुमा उभिएर पर्वत हेर्दा पर्वतको एक पाटो मात्र देख्छ रे ।
परीक्षा महामारी र बर्खाको बिचमा तोकिएको छ यो सहज समय त पक्कै हैन तर हामीलाई निकास पनि त चाहिएको छ । कि छैन ? आफैँ भन्नू त साथीहरू । एउटै कक्षामा कति वर्ष पढ्ने ? एउटै पुस्तक कति पटक पढ्ने ? हाम्रा मुख्य समस्यामा हाम्रो स्वास्थ्यको कुरा अगाडि आउँछ । विश्वविद्यालयले हाम्रो स्वास्थ्यको ख्याल गर्दै मास्क र स्यानिटाइजरको व्यवस्था गर्नुपर्छ । विश्वविद्यालयले व्यवस्था गर्ने प्रतिबद्धता नि गरेको छ । मास्क र स्यानिटाइजरको कुरा आएपछि कुरा सामाजिक दुरीमा अड्येला । अब हामी विश्वविद्यालय तहका विद्यार्थी हौँ दुरी कायम गर्नु, साथीभाइसँग परैबाट हेल्लो-हाई गर्नु यी सब हाम्रो जिम्मेवारीमा पर्छन् ।
साथीहरूको अर्को गुनासो गाउँमा गएको मान्छे कसरी क्याम्पस फिर्ने भन्ने हो । गाउँमा रहनुभएका धेरै हाम्रा साथीहरू क्याम्पस फिर्नु भएको छ । फिर्न नसक्नेका लागि पनि आफै आफूलाई पायक पर्ने स्थानमा परीक्षा केन्द्र रोज्ने सुविधा पाउनु भएको छ । विश्वविद्यालयको यति जिम्मेवारी बहन गरेर सुविधा समेत दिएको भए विद्यार्थी किन आन्दोलित हुनुपर्थ्यो भन्ने सबैलाई लाग्न सक्छ तर सत्य यहीँ हो विश्वविद्यालयले आफ्नो जिम्मेवारी वहन गर्ने प्रतिबद्धता गरिसकेको छ र सुविधा पनि दिएको छ ।
हामी परीक्षा दिन सक्दैनौ हाम्रो घरमा गाउँमा छ भन्दै हडताल र आन्दोलन गर्ने अधिकतम साथी सहर बजारकै हुनुहुन्छ । गाउँका साथीभाइले त त्रिवि अगाडि कसरी हडताल गर्नु र । उहाँहरू नै सबैभन्दा सुगम ठाउँमा हुनुहुन्छ, सबै सेवा सुविधा उपभोग गर्दै परीक्षासँग भाग्न खोज्नु, परीक्षाको विरोध गर्नु परीक्षासँग डराउनु हैन र ? परीक्षा गर्छु भन्ने विश्वविद्यालयसँग आक्रोश व्यक्त गर्नु कत्तिको युक्तिसंगत होला ?
परीक्षाको विरोध गर्ने काम सामाजिक सञ्जालमा मात्र सीमित हुँदो हो त म यो लेख लेख्ने नै थिइन होला । तर परीक्षा दिँदा कोरोना लाग्छ भन्दै सडकमा विद्यार्थी जानू कत्तिको व्यवहारिक हो ? आन्दोलन गर्दा चाहिँ कोरोना नलाग्ने हो र ? विश्वविद्यालय घेर्दा, ताला लगाउँदा नलाग्ने कोरोनाले परीक्षा दिँदा चाहिँ लागि हाल्छ र ? साथीहरू आज आफैलाई प्रश्न गरौँ म निहुँ खोज्दै छु कि निकास भनेर ।
केही आन्दोलित साथीहरूलाई लागेको होला परीक्षा नहुँदा हाम्रो उज्ज्वल भविष्य हुन्छ भनेर तर एक विद्यार्थीले परीक्षा नदी उज्ज्वल भविष्यको कल्पना गर्नु भनेको एक मूर्तिकारले ढुङ्गामा छिनो नहानी संसार कै अदभूत मूर्ति बनाउँछु भनेर सपना देख्नु सरह हुनेछ ।
म अनुरोध गर्दछु साथीहरू हामीले लामो समयको बरबादी पछि बल्लबल्ल परीक्षाको मिति पाएका छौँ । आफ्नो समयको बरबादीलाई न्याय नै गर्न नसक्ने भए पनि एक किसिमले निकासको बाटो पाएका छौँ । महामारीको यस्तो असहज अवस्थामा नै भए नि हामीले केही जिम्मेवारी पाएका छौँ । के हामी यति सम्म कमजोर छौँ होला र ? आफूलाई आएको जिम्मेवारीलाई नै सतर्कतापूर्वक बहन गर्न नसक्ने ? हिजो परीक्षाको टुङ्गो नहुँदा हामीले जुन गतिमा परीक्षाको माग गरेका थिएनौँ आज परीक्षाको टुङ्गो हुँदा हामी किन परीक्षाको विरोधमा उत्रेका छौँ ? यदि विरोध हामीले गरेका हैनौँ भने हाम्रो नामको गलत प्रयोग गर्ने अनुशासनहीन अराजक समूहको विरुद्धमा हामी किन उभिएका छैनौँ ? के साँच्चै आफ्नो भविष्यप्रति चिन्तित युवाको सोचले निकास नै खोज्दैन त ? आज हाम्रो शिरमा हामीले निकास खोजेको कि निहुँ भन्ने ठुलो प्रश्न चिह्न झुन्डिएको छ । के हामीले नै यो प्रश्न चिह्न झुन्डाएका हौँ त ? यदि हौँ भने हामीले यतिका वर्ष पढेका ज्ञान र विवेक हामीलाई हेर्दै कति हाँसिरहेको होला अन्दाज लगाऊँ त ।
साथीहरू समस्या मात्र देखाउने, विरोध मात्र गर्ने चेतनाले कहिल्यै हामीलाई सफलताको बाटोमा पुर्याउन सक्दैन । त्यसैले समस्याको बिचमा पनि पुर्णतयारीको साथ परीक्षा दिएर समाधानको सुनौलो इतिहास लेख्न हामी किन पछि हट्ने ? मेरा प्यारा मित्रहरू आउनुहोस् सबै सँगै मिलेर परीक्षाको तयारी गरौँ र समस्या मात्र देखिरहेको विश्व परिस्थितिलाई समाधानका बाटा देखाउँदै हामीले नै देखाएको बाटामा हिँड्न प्रेरणा दिम् । मेरा प्यारा मित्रहरू आउनुहोस् परीक्षाको भव्य तयारी गर्दै भव्य स्वागत गरौँ । लामो समय पछि लाखौँ विद्यार्थीले एकै पटक परीक्षा दिएर विश्वकै सबैभन्दा चेतनशील र संयम भएको प्रमाणित गरौँ ।
ढकाल हाल मेची बहुमुखी क्याम्पस झापामा अध्ययनरत छन् ।