नेपालमा अहिले कोरोना भाइरसको दोस्रो लहर सुरु भएको छ । कोरोना भाइरसका कारण विश्वले गत एक वर्ष देखि ठुलो सङ्कटको सामना गरिरहेको छ । कतिपय देशहरूमा फेरि लकडाउन सुरु भएको छ । नेपालमा पनि कतिपय ठाउँहरूमा निषेधाज्ञा सुरु भइसकेको अवस्था छ ।
भूकम्प, बाढी पैरो जस्ता प्राकृतिक विपत्ति, रोग व्याधिको प्रकोप तथा मानव सिर्जित अन्य दुखद घटनाहरूले व्यक्तिको मन र समाजमा असहज अवस्था उत्पन्न गरिदिन्छ । यस्तो अवस्थामा राहत जस्तो भौतिक सहयोग मात्र पर्याप्त हुँदैन । उनीहरूलाई मनोसामाजिक वा भावनात्मक सहयोगको पनि अति जरुरत पर्दछ ।
व्यक्ति र समुदायमा देखिएको मनोवैज्ञानिक समस्यालाई कम गर्न घटना घटे लगत्तै सुरुमा दिइने भावनात्मक तथा व्यवहारिक सहयोग नै प्राथमिक मनोवैज्ञानिक सहयोग हो ।
विषम परिस्थितिमा मान्छेको मनमा आउने अशान्ति, डर – चिन्ता , तनाव , नैरस्यता जस्ता भावनात्मक समस्यालाई कम गर्न र दैनिक जीवनमा आउने व्यवहार जन्य गडबडीलाई व्यवस्थापन गर्न प्राथमिक मनोवैज्ञानिक सहयोगले मद्दत गर्छ । बेलैमा मनोवैज्ञानिक सहयोग पाएको खण्डमा धेरै जसो समस्या केही समयको अन्तराल पछि आफै कम भएर जान्छ। यसका साथै प्रभावित व्यक्ति वा समुदायलाई बेलैमा प्राथमिक मनोवैज्ञानिक सहयोग प्रदान गर्ने हो भने पछि देखा पर्न सक्ने मानसिक रोग एवं मनोसामाजिक समस्यालाई समेत न्यूनीकरण गर्न सकिन्छ ।
अहिले फेरि कोरोनाको सङ्क्रमण बढ्दै गएकाले व्यक्तिमा विभिन्न किसिमका मनोवैज्ञानिक समस्याका लक्षणहरू देखिन सक्छन् ।
कस्ता कस्ता लक्षण देखिन्छन् त ?
मनमा कुरा खेल्नु ,झर्को लाग्नु, हातखुट्टा, जिउ काँप्नु, कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिङ्ग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको- पेट दुख्नु, रिगंटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निन्द्रा नलाग्नु, छिटो छिटो पिसाब लाग्नु, कब्जियत हुनु , शरीरमा थकान लाग्नु, श्वास फेर्न गाह्रो भएको महसुस हुनु, छाती भारी हुनु, रिस उठ्नु, ध्यान केन्द्रित गर्न नसक्नु, चाडै बिर्सनु, मन दुःखी हुनु, सामान्य भन्दा बढी डर / चिन्ता / पिर पर्नु, छटपटी हुनु, निर्णय लिन नसक्नु, डर लाग्दो सपना देख्नु, पटक–पटक झस्कनु, निराश हुनु, कुनै कुरामा चाख नलाग्नु, आफू वा परिवार कसैलाई केही होला कि भन्ने डर लाग्नु, शरीर तातो बा चिसो भएको महसुस हुनु जस्ता लक्षणहरू देखिन सक्छन् । विपत्ति वा असहज अवस्थामा देखिने यस्ता लक्षणहरू सामान्य र स्वाभाविक लक्षणहरू हुन ।
यी लक्षणहरू लामो समयसम्म रहेमा भने मनोसामाजिक समस्या तथा मानसिक रोगको जोखिम हुन्छ ।
प्राथमिक मनोवैज्ञानिक सहयोग कसलाई बढी जरुरी ?
कोरोनाको कहरले सबै व्यक्तिहरूलाई असर पुर्याएको छ । तर पनि बालबालिका, सुत्केरी तथा गर्भवती महिला, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्ग, दिर्घरोगी, कोरोनाका सङ्क्रमित व्यक्तिहरू, कोरोनाको आशङ्का गरिएका व्यक्ति, कोरोनाको उपचारको क्रममा रहेका व्यक्ति र तिनको परिवार, आफन्त गुमाएको परिवारका सदस्यहरू, अस्पतालबाट सन्चो भएर फर्किएका व्यक्तिहरू, अस्थिर र दुबिधामा परेका व्यक्तिहरू, होम आइसोलेसन र क्वारेनटाइनमा भएका व्यक्तिहरूलाई विशेष प्राथमिकतामा राखेर प्राथमिक मनोवैज्ञानिक सहयोग गर्नुपर्छ ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारहरू पनि आ-आफ्नो कार्य क्षेत्रमा दिनरात खटिरहेका हुन्छन् । जोखिमको बेला अग्रपङतिमा खटिने व्यक्तिहरूलाई पनि मनोवैज्ञानिक असर वा मानसिक आघात पर्न सक्ने जोखिम अरू भन्दा धेरै हुन्छ । उनीहरूका लागि पनि प्राथमिक मनोवैज्ञानिक सहयोग तथा स्व हेरचाहको अति जरुरत पर्दछ ।
समस्या कसरी कम गर्न सकिन्छ ?
मनका वह पोख्दा, घरपरिवार, साथीभाइ वा समाजको साथ र सहयोग पाउँदा , परिवारसँग बस्दा, सहयोगको आदान प्रदान हुँदा, सान्त्वना पाउँदा, विश्वस्त सूचना र उचित परामर्श पाउँदा, सुरक्षित वातावरण र अत्यावश्यक राहत पाउँदा, मनोरञ्जन, खेलकुद, व्यायाम, ध्यान पूजापाठ जस्ता कुरामा मन लगाउँदा, रिस र आक्रोश पोख्न पाउँदा मन खोली रुन पाउँदा, सकारात्मक सोच राख्दा आफ्नो ध्यानलाई रमाइलो कुरामा मोड्दा, दैनिक जीवनमा फर्कने प्रयास र धैर्यताले समस्या कम हुँदै जान्छ ।
कोरोनाको असरले ल्याउन सक्ने मानसिक समस्या :
१. एन्जाईटी – विभिन्न किसिमका डर , चिन्ता जन्य समस्याहरू ।
२. डिप्रेसन – दिक्दारीपन तथा आत्महत्याको सोचाई वा प्रयास
३. मानसिक आघात – पिडादायक घटना पछि उत्पन्न हुने एक किसिमको मानसिक रोग ।
४. प्यानिक अट्याक – एक्कासि बिना कारण उत्पन्न हुने अत्यधिक त्रास ।
५. समायोजनको समस्या – परिस्थितिसँग जुझ्न नसकिरहेको अवस्था ।
६. अब्सेसिभ कम्पल्सिभ डिसअडर्स – एउटै सोच वा बिचार आइरहने तथा एउटै कार्य लगातार धेरै पटक दोहोर्याई रहने मानसिक रोग ।
७. जाँड रक्सी , लागू प्रदार्थको लत ।
८. कन्भर्सन डिसअडर्स – डर, त्रास , तनावको कारणले देखिने मनोवैज्ञानिक समस्या ।
९. एक्युट स्टेस डिसअडर्स – तत्कालै देखा पर्ने तनाव जन्य समस्या ।
१०. सामाजिक सञ्जालको लत
प्राथमिक मनोवैज्ञानिक सहयोग कसरी गर्ने ?
आफू र अरूलाई हानी नोक्सानी नपुग्ने गरी आफूले सकेको सहयोग एकले अर्कालाई गर्न सक्छौ । प्राथमिक मनोवैज्ञानिक सहयोगको हकमा भने यसको सामान्य ज्ञान वा तालिम लिएको जो सुकै व्यक्तिले यस्तो सहयोग गर्न सक्छन्। यो सेवा दिन मनोविद् , मनोचिकित्सक , मनोपरामर्शदाता नै चाहिन्छ भन्ने होइन ।
१ कोरोनाको सङ्क्रमण र यसबाट बच्ने उपायबारे भरपर्दो , सत्य तथ्य सूचना तथा जानकारी गराउने ।
२ शारीरिक तथा भावनात्मक सुरक्षाको पूर्ण प्रत्याभूति गराउने।
३. आवश्यकता बस्तुहरू पहिचान गरी सोही अनुरूप परिपूर्ति गर्न सहयोग गर्ने , सो सहयोगका लागि पहल गर्ने , सहयोगका लागि सहजीकरण वा समन्वय गर्ने ।
४ . अर्काको भावनाको कदर गर्ने ,भावनात्मक रूपमा सधैँ नजिक रहने । मानिसहरू बिच सम्मानजनक र भेदभाव रहित सम्बन्धको स्थापना गर्न मद्दत पुर्याउने ।
५. सङ्क्रमणको आशङ्का गरिएका , आइसोलेसनमा बसेका तथा सेल्फ क्वारेनटाइनमा रहेकाहरूलाई माया , ममता , सद्भाव देखाउने ।
६. परिवारबाट टाढा भएकाहरूलाई सामाजिक दुरी कायम गर्दै पुनः मिलन गराउन मदत गर्ने ।
७. व्यक्तिको दैनिक जीवनलाई सहज र सृजनात्मक बनाउन सहयोग पुर्याउने ।
८. विषम परिस्थितिमा व्यक्तिले देखाउन सक्ने नकारात्मक व्यवहारको ख्याल गर्दै उनीहरूलाई सकारात्मक व्यवहार गर्न हौसला प्रदान गर्ने ।
९. पुरानो रोग बल्झिएमा , खाइरहेको औषधिले काम गर्न छोडेमा चिकित्सकसँग सम्पर्क गराउने।
१०. प्रभावित व्यक्तिको कुरा ध्यान दिएर सुन्ने , उसलाई आफ्नो मनको कुरा भन्न प्रेरित गर्ने ।
११. व्यक्तिको रुचि अनुसारको कार्यमा सक्रिय गराउने । दैनिक कार्य सुचारु राख्न सहयोग गर्ने ।
१२. आरामदायी अभ्यास , योग -ध्यान , व्यायाम जस्ता क्रियाकलापको माध्यमबाट भावनात्मक रूपमा स्थिर र शान्त राख्न सहयोग गर्ने ।
१३. मनोवैज्ञानिक समस्या जटिल हुँदै गएमा
मनोचिकित्सक , मनोविद् वा मनोपरामर्शदातासँग सम्पर्क गराउने । मनोवैज्ञानिक वा मानसिक रोगको जोखिम हुनबाट जोगाउने ।
कस्तो बेलामा विज्ञको सहयोग लिनुपर्छ ?
प्रत्येक व्यक्तिको समस्यासँग जुध्ने मानसिक क्षमता फरक फरक हुन्छ । घटनाले पार्ने असर पनि फरक फरक हुन्छ । कोही व्यक्ति चाडै सामान्य अवस्थामा फर्कन्छ भने केहीलाई सामान्य अवस्थामा फर्कन समय लाग्न पनि सक्छ। धेरै मानिसहरू ढिलो चाँडो पूर्व अवस्थामा फर्किन सक्ने भएता पनि केही प्रतिशत व्यक्तिहरूमा समस्या बढ्दै जान सक्छ।
विपत्तिको बेला धेरैजसोमा देखिने स्बभाबिक मनोवैज्ञानिक लक्षणहरू कम नभई बढ्दै गएमा, आफ्नो दैनिक काम गर्न कठिनाइ भएमा, आफ्नो वरिपरिका मानिस, ठाउँ, समय राम्ररी ठम्याउन नसक्दा, अरूले नसुन्ने आवाज सुनेमा, अत्यधिक लागुपदार्थको सेवन गर्न थालेमा, मानसिक स्थिति र सन्तुलन गुमाएमा, नकारात्मक सोचाई मात्र आइरहेमा, आत्महत्याको सोच, योजना वा प्रयास गरेमा, व्यक्तित्व र स्वभावमा परिवर्तन आएमा मनोचिकित्सक, मनोविद् तथा मनोसामाजिक विमर्शकर्ताको सहयोग लिनुपर्छ ।
फोन मार्फत निःशुल्क मनोपरामर्श सेवाको व्यवस्था मार्क नेपालले गरेको छ । जसको लागि ९८१३५२७७३२ मा सम्पर्क गर्न सकिन्छ ।
( लेखक मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् । )