बझाङमा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिलाका मृत्यु भएको हो । जिल्ला अस्पताल बझाङमा उपचाररत उनको आइतबार राति मृत्यु भएको डा. मिलन खड्काले केटिएम दैनिकलाई बताए।
उनी आइतबार मात्र जिल्ला अस्पतालमा भर्ना भएकी थिइन्। जिल्ला अस्पतालमा भर्ना भएपछि उनीमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बझाङका कोरोना सम्पर्क व्यक्ति नारायण प्रसाद जोशीले बताए। यस्तै आइतबार राति नै तल्कोट गाउँपालिका–१ की एक सङ्क्रमितको पनि मृत्यु भएको छ। कोरोना सङ्क्रमण पुष्टि भएपछि घर जाने क्रममा बिच बाटोमा नै उनको आइतबार राति १२ बजे ज्यान गएको उनका आफन्तले जनाएका छन्।
जिल्ला अस्पतालमा १८ गते कोरोना जाँच गराउँदा रिपोर्ट पोजेटिभ आएको र १९ गते उनी घर जानलाई सदरमुकाम चैनपुरबाट हिँडेकी थिइन्। साँझ घर जाने क्रममा अबेर भएपछि उनी आफन्तको घरमा बसेको र राति १२ बजे उनको मृत्यु भएको आफन्तले जनाएका छन्।
कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा बस्ने भन्दै उनी अस्पतालबाट निस्किएकी थिइन्। बझाङमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ५ पुगेको छ ।