विराटनगरका छुट्टाछुट्टै अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित भारतीय नागरिकसहित तीन जनाको मृत्यु भएको छ । एक भारतीय नागरिकको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
आइतबार बिहान नेपालसँग सिमाना जोडिएको भारत जोगवनीका ३० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए । व्यापारको सिलसिलामा जोगवनीबाट नेपाल आएका उनी आफन्तको घरमा बस्दै आएका थिए । कोरोना पुष्टि भएपछि उनलाई वैशाख १० गते उपचारका लागि भर्ना गरिएको थियो ।
उनको आइतबार बिहान ७:१० बजेतिर मृत्यु भएको हो ।
यस्तै विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर र सुनसरी ठेगाना भएका दुई वृद्धा महिलाको पनि मृत्यु भएको छ । उनीहरूको आइतबार बिहान र शनिबार राति मृत्यु भएको हो ।
कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–६ की ६८ वर्षीया वृद्धाको आइतबार बिहान ६:४० बजेतिर मृत्यु भएको छ । वृद्धालाई वैशाख १६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै सुनसरी ठेगाना भएकी ६० वर्षीया वृद्धा महिलाको शनिबार राति ९ बजेतिर मृत्यु भएको हो । उनलाई शनिबार नै उपचारका लागि भर्ना गरिएको थियो ।