मोरङको कानेपोखरी–१ होक्लाबारी घर भएकी ३० वर्षीया सरिता सोरेन हत्या उनकै प्रेमीले गरेको खुलेको छ । पक्राउ पर्नेमा उनकै प्रेमी रतुवामाई नगरपालिका–६ कपरसुकाका ३१ वर्षीय सुफल हस्दा रहेका छन् । प्रहरीले लगभग डेढ महिनापछि सरीताको हत्यामा संलग्नलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार हत्यामा संलग्न रहेका सुफललाई बुधबार मोरङ प्रहरीका डिएसपी मञ्जील मुकारुङ नेतृत्वको टोलीले महेन्द्रनगरको कञ्चनपुरबाट पक्राउ गरेर मोरङ ल्याएको हो । सुफल र सरीता छ महिनाअघिदेखि प्रेम सम्बन्धमा रहेको खुलेको एसपी खड्काले जानकारी दिए ।
गत वैशाख १९ गते सरिताको शव रतुवामाई–६ स्थित मकैबारीमा मृतावस्थामा फेला परेको थियो । सिंहगिरी भन्ने स्थानमा रहेको मकैबारीमा सोरेनको शव फेला परेपछि प्रहरीले सुक्ष्म रूपमा अनुसन्धान गरिरहेको थियो ।
शरीरमा चोटपटक लागेकाले, महिलाले लगाएको कपडा च्यातिएको र माथि सुर्किएका कारण बलात्कार भएको हुनसक्ने आशङ्कासहित अनुसन्धानमा जुटेको प्रहरीले डेढ महिनापछि हत्यामा संलग्नलाई पक्राउ गरेको हो ।
सरीता कानेपोखरी–२ स्थित योगेन्द्र थापाको गाई फार्ममा काम गर्दै आएकी थिइन् । वैशाख १७ गते बिहान विवाहमा जान्छु भनेर गाई फर्मबाट बिदा भएकी थिइन् । तर उनी विवाहमा जान्छु भनेर प्रेमी सुफललाई भेट्न पुगेको खुलेको छ ।
प्रेमी सुफललाई भेट्न रतुवामाई पुगेकी उनले सुफललाई बिहे गरेर घरमै लैजानु भन्दै कर गरेर दबाब दिएको खुलेको प्रहरीले जनाएको छ । एसपी खड्काका अनुसार सरीताले कर गरेपछि सुफलले कुटपिट गरेर र घाँटी थिचेर उनको हत्या गरेको खुलेको एसपी खड्काले बताए ।
प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट बिहीबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । सरीताका श्रीमानको तीन वर्षअघि नै मृत्यु भइसकेको छ । प्रहरीका अनुसार चिनजानका साथी रहेका सरीताका श्रीमान् र सुफल दुवै जना ट्याक्टर चलाउँथे ।
श्रीमानको मृत्यु भएपछि सुफल प्रेमको नाटक गर्दै सरीतासँग नजिकिएको पाइएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न सुफलले भने त्यसअघि नै दुईवटा बिहे गरिसकेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा सुफलका दुई श्रीमती र तीन सन्तान रहेको खुलेको छ । हत्या गरिएकी सरीता पनि एक सन्तानकी आमा हुन् ।