नेकपा प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पञ्चभेला गर्दै हिँडेको टिप्पणी गरेका छन् । खनालले प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले शनिबार विराटनगरमा गरेको प्रदर्शनलाई संकेत गर्दै देशभर पञ्चभेला गरेको टिप्पणी गरेका हुन् ।
भारतमा उपचार गराएर शनिबार स्वदेश फर्किएका खनालले पत्रकारहरुसँग विमानस्थलमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेर मुलुकमा प्रतिक्रान्तिको थालनी गरेको र देशभर पञ्चभेला गर्दै हिँडेको बताए ।
उनले आफू भारतमा रहँदा कुनै पनि राजनीतिक भेटघाट नगरेको स्पष्ट पारे। आफ्नो देशको समस्या आफैं हल गर्नुपर्छ भन्ने मान्यतामा आफू रहेकोले अन्य देशका नेताहरूसँग भेटघाट गर्नुपर्ने कुनै कारण नरहेको पनि उनले बताए।
नेपाली जनता लोकतन्त्र र संविधानको रक्षाका लागि उठिसकेको बताउँदै आफूहरूको आन्दोलन सफलतामा नपुगी विश्राम नहुने पनि उनले बताए। भारतमा आफूले एपोलो अस्पतालमा भर्ना भई उपचार गराएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको समेत खनालले बताए।
श्रीमती रविलक्ष्मी चित्रकारसहित गत माघ ३० गते स्वास्थ्य परिक्षणको लागि दिल्ली गएका खनाले आज स्वेदश फर्केका हुन् ।
भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएर उनको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । चिकित्सकका अनुसार खनालको स्वास्थ्य अवस्था सुधार भएको स्वकीय सचिव भट्टराईले बताए ।