आर्थिक प्रणाली राजा रजौटाहरूको हातमा रहेको सामन्ती व्यवस्थामा जातीय कार्य विभाजन र त्यसकै आधारमा भेदभाव सुरु हुन थाल्यो । सामन्ती व्यवस्थाको अन्तिम प्रतिनिधिलाई नारायणहिटीबाट खेदाएको पनि जेठ १५ गते १३ वर्ष भयो । राजनीतिक क्रान्ति र अधिकारका लडाइँहरू पूरा भए पनि भनिँदै छ । तर सयौँ वर्ष पुराना शैलीको मूल्य देशले आज पनि चुकाइरहनु परेको छ ।
आज पनि जातीय विभेद जस्तो अमानवीय कलङ्कविरुद्ध एकमत नभएर तर्क वितर्क भइरहेका छन् । अवस्था यतिसम्म डरलाग्दो छ कि विभेद अन्त्यका प्रयत्नहरूलाई निरन्तरता नदिने हो भने यो कलङ्क फेरि जकडिएर आउने खतरा छ । यही खतरालाई रोक्ने सानो प्रयत्नको लागि यो आलेख तयार पारिएको हो ।
जातीय विभेदको कारण
ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र जात बनाइयो । त्यसकै आधारमा कार्य विभाजन गरियो । ब्राह्मणले पूजापाठ र शिक्षादीक्षामा लाग्नुपर्ने, क्षेत्रीले राज्य सञ्चालन गर्नुपर्ने, वैश्यले व्यापार व्यवसाय चलाउनु पर्ने र शूद्रले अरू मानिसको सेवा गर्नुपर्ने कठोर नियमहरू लागु गरिए । शूद्रहरूलाई सामन्तहरूमाथि आश्रित गराइयो र उनीहरूलाई राज्यको नोकरीबाट पूर्ण रूपमा वञ्चित पारियो ।
जसले गर्दा शूद्रहरूले राज्यबाट बिर्ता पाउन सकेनन् र उनीहरू जमिनदार हुन सकेनन् । उल्टै कुत र पोतलगायत विभिन्न कर असुलेर उनीहरूलाई झन् गरिब र झन् सामन्तहरूमाथि आश्रित तुल्याउने कुकर्म भए । अपराधहरूमा पनि अन्य जातको तुलनामा शूद्रहरूलाई कठोर सजाय हुन थाल्यो ।
यो सयौँ वर्ष पुरानो इतिहास हो तर आज वर्तमान हेर्यो भने पनि त्यही हालत छ । हिजोका ती शासक, सामन्तहरू नै आज पनि सम्पन्न छन् । सम्पन्नहरू मात्रै शक्ति र सत्तामा पुग्ने अवस्था छ । हिजोको जस्तै आज पनि सत्ता र सत्ता वरिपरि रहेकाहरू मात्रै सम्पन्न र शक्तिशाली हुने परिपाटी हट्न सकेको छैन ।
तर शासकको बदमासीको कारण जो हिजोदेखि गरिब र प्रताडित तुल्याइए उनीहरूलाई आज पनि खाना खान, शिक्षा लिन र उपचार पाउन मुस्किल हुने त्यही राजनीतिक व्यवस्था नै कायम छ । गल्तीको सजाय पनि उनीहरूलाई मात्रै कठोर हुने गरेको छ ।
यही परिस्थितिको कारण गरिब र प्रताडितहरू समाजमा सर्वस्वीकार्य हुन नसकेको कुरा र जातीय विभेद अस्तित्वमा रहेको कुरा तीतो सत्य हो । विभिन्न क्रान्ति, युद्ध र आन्दोलनहरूले हामीलाई अगाडि त ल्याए तर सामन्तवादी समाज संरचना, संस्कृति र चेतनाबाट हामी अगाडि आउन सकेनौँ ।
यही परिस्थितिमा मान्छेहरूले हिजो सामन्तवादी व्यवस्थामा जातीय भेदभाव गरिरहेका थिए भने यही परिस्थितिमा आज त्यसको अन्त्य कसरी हुनसक्छ ? दुःखका साथ हामीले स्वीकार गर्नुपर्छ : आज पनि सहरभन्दा गाउँ, पुरुषभन्दा महिला, धनीभन्दा गरिब, क्षेत्री र बाहुनभन्दा दलित र जनजातिहरू हिजोकै जस्तो उत्पीडित र विभेदमा छन् । त्यसैले आज पनि समाजमा हिजोकै जस्तो उत्पीडन र विभेद छ ।
समाधानको प्रयास : आरक्षण प्रणाली
माओवादी आन्दोलनको बलमा ऐतिहासिक रूपले पछाडि पारिएका जाति, क्षेत्र र लिङ्गका नागरिकहरूलाई सकारात्मक विभेदमार्फत नीति निर्माणको तहमा जोड्न आरक्षण प्रणालीको व्यवस्था गरिएको छ । यसभित्र दलितले पाउँदै आएको आरक्षण विगतका जात व्यवस्थामा आधारित धर्म सत्ता र राजसत्ताले थोपरेको असमानता र जातीय उत्पीडन अन्त्यको उदेश्यउन्मुख योजना हो ।
दलितहरू प्राकृतिक वा दैविक रूपले नभई विगतका विलासी र धूर्त शासकहरूको बदमासी र पाखण्डले दलित बनाइएका हुन् । इतिहासको जुन उत्पीडनले दलितलाई पछाडि पार्यो , त्यसलाई त्यही आधारमा समाधान गर्दै मानवीय समानता कायम गर्न आरक्षण प्रणालीको परिकल्पना गरिएको हो । यसर्थ दलितले पाएको आरक्षण ऐतिहासिक उत्पीडनको क्षतिपूर्ति हो र पछाडि पारिएका मान्छेहरूको स्तरोन्नति सहित समावेशी राष्ट्र नृमानको पवित्र योजना हो । यद्यपि, यो नै सम्पूर्णता भने होइन ।
बिर्सिन नहुने कुरा के हो भने मुक्तिगामी माओवादी आन्दोलनले जनतालाई कजाएर राज गरिरहेकाहरूसँग सम्झौता गर्नुपर्ने अवस्था आएपछि केही छोड्नुपर्ने बाध्यताको परिणामस्वरूप आरक्षण प्रणाली स्थापित भएको हो । निश्चय नै यो सुधार त हो तर आरक्षण प्रणालीबाट पूर्ण मुक्ति सम्भव हुँदैन ।
पूर्ण मुक्तिको मार्ग : वैज्ञानिक समाजवाद
मार्क्सवाद वैज्ञानिक दृष्टिकोण हो । यही वैज्ञानिक दृष्टिकोण अनुसार सामाजिक–सांस्कृतिक र राजनीतिक पक्षहरू आर्थिक प्रणालीका प्रतिबिम्ब मात्रै हुन् । जातीय समस्याको सर्जक सामन्तवादी आर्थिक प्रणालीमा जस्तै मान्छेहरूको बिचमा वर्गीय खाडल रहेसम्म त्यसैको प्रतिबिम्ब सामाजिक–सांस्कृतिक पक्ष पनि सामन्तवादमा भन्दा फरक हुन सक्दैन ।
सामन्तवादमा दलितहरू सरकारी नोकरीबाट वञ्चित थिए । त्यसै कारण उनीहरूले राज्यबाट बिर्ता पाएनन् र जमिनदार हुन सकेनन् । सामन्तवादमा जस्तै आज पनि दलित भन्ने बित्तिकै भूमिहीन भन्ने पर्न थाल्यो भने विभेद अन्त्य हुन सक्दैन । आर्थिक समानता बिना अन्य समानताको चाहना कोरा कल्पना मात्रै हो ।
जबसम्म जमिनदार र पुजीपतिहरुको अन्त्य हुन सक्दैन, जमिन र पुजी सबैको साझा हुन सक्दैन तबसम्म विभेद अन्त्य हुन सक्दैन । जबसम्म सत्ता र शक्तिको आँडमा जे पनि गर्न छुट हुने परिपाटीको अन्त्य हुँदैन । तबसम्म उत्पीडनको पनि अन्त्य हुन असम्भव छ ।
बाह्य अवस्था र भौतिक पक्ष सामन्तवादको जस्तै रहने अनि मान्छेका दिमाग र व्यवहार मात्रै फरक खोजेर मिल्दैन । जात फेर्ने कुराहरू पनि भए, आरक्षणका कुराहरू पनि छन् तर ती टालटुले उपाय मात्रै हुन् । मान्छे भएर जन्मेपछि के क्षेत्री, के बाहुन, के दलित, के जनजाति सबैले उच्च सम्मान र न्यायपूर्ण जीवन बाँच्न पाउने व्यवस्था बिना कुनै समाधान सम्भव छैन ।
वैज्ञानिक समाजवाद मात्रै त्यस्तो व्यवस्था हो । जहाँ सम्पन्न, शक्तिशाली र आरक्षणमा अटाएकाहरूले मात्रै होइन, सबैले समान जीवन जिउन सम्भव छ । सामन्तवाद र पुँजीवादले मान्छेमाथि थोपरेका असमानता, विभेद, उत्पीडन र अभावहरूबाट मुक्त हुन सम्भव छ ।
वैज्ञानिक समाजवाद मात्रै त्यस्तो व्यवस्था हो । जहाँ जात, शक्ति, सत्ता र पैसाको होइन, मानवता, श्रम, विज्ञान र विवेकको महत्त्व हुन्छ । यति हुँदा पनि कहिलेकाहीँ केही मान्छेहरूको चेतना नउठ्न सक्छ वा अलि पछाडि रहन सक्छ । त्यसको लागि निरन्तर क्रान्तिको जरुरी हुन्छ । यो सुविधा पनि वैज्ञानिक समाजवादमा मात्रै रहेको छ ।
दलित सधैँको श्रमिक जाति हो । इतिहासमा उसले जहिले मेहनत र परिश्रम गरेको छ । धूर्त र ठगहरूका हुकुमी र पाखण्डी व्यवस्थाको कारण आजसम्म कुनै पनि श्रमिकको सम्मान सम्भव भएन । जब श्रमको सम्मान हुन्छ, तब श्रमिकको सम्मान र प्रतिष्ठा पनि स्वतः बढ्छ । वैज्ञानिक समाजवाद यस्तो व्यवस्था हो, जहाँ ढाँट, छल र पाखण्डको होइन, परिश्रम र पसिनाको जीत हुन्छ । अतः ठोकेर भन्न सकिन्छ, आजसम्मका सबै विभेद र उत्पीडनको सही समाधान वैज्ञानिक समाजवादमा मात्रै सम्भव छ ।
निष्कर्ष
मानवीय मस्तिष्कको संरचना यति जटिल छ कि त्यो थोरै सचेत छ, थोरै अवचेतन छ र धेरै अचेत छ । जसले गर्दा उसले जानिजानी परिस्थितिको दास भइरहनुपर्छ । संसारमा भूतप्रेतको अस्तित्व नरहेको कुरा सत्य भए पनि राति एकान्तमा हुँदा भूतप्रेतको डर लागिहाल्छ ।
जातीय समस्या पनि लगभग यस्तै हो । मान्छे सबै समान हुन भन्ने आज सबैलाई थाहा छ । तर तिनै मान्छेहरू फेरि जातीय विभेदको कारक बनिरहेका छन् । यो समस्या आज बाँचेका मान्छेहरूको कमजोरीले मात्रै सिर्जना भएको होइन । यसका पछाडि हजारौँ वर्ष पुरानो सामाजिक–सांस्कृतिक र आर्थिक प्रणालीले भूमिका खेलिरहेको छ । जुन प्रणाली हाम्रो राजनीतिक प्रणालीसँगै आज पनि बाँचिरहेको छ ।
यी पुराना सामाजिक–सांस्कृतिक, राजनीतिक र आर्थिक प्रणालीको उचित विकल्पले मात्रै अहिलेको मानवीय कलंकको रूपमा रहेका कुरीति र अन्धविश्वासहरूबाट हामीलाई उज्यालो तर्फ डोर्याउन सक्छ । जुन विकल्प वैज्ञानिक समाजवाद बाहेक अरू हुनै सक्दैन । यही व्यवस्थामा समाधान खोज्न थालियो भने त्यो समस्याको निराकरण नभई ढाकछोप मात्रै हुनेछ ।
लेखक अखिल (क्रान्तिकारी) का संयोजक हुन् ।