२०१९ को डिसेम्बर अन्तिममा चीनको बुहान शहरबाट सुरु भएको कोरोना भाइरसको प्रथम संस्करणले विश्वभर आतङ्क मच्चाउँदै लाखौँको ज्यान लिइसकेको तथ्य कसैबाट लुकेको छैन । यसैको दोस्रो संस्करण हाल भारत केन्द्रित हुँदै नेपाल लगायत संसारभर फैलने क्रममा छ । हाल देशमा दैनिक सरदर ९ हजार सङ्क्रमित ५० को निधन तथा ३ हजार ५ सय सङ्क्रमण मुक्त भएको खबर सरकारले सार्वजनिक गरिरहेको छ ।
यो भाइरस नेपालमा फैलनुमा शासकबर्ग, राजनैतिक नेतृत्वको कुर्सी मोह, जुलुस, भेला, विवाह, जात्रा आदी प्रमुख कारण त हुन नै नागरिक पनि त्यतिकै गैर जिम्मेवार छन् । व्यक्तिगत रूपमा नागरिकलाई गैर जिम्मेवार बनाउनमा समाजका मै हुँ भन्ने तुलेगाँडाहरुको अझ ठुलो भूमिका छ ।
कलकारखानाका पार्टपुर्जा हुन बिग्रन्छ भने जस्तै मानिसको शरीर हो रोग लाग्छ । रोग लाग्नु कुनै अभिसाप होइन र कुनै अपराध गरेर रोग लागेको पनि होइन । तर अति जान्ने सुन्ने भएका समाजका तुलेगाँडाहरुका छि-छि र दुर-दूर, अनि बहिस्कार र हेलत्वभाबका कारण जसलाई रोग लाग्यो उसले थला नपर्दा सम्म कसैलाई भन्ने आँट गर्दैन । जति बेला थला पर्छ उति बेला सम्म त उसले घर, परिवार र समाजमा रोगका कीटाणु फैलाई सकेको हुन्छ ।
यही सामाजिक बहिस्कारका कारण कोरोनाका सामान्य लक्षण देखिदा सम्म पनि मानिस परीक्षण गर्न जान समेत डराइ रहेका छन् । कतै पोजेटिभ देखिएर मलाई समाजले बहिस्कार गर्ने त होइन ? यही भावले गर्दा पीडितमाथि झन् पिडा थपिएको मात्रै होइन समाजमा भाइरस फैलाउन समेत थप बल पुगेको छ ।
हामी सङ्क्रमण आफै रोक्न सक्छौ सरकार वा अरू कसैको मुख ताक्नु पर्दैन । त्यसको लागी पहिले मनबाट डर अनि समाजमा केही थाहा नभएकाले मै जान्ने बुझ्ने हुँ अरूलाई केही थाहा छैन भन्ने भ्रमबाट मुक्त हुनु पर्छ । कोरोना सङ्क्रमित व्यक्तिलाई माया सम्मान र आदर पूर्वक भौतिक दुरी कायम राख्दै सकेको मद्दत गर्नु पर्छ ।
सङ्क्रमितलाई र उसको पारिवारिक दुरी बनाउन लगाउने । परिवार पनि संम्भाबित सङ्क्रमित हुन सक्छन् उनीहरूलाई पनि एकान्त बास बस्न लगाउने । सङ्क्रमितको घरमा खाने कुराको अवस्था कस्तो छ, बिहान बेलुका खाने तरकारी, नुन, मसला, दाल,चामल, पिठो, गेडागुडी के खान मन पराउँछन् किनेर लगिदिने ।
एक्लै बस्दा मनोबल गिर्न सक्छ समाजका व्यक्तिहरू आलोपालो भौतिक दुरी कायम राख्दै बेलाबेला गफ गर्न जाने गर्नुपर्छ । स्वास्थ्यमा समस्या के छ ? कुनै औषधीको आवश्यकता छ भने सोधेर लगिदिने गर्नुपर्छ । यस्तो बेला दुबैपक्षले मास्क र दुरीको भने ख्याल गर्न भने बिर्सनु हुँदैन ।
नजिक जान मनले नमानेमा फोनबाटै वा सामाजिक सञ्जालको प्रयोग गर्दै म्यासेन्जर, भाइवर, इमो लगायतबाट पनि सम्पर्क गरी बेलाबेलामा स्वास्थ्य अवस्थाको जानकारी लिने, आवश्यक कुरा केही भए सोध्ने र किनेर लगिदिने, केही परेमा मलाई हेर्ने मेरा छिमेकी र समाज छ भन्ने आभास दिलाई रहने हो भने कसैले पनि आफ्नो रोग लुकाउने चेष्टा गर्दैन । रोग नलुकाउनु र शङ्का लाग्ने बित्तिकै सतर्क रहनु भनेको अरूलाई सार्नबाट जोगाउनु हो । यसरी जोगाउन सकियो भने नब्बे ८० प्रतिशत सङ्क्रमण स्वतह नियन्त्रणमा आउँछ ।
सबैतिरबाट निर्धक्क भएपछि सर्वप्रथम त सङ्क्रमित व्यक्तिको आत्मबल बढ्ने छ । आत्मबल बढ्नु नै सङ्क्रमणबाट चाँडै पार पाउनु हो । त्यसपछि सङ्क्रमित व्यक्तिले आफै भन्ने छ म सङ्क्रमित हुँ मेरो तर्फबाट म सुरक्षित बसेको छु, तपाईँहरू पनि म देखि सचेत रहनु होला । यति उद्घोष सङ्क्रमितले गर्ने वातावरण घर, परिवार, छिमेक र समाजले बनाइदिने बित्तिकै सबै सचेत हुन्छन् र देश चाँडै सङ्क्रमण मुक्त हुने छ ।
पुन भन्न चाहन्छु सङ्क्रमित व्यक्तिलाई रोग लागेको हो उसलाई माया, ममता, रेखदेख र भरोसाको आवश्यकता छ । उसलाई माया गरौँ जघन्य अपराध गरेको अपराधीको जस्तो व्यवहार नगरौँ ।