कलम ‘क’ बाट सुरु भएको शैक्षिक यात्रामा ज्ञानी ‘ज्ञ’ सम्म पुर्याउँदा सम्म थाहा छैन, म आफू कति ज्ञानी थिएँ !! बाल्यकालमा कलम ‘क’ पढ्दै जाँदा बिचमा राम्रो ‘म’ आउँदा आफूलाई साँच्ची नि राम्री भन्ठान्ने म ,थाहा छैन कति राम्री थिएँ या थिइनँ ! राम्रो ‘म’ हुन्छ भनेर त सुगा रटाइ कण्ठस्थ त गरियो तर ‘म’ भित्रको ‘म ‘ चाहिँ कस्तो छ भनी जान्नका लागि कुन पाठ्यक्रम पढ्ने भन्ने कुरा मैले कहिल्यै बुझिनँ। पढाइप्रति रुचि नभएर हो या आफ्नो रुचि अनुसारको पढाइ छनौट गर्न नजानेर हो आफूले पढ्नुपर्ने पाठ्यक्रम निकै बोझ लाग्ने यहाँ म जस्ता धेरै विद्यार्थी होलान् ।
धावन्ती खेती, घोकन्ते विद्या भन्ने प्रचलित कथनबाट प्रभावित हाम्रो समाजमा अभिभावकले आफ्ना सन्तानको उज्ज्वल भविष्यका खातिर धेरै त्याग र शैक्षिक क्षेत्रमा ठुलो लगानी गरेका हुन्छन् । त्यसैले अभिभावकले आफ्ना छोराछोरीको पढाइ र पेसाप्रति चिन्ता लिनु अस्वाभाविक होइन। उनीहरूले सधैँ राम्रो नतिजा ल्याउन् भन्ने अपेक्षा राखेका हुन्छन् तर शैक्षिक क्षेत्रमा लगानी गर्दा फलानाका छोराछोरीले गरेको प्रगति हेरेर होइन आफ्ना छोराछोरीले के गर्न सक्छन् ? उनीहरूको इच्छा, रुचिको विषयवस्तु के छ भन्ने बुझेर मात्र लगानी गरिदिए राम्रो प्रतिफल मिल्नेछ र उनीहरूले पनि आफूले सोचे अनुरूप सफलता हासिल गर्न सक्छन् भन्ने कुरा हाम्रा अभिभावकहरूले पनि बुझ्न जरुरी छ।
सफलता हासिल गर्न रुचि सँगसँगै सिकाइ र उत्प्रेरणा पनि उत्तिकै जरुरी हुन्छ। सिकाइ र समय निरन्तररुपमा चलिरहने प्रक्रिया हुन् ।सिकाइको कुनै सीमा हुँदैन तर व्यक्तिलाई सकारात्मक उत्प्रेरणा सिकाइ जति सहजै रूपमा मिल्दैन जस्तो लाग्छ। सबै व्यक्ति आत्म प्रेरित हुन्छन् भन्ने हुँदैन ।त्यसैले उनीहरूलाई विशेष गरी बालबालिकालाई कुनै पनि काम वा कुरामा अभिप्रेरित गर्न हौसला चाहिन्छ ।
मानिसका इच्छा,अनुभूति, बुझाई र सपनाहरू व्यक्तिअनुसार फरक-फरक हुन्छन् । यदि प्रत्येक व्यक्तिले हरेक कुराहरूलाई आ-आफ्नो तरिकाले सही रूपमा बुझ्ने हो भने यहाँ घोकन्ते परिपाटीको जन्मै हुने थिएन होला। यदि न्युटनले रुखबाट स्याउ खस्दा बेवास्ता गरिदिएका भए उनलाई गुरुत्वाकर्षणबारे थाहा नै हुने थिएन होला ।
यहाँ हामीले बुझ्नुपर्ने कुरा के रहेछ भने मान्छेभित्र जिज्ञासा हुनुपर्छ ।कुनै पनि विषयवस्तु प्रतिको चासोले मान्छेलाई जिज्ञासु बनाउँछ र जिज्ञासाले नै सृजनशीलतालाई जन्म दिन्छ ।त्यसैले आफूलाई सृजनशील बनाउनु छ भने घोकन्ते प्रवृत्ति लाई कम गरी आफ्नो वास्तविक इच्छा र रुचिलाई बुझ्नका लागि अरू कुराहरू लाई भन्दा बढी आफूभित्रको आफूलाई समय दिन आवश्यक छ ।