विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन पहिलो लहर बिस्तारै कम हुँदै जाँदै गर्दा जनजीवन सामान्य हुँदै गइरहेको थियो । एक्कासि दोस्रो लहर चल्यो र फेरी पनि नेपाल सरकारले लकडाउन गर्यो ।
कोरोनाको पहिलो लहरले भन्दा पनि दोस्रो लहरले एकदमै असर गर्यो र धेरै मानिसहरूले आफ्नो अमूल्य जीवन घुमाउनुपर्यो। एक समय अस्पतालमा बेड र अक्सिजन नपाएर सङ्क्रमितहरूको मृत्यु भएको खबर आइरहेको थियो। त्यसले निकै दुखित बनाएको थियो भने अहिले त्यो समस्या हटेको छ तर कोरोना सङ्क्रमित र मृत्युदर घटे पनि हामी ढुक्क भएर बस्नुपर्ने स्थिति बनी सकेको छैन ।
मुलुक बाहिरका देशहरूमा कोरोनाको तेर्सो लहर झन् कडा रूपमा देखिएको छ। नेपालमा पनि तेर्सो लहरका सङ्क्रमितहरू देखिएको सरकारले पुष्टि गरिसकेको छ।मुलुक बाहिर झन् कडा लकडाउन गरिरहेको अवस्थामा नेपाल सरकारले भने कोरोना सङ्क्रमितको सङ्ख्या कम देखाउँदै लकडाउन खुकुलो गरेको छ।
सरकारले कोभिड सङ्क्रमितको सङ्ख्या घटेको कारण देखाएर एकपछि अर्को गरी व्यापार व्यवसाय खुलाइरहेको छ । तर संक्रमणदर भने जोखिमको तहबाट घटेको देखिँदैन ।
५ प्रतिशतभन्दा बढीको संक्रमणदरलाई जोखिमपूर्ण मानिन्छ । तर असार लागेयता कुनै दिन पनि संक्रमणदर १८ प्रतिशतबाट घटेको छैन । बरु यो लेख तयार पार्ने बेलासम्म औसत संक्रमणदर २४ प्रतिशत छ ।
दैनिक ३० हजार नमुना परीक्षणको क्षमता भए पनि अहिलेसम्म कहिल्यै पूर्ण क्षमतामा परीक्षण गरिएको छैन ।
बरु असार लागेपछि एकातिर भिडभाड बढ्ने गरी निषेधाज्ञा खुकुलो पारिएको छ भने अर्कातिर परीक्षण घटाउँदै लगिएको छ । शङ्का लागेर आफैँ अस्पताल वा प्रयोगशाला जाने बाहेकको परीक्षण नै छैन ।
छिमेकी देश भारतमा संक्रमणदर बढेपछि त्यसको असर नेपालमा पनि परेको थियो । खुला सीमाका कारण निर्बाध आउजाउ हुँदा दोस्रो लहरमा कोभिड सङ्क्रमण दर वैशाख र जेठमा धेरै बढ्यो।
भारतमा सङ्क्रमण दर घटेको एक महिना हुन लागिसकेको छ । त्यहाँ अहिले संक्रमणदर १० प्रतिशतभन्दा तल छ । तर हाम्रोमा भने समुदायमा व्यापक मात्रामा परीक्षण नगरिएकाले अपेक्षित रूपमा सङ्क्रमण घट्न नसकेको हो ।
रुघाखोकीलाई सामान्य मान्ने र गाह्रो भए ढिला गरी परीक्षण गराउने प्रवृत्तिले रोग फैलिरहेको विशेषज्ञहरूको भनाइ छ । संक्रमणदर जोखिमको तहभन्दा निकै माथि भए पनि भिडभाड बढाउने गरी निषेधाज्ञा खुकुलो पारेको सरकारले भने सार्वजनिक यातायात सँगै हवाई सेवा समेत खुलाउने तयारीमा लागेको छ । अब आउने दिन झन् जटिल हुने देखिएका छन्।
पहिलो र दोस्रो लकडाउनमा हामीले स्वास्थ्य मापदण्ड पालना गरेर घरभित्रै बसेका कारण कोरोना सङ्क्रमण लाई केही मात्रामा भए पनि फैलिन बाट कम गर्न सकेका थियौ।
नेपाल सरकारले लकडाउन र निषेधाज्ञा खुकुलो पारे पनि कोरोनाको कहर भने हटेको छैन। अब स्वयं आफैँले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने देखिएको छ।
कोरोना सङ्क्रमणको जोखिम कम भएर सरकारले लकडाउन खुकुलो पारेको अर्थमा आम नागरिकले बुझे भने त्यसले परिस्थिति झन् गम्भीर बन्ने छ। विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डलाई पालना गर्दै आफू सुरक्षित रहने उपाय अवलम्बन गर्न सकियो भने कोरोना सङ्क्रमणबाट बच्न सकिन्छ।
सामाजिक दूरी कायम गर्ने, बाहिर निस्किँदा अनिवार्य मास्कको प्रयोग गर्ने र स्यानिटाइजरको प्रयोग गर्ने लगायतका विधि अपनाउँदा कोरोनाको जोखिमबाट बच्न सकिन्छ। लकडाउन खुकुलो भएसँगै काठमाडौँ र देशका विभिन्न सहर बजारमा गाडीहरू र मानिसहरूको भिडभाड देखिएको छ। विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड पूरा नगरी अँगालो हालेर हिँडेको दृश्य अहिले देख्न थालिएको छ।
पछिल्लो समय काठमाडौँ सहितका धेरै ठाउँमा बाहिरी दृश्य देख्दा लाग्छ कोरोना नेपालबाट नौ डाँडा अनि सात समुद्र काटिसकेको छ। साढे दुई महिना लामो लकडाउन भएपछि जनता उकुसमुकुस भएका थिए। आर्थिक गतिविधि ठप्प भएका थिए। निम्न मध्यम वर्गीय परिवारलाई निकै सास्ती भएको थियो। जन दबाब बढ्दै गएपछि सरकारले लकडाउन खुकुलो बनाएको हो।
“अब राज्यले भिडभाड हुने ठाउँहरूमा निगरानी गर्न सक्नुपर्छ। अरू बेला डन्डा बर्साउने प्रहरीले अहिले मान्छेको ज्यान बचाउन भिडभाड हुने ठाउँमा भौतिक दूरी कायम राख्न सहयोग अनि स्वयंसेवकलाई परिचालन गर्न सक्नुपर्छ,नियम पालना गरेर बजार खुलाउन सहयोग गर्नुपर्छ।”
देश विकासको मेरुदण्ड नै अर्थतन्त्र भएको हुनाले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न निर्णयहरू गर्न सक्नुपर्छ र सरकारले नयाँ रणनीति बनाएर कोरोना विरुद्धको जित हासिल गर्न सक्नुपर्छ।
लकडाउन खुलेपछि हामीले आफ्नो स्वास्थ्य र सुरक्षाको ख्याल आफैँ गर्न सक्नुपर्छ । लकडाउन खुलेपछि कोरोनाबाट बच्नका लागि हामीले सामाजिक दूरी कायम राख्नु पर्छ। कम्तीमा मानिसहरूबाट एक मिटरको दूरीमा रहनुपर्छ।
खाना तयार गर्नु, खानु र बाहिर कुनै सतहमा छोएपछि अनि शौच गरिसकेपछि हामीले साबुन पानीले हात धुनु पर्छ। कोरोना सङ्क्रमणबाट जोगिन नाक मुख छोपिने गरी बोल्दा नफुत्किने खालको मास्क लगाउनु पर्छ। यी सुरक्षाका उपाय व्यक्ति आफैँले गर्ने हो, हरेक ठाउँमा सरकारको मुख ताक्नु उचित हुँदैन।
फलफूल लगायतका खाद्यपदार्थ पानीले सफा गरेर खाने र तरकारी पनि पानीले सफा गरेर राम्रोसँग पकाएर मात्र खानुपर्छ। गाडीमा चढ्नुअघि र पछि साबुन पानीले हात धुनुपर्छ नभए स्यानिटाइजर प्रयोग गर्नुपर्छ। पैसा लेनदेन गर्दा भौतिक दूरी कायम राख्नुपर्छ, पैसा गन्दा र लिँदा तथा दिँदा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्छ।
एटिएम मेसिन प्रयोग गर्दा भौतिक दूरी कायम गर्नुपर्छ। एटिएम कार्ड मेसिनमा प्रवेश गराएर फर्किएपछि अनिवार्य हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्छ। होटेल रेस्टुराँमा भरसक जानुहुँदैन, जानै पर्ने अवस्था आए पनि दूरी कायम गर्नुपर्छ। प्याकिङ गरिएको र सुरक्षित छ भन्ने निश्चित भए पनि सतर्कता अपनाउनुपर्छ।
आफ्नो मोबाइल आफैले मात्र प्रयोग गर्नुपर्छ। मास्क, स्यानिटाइजर र पानी अभाव भएका ठाउँमा रहेका व्यक्तिहरूले रुमाल, सफा कपडा तथा टिस्यु पेपरको प्रयोग गर्नुपर्छ। जमघट, पार्टी, भेला, जुलुस आदि भिडभाड हुने ठाउँमा जानु हुँदैन। पशुपन्छीलाई छुनु हुँदैन।
हरेक नागरिकमा जिम्मेवारी बोध हुनु पर्छ किनभने बन्दाबन्दी सहज र खुकुलो बनाइएको हो। यसलाई हामीले हेलचेक्र्याइँ गर्यौँ भने कोरोनाको महामारी झनै फैलिन सक्छ। श्रीमद्भगवतगीतामा श्रीकृष्णले भनेका कुरालाई मनन गरेर अर्जुनले युद्ध भूमिमा समर्पित भई कुरुक्षेत्रमा भएको युद्ध जितेका थिए त्यसरी नै हामीले पनि माथि उल्लेखित उपायहरू अपनाएर राम्रोसँग मनन गरेर कोरोनासँगको लडाइँलाई जित्न सक्नुपर्छ।
अन्ततः कोरोनाबाट आफू पनि बचौँ । अरूलाई पनि बचाउँदै अर्थतन्त्रलाई चलायमान राख्न र राख्दै देशको विकास तिर अघि बढौँ। अनि सरकारलाई कोरोनासँग लड्ने कुरामा समर्थन गरौँ।
(जुम्ला घर भएका देवकोटा एभरेस्ट इन्जिनियरिङ कलेज सानेपा, ललितपुरका ब्याचलर इन सिभिल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । उनले केटिएम दैनिकमा साहित्यिक र समसामयिक विषयमा लेख्छन् । )