सुनसरीको देवानगञ्ज गाउँपालिकामा इन्धन तस्करी हुनेक्रम रोकिएको छैन । कोरोना महामारीको दोस्रो लहरपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा पनि पेट्रोलियम पदार्थको तस्करी भइरहेपछि प्रहरी प्रशासनतर्फ प्रश्न तेर्सिएको छ ।
सोमबार बिहान मात्र देवानगञ्ज–२ का स्थानीयले एक तस्करलाई नियन्त्रणमा लिई हातपात नै गरेका थिए । करिब २२० लिटर डिजेल बोकेर भारततर्फ गइरहेका तस्करीलाई स्थानीय युवाले नियन्त्रणमा लिई कुटपिटसमेत गरेका हुन् । एक जना भने फरार भएको वडा नं २ का वडासदस्य रमेन्द्रप्रसाद मेहताले बताए ।
उनका अनुसार भारत आवत–जावत गर्दा कोरोनाको जोखिम बढ्ने भन्दा विवाद उत्पन्न भएपछि स्थानीयले कुटपिट गरेका थिए । ‘बिहानै तेल भारततर्फ लैजाँदै गरेको भेटिएपछि स्थानीय युवाले कोरोनाको जोखिम बढ्ने कुरा सुझाउँदा विवाद भएको थियो । जसक्रममा दुई युवाले तस्करमाथि कुटपिटसमेत गरेका थिए’, उनले केटिएम दैनिकसँग भने, ‘मैले समन्वय गरेर विवाद मिलाएँ र प्रहरीलाई सम्पर्क गरेँ ।’
स्रोतका अनुसार तेल तस्करीमा प्रहरी इन्चार्जकै मिलोमतो हुन्छ । यस विषयमा स्थानीय सरकार मौन रहेकोमा स्थानीय दुखेसो गर्छन् । ‘हामी किराना समान लिन पसल जाँदा प्रहरीले जान दिँदैनन् । स्थानीय किसानको तरकारी खोसेर फाल्छन् र आफूलाई चाहिने लान्छन् । निषेधाज्ञाको बेलामा यसलाई हामीले स्वीकार्नैपर्छ,’ स्थानीय गर्भु मेहता भन्छन्, ‘तर खुलेआम यसरी तस्करी हुँदा प्रहरी प्रशासन किन मौन छन् ?’
यसैगरी, अर्का स्थानीय रमेश मेहताले आफूहरूले बारम्बार सिडिओलाई यो विषयमा ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नहुँदा आफूहरू कुटपिटमा उत्रिनु परेको बताए । स्थानीयले बिहानैदेखि तस्करलाई नियन्त्रणमा राखेर प्रहरीसमक्ष बुझाएका थिए ।
यसअघि तस्करी मौलाएपछि डिजल हाल्दा वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको थियो । देवानगञ्ज–२ मा रहेका गुप्ता आयल ट्रेडर्स र भगत आयल ट्रेडर्सबाट पेट्रोलियम पर्दाथ तस्करी गरी भारत निर्यात बढेकाले गाउँपालिकाको सुरक्षा निकायको बैठकले डिजलमा वडाको सिफारिस अनिवार्य गरिदिएको थियो ।
नेपालभन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य धेरै बढी भएकाले विभिन्न नाकाहरूबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी बढेको छ । देवानगञ्जमा विभिन्न माध्यमबाट पेट्रोलियम पदार्थलाई चोरी निकासी गरेर सीमापारि भारतका विभिन्न बजारमा पु¥याउने कार्य हुँदै आएको छ ।