कोरोनाको विपत्तिले सिर्जित निषेधाज्ञा, म पनि घरमै गुटमुटिएर बसेको छु । दिनै भरी बजिरहने मोबाइलको घण्टीले भने झकझकाई रहन्छ ।
कोरोनाले पारेको मानसिक तनाव तथा मनोसामाजिक समस्यामा परेकाहरूको मनको डर , चिन्ता , भय , छटपटी र बेचैनीले भरिएका स्वरहरू मेरो कानमा ठोकिन आउँछन् । म उनीहरूलाई मनोपरामर्श दिँदै शान्त बनाउने प्रयास गर्छु ।
फेरि पनि फोनको घण्टी बज्छ ।
फोनमा एक जना पत्रकार बोल्छन्। उनी एउटा चलेकै अनलाइनमा फिचर लेख्ने काम गर्छन् ।
“कोरोनाको कारण आमा गुमाउनु पर्दा त्यसले कस्तो मानसिक चोट पर्छ सर ? ” उनको प्रश्नको जवाफमा म भन्छु – “यस्ता दुखद घटनाहरू पनि मानसिक रोगका कारण हुन सक्छन् । यसले पक्कै मनमा चोट पुर्याउछ नै ।”
उनले आफ्नो बिषयबस्तु माथि थप उठान गर्दै भने “आमाको मुख हेर्ने दिनलाई लिएर म एउटा फिचर लेख्दै छु। कोरोनाको कारणले आमा गुमाउनु पर्दा पिडामा परेका त्यस्ता कोही क्लाईन्ट भए सम्पर्क नम्बर दिनुहोस् न सर प्लिज । आमा गुमाउँदाको उसको दुख, पीडा समेटेर स्टोरी लेख्नु पर्यो !
मैले हाम्रो पेशामा गोपनीयता हुने र त्यसो गर्न नमिल्ने कुरा उनलाई जानकारी गराए । तर उनले सहयोगको याचना गर्न छोडेनन्। उनी भन्दै थिए ‘सरले यति सहयोग गरे स्टोरी हिट हुने थियो । सके भाइरल नै हुन बेर लाउँदैन । टाइटल पनि क्या टच्चि सोचिसकेको छु सर मैले !’
अन्ततः मैले उनलाई एउटा फोन नम्बर थमाउँदै भने- “यिनी मेरा सेवाग्राही त होइन तर कोरोनाले गर्दा भरखरै मात्र उनले आमा गुमाएका छन् । मैले चिने जानेकै मान्छे हुन । कुरा गर्न मानेछन् भने कुरा गर्दा हुन्छ ।”
अर्को दिन उनको स्टोरी छापियो ।
“श्रवणकुमार जस्ता छोरा, आमालाई एकक्षण देख्न नपाउँदा श्वास नै रोकिएला जस्तो हुन्थ्यो उनको । उनले गरेको माया देख्दा सायद दैवलाई पनि डाहा लाग्यो होला । उस्ती मात्र हो, कोरोनाले उनकी ममतामयी आमालाई टपक्कै टिपेर लगेको ! आज आमाको मुख हेर्ने दिन, आमा नदेख्दा उनको मन कति रुँदो हो । मुटु कति फाट्दो हो ! मन कति भक्कानिएर आउँदो हो … !
कथा पढ्दै जाँदा मेरो पनि श्वास नै रोकिएला जस्तो भो , उकुसमुकुस भएर आयो । आँखा अगाडि तिनै आमाको तस्बिर नाच्न थाल्यो । दसबर्ष देखि उनी एउटा वृद्धवृद्धा स्याहार केन्द्रमा बस्दै आएकी थिइन । म बेला बेला त्यहाँ जाने गर्थे उहाँहरूका पिर व्यथा सुन्न । भेटमा के गर्ने रहर छ आमा भनेर सोध्दा – ” खै के हुनु र छोराले नयाँ घर बनाएको छ रे हेर्न पाए हुन्थ्यो । दुई चार दिन भए पनि छोरासँगै बस्न पाए हुन्थ्यो भन्थिन । ” उनी सधैँ जसो यस्तै दुखेसो पोख्ने गर्थिन ।
तर रहरहरू पूरा नभई उनी बितिन ।
आमाको मुख हेर्ने दिन वर्षको एक चोटि उनी श्रीमती र छोराछोरी सहित त्यहाँ पुग्थे आमालाई भेट्न । आमै संसारको सारा खुशी भेटिए झैँ गर्थिन । आज फेरि पत्रकारले त्यही टच्चि स्टोरी सुनाएर भावुक बनाए !
(लेखक मनोविद् हुन् )