बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुद्धिकरणको लागि आज काठमाडौँको भद्रकालीमा प्रदर्शन गरिएको छ ।
काठमाडौँको भद्रकालीमा १८-२० जना सङ्ख्यामा भेला भएका व्यक्तिहरूले ब्यानर र प्लेकार्ड सहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
उक्त प्रदर्शनमा पत्रकार तथा नागरिक अगुवा नारायण वाग्ले, बिपीमा अध्ययनरत विद्यार्थीहरू, विवेकशील साझा पार्टीका शशी विक्रम कार्की लगायतका नागरिक समाजका अगुवाहरू सामेल भएका थिए ।
प्रदर्शनमा शिल्पी थिएटरका कलाकारहरूले सडक नाटक समेत प्रस्तुत गरेका थिए ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै कर्मचारी, चिकित्सक, प्राध्यापक, विद्यार्थी र नागरिक समाजले २३ दिनदेखि आन्दोलन गरिरहेका छन् । त्यही आन्दोलनको ऐक्यबद्धता सहित काठमाडौँमा प्रदर्शन गरिएको हो ।
१५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएको टोलीले असार १५ गते यता उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित चार पदाधिकारीको बर्हिगमनलाई बटम लाइन बनाएको छ ।
असार १५ गते सङ्घर्ष समितिलाई छलफलमा बोलाएका उपकुलपति गिरी आफैँ मदिरा सेवन गरेर वार्ताका लागि पुगेका थिए । प्राज्ञिक ठाउँमा गैर जिम्मेवार शैलीमा उपकुलपति पुगेपछि सङ्घर्ष समितिले प्रतिष्ठानको शाख जोगाउन उपकुलपति डा. गिरी, रजिस्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी, रेक्टर प्रा. डा. गुरु खनाल र निर्देशक प्रा. डा. गौरीशंकर साहको बर्हिगमनलाई बटम लाइन बनाएका हुन् ।