प्रतिनिधि सभा विघटन र नयाँ प्रधानमन्त्री नियुक्ति सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला दिएसँगै माइतीघरमा खुसीयाली मनाइएको छ ।
नेपाल विद्यार्थी सङ्घको अगुवाइमा काठमाडौँको माइतीघरमा सर्वोच्च को फैसला को स्वागत गर्दै दीप प्रज्वलन गरेको हो ।
सर्वोच्चले मिति र समय नै तोकेर आजका मितिले २ (दुई) दिनभित्र (अर्थात् २०७८ साल असार २९ गते मङ्गलवार अपराह्न ५ बजेभित्र) संविधानसम्मत रूपमा देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न र संविधानको धारा ७६ को उपधारा (६) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रक्रिया पुरा गर्ने गराउनु भनी राष्ट्रपतिको कार्यालय तथा सङ्घीय संसद्को पुनर्स्थापित प्रतिनिधि सभाका नाउँमा परमादेश जारी गरेको हो ।
सर्वोच्चको फैसलासँगै नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा नेपालको संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री हुनेछन्।
देउवाको सरकारले प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिन भित्रमा संसद्मा विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिन नसके यो सरकारले प्रतिनिधि सभा विघटन गरेर निर्वाचनमा जानुपर्ने स्थिति आउनेछ।
सर्वोच्चको फैसलासँगै विपक्षी गठबन्धनको बैठक माधव कुमार नेपाल निवास कोटेश्वरमा भएको थियो । बैठकमा नेता नेपालले अब आफू गठबन्धनमा नरहने जानकारी दिएका छन् । योसँगै शेरबहादुर देउवाको अब हुने सरकारले संसद्मा विश्वासको मत लिन गाह्रो पर्ने देखिएको छ ।