काठमाडौँ शहर, मान्छेहरूको भीड, भीड भित्रका अनेकौँ सपनाहरू ……। एउटै शहर, एउटै आकाश तर मान्छे थरथरीका, व्यथा परीपरीका । शहरको कोलाहलभित्र एउटा युवक यता भौँतारिन्छ, उता भौँतारिन्छ । सबै मान्छेहरू अपरिचित, न कसैलाई कसैको वास्ता, न कसैमाथि कसैको भरोसा । सडकै ढाकेर हिँड्ने गाडीहरू, गाडीभित्रका कोचा कोच मान्छेहरू, के कुनै गन्तव्य ताकेर हिँडेका हुन ? आफैसँग आफै प्रश्न गर्छ । उ बेच्न राखेका अखबारका पानाहरू पल्टाउँदै हिँड्छ । पढ्छ उही सत्ताको फोहोरी खेल, नेताहरूको जुहारी, कोरोनाको त्रास, चोरी, डकैती, हत्या, बलात्कारका समाचार ।
बाह्र वर्षे युद्धमा आफ्नो दाजुको हत्या भएको उसलाई हिजो जस्तो लाग्छ । आफ्नी बहिनीको सिन्दूर पुछिएको आजै जस्तो लाग्छ । हृदय विदारक समाचारहरूले पनि अब त उसलाई छुन छाडेको छ । यस्तो लाग्छ संवेदना भन्ने कुरा पनि ऊबाट हराइसकेको छ । कसैको लागि रुने आँसु पनि रित्तिइसकेको छ ।
उसको दिनचर्या सधैँ एकै किसिमले बित्ने गर्छ । पत्रपत्रिकाहरू पल्टाउनु विज्ञापन हेर्नु अनि जागिरको आशामा अफिस अफिस धाउनु तर उसका प्रत्येक आशाहरू तुहिएर झर्छन् । झमक्क साँझ परेपछि निराश भएर उ डेरा फर्कन्छ । थाकेर लखतरान परेको हुन्छ उ , खाटमा बर्लङ्ग पल्टिन्छ ।
सोच्न थाल्छ “कस्तो ठाउँ, कस्तो शहर , हजार ठाउँ धाउँदा पनि हजार बिन्तिभाउ बिसाउँदा पनि जागिर त के आश्वासन पाउन समेत गाह्रो ।” जागिर पाउन कि त गाँठ (पैसा) चाहिँदो रहेछ, कि त ठुला वडाहरूको साथ (सिफारिस) चाहिँदो रहेछ । दिन उस्तै, रात उस्तै , शहरको झिलिमिली बत्तीले पनि ऊ भित्रको अन्धकारलाई हटाउन सक्दैन । ऊ बारम्बार सपना देख्छ, देशको अवस्था फेरिएको । जागिर पाएको, अफिस गएको । तर अफसोच, सपना पनि उसको लागि मुटु घोच्ने काँडा बन्छ । बाटो हिँड्दा कसैले उसलाई चिने जस्तै गरेर अनायसै सोधी दिन्छ “के छ हालखबर ? के गर्दै छौ ?” “कस्तो बेकारको कुरा” । ऊ भित्रभित्र मुरमुरिँदै हिँड्छ । ऊ देख्छ आफू जस्तै युवकहरू कोही गाडी चढेर मोज मस्ती गर्दै हिँडेका, कोही कठोर मन पारेर विदेश जान भनेर हिँडेका, केही रत्नपार्कमा कसैले भात बाँड्ला कि भन्ने आशाले कुरेर बसेका । “कस्तो असमानता, कसैलाई मरीमरी कसैलाई परीपरी ।” संसार २१ औँ शताब्दीको रफ्तारमा दौडिरहेको छ । कोही भने ढुङ्गे युगको मान्छे झैँ भौँतारिरहेको छ, केवल बाँच्नको लागि आहाराको खोजीमा ।
घर, परिवार, राष्ट्रको अघाद मायाले हो या इराकमा काटिएका नेपालीयुवाहरूको टाउकाको कथा सुनेर हो, विदेश जान पनि चाहँदैन उ ।
ऊ अनायासै विगत सम्झन पुग्छ । सम्झिन्छ देशको लागि रक्तदान गर्नुपर्छ भन्दै लिन आउने आफ्ना साथीहरू ।
“बिर्खे ! काले ! म मर्दा देशको मुहार फेरिन्छ भने अझै पनि म तयार छु यार ।” ऊ एक्कासि उत्तेजित हुन्छ । फेरी शान्त हुन्छ । “तर मेरा साथीहरू तिमीहरू पनि बेरोजगार भएरै त भौँतारिँदै हिँडेका हौ ।” हतियारको युद्ध लडेर देशको मुहार फेरिने कुरामा विश्वास थिएन उसलाई । नभन्दै बाह्र वर्षे युद्धपछि पनि देशले कुनै निकास पाउन सकेन ।
सर्वहाराहरूको पाटी भनिएको कम्युनिस्टको सरकार देख्दा त उसलाई बेला बेला ऐँठन नै भएर आउँछ ।
पृथ्वी गोलो भएरै होला, घुम्दै फिर्दै ऊ एकै ठाउँमा आइपुग्छ । नयाँ र नौला क्षितिज भेटाउन सक्दैन । रातमा न निन्द्रा, दिनमा न चैन , मात्र अशान्ति । आजकाल त उसले रक्सी पिउन पनि थालेको छ ।
ऊ आफै भन्थ्यो “जाँड रक्सी, चुरोट बिँडी खानु हुँदैन ।” तर जीवनदेखि हरेस खाएपछि मान्छेले चरेससम्म खाँदो रहेछ । आखिर मन त बहलाउनु पर्यो नै । स्वास्थ्यको लागि हानिकारक छ भनेर, जाने मात्र हुँदो रहेनछ।
“मान्छे कसरी कुलतमा फस्दो रहेछ मैले थाहा पाएँ यार ।” ऊ पिउँदापिउँदै कहिलेकाहीँ एक्लै बोल्ने गर्छ । “मान्छेले चोरी गर्छ । लुटपाट गर्छ । डकैती गर्छ । पैसाको लागि मान्छेले मान्छे मार्छ । बाँच्ने उपाय नभेटेर नै त होला नि ? पढ्ने, लेख्ने, जान्ने, बुझ्ने भएर मात्र के हुँदो रहेछ र ? मैले पनि त एम.ए. सम्म पढेको छु नि । ” ऊ एक्लै बरबराउने गर्छ ।
“तपाई मलाई लाछी ठान्नु होला । पानी मरुवा भन्नु होला । जे भन्नु होस् ।” ऊ खिस्स हाँस्छ ।
उसलाई हेर्दा यस्तो लाग्छ, पिरै पिरले चाउरिँदै गएको छ उ । डिप्रेसनले गाँज्दै लगेको छ । दिन प्रतिदिन विक्षिप्त र जीवनदेखि नै दिक्दार बन्दै गएको छ ।
“हरपल मरीमरी बाँच्नु भन्दा त एकै पलमा मर्न, मन लाग्न सक्छ, त्यही पललाई केही बेर सहेर त हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ । ” सत्य र स्वरूपराज आचार्यको गीत एकनाससँग बजिरहेको हुन्छ ।
उ झसङ्ग हुन्छ । पसिनै पसिनाले भिजेको उ एक बोतल चिसो पानी घट घट पिउँछ र फेरि सोच मग्न हुन्छ ।
आफ्नै आत्महत्याको समाचार ! म कसरी पढूँ ! …..
(लेखक ढकाल मनोविद् हुन । उनी मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् । )