रामकुमारी झाक्रीलाई रिहा गर्नुपर्ने माग राख्दै बानेश्वरमा भएको आन्दोलनमा फोटो पत्रकार घाइते भएका छन् ।
प्रर्दशनका क्रममा भएको धरपकडमा परेर फोटो पत्रकार क्लबका सदस्य तथा कान्तिपुर दैनिकका फोटोपत्रकार कविन अधिकारी घाईते भएका हुन् ।
उनको खुट्टामा चोट लागेकोले उपचारको लागि मिनभवन स्थित निजामती अस्पताल लगिएको छ ।
काठमाडौंको नयाँबानेश्वरमा बिहीबार साँझ नेकपा निकट युवा विद्यार्थीले गरेको प्रर्दशनका क्रममा अधिकरी घाइते भएपछि फोटो पत्रकार क्लबले आन्दोलनरत पक्ष र सरकारलाई संयमता अपनाउन आग्रह गरेको छ ।
बिहीवार राती प्रेस बिज्ञप्ती जारी गर्दै क्लबले चौथो अंगको रुपमा मानिएको संचार क्षेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेषणको सहज वातावरण बनाउन आग्रह समेत गरेको छ ।
प्रचण्ड-नेपाल नेतृत्वकी नेकपा नेता रामकुमारी झाँक्रीको रिहाइको माग गर्दै युवा तथा विद्यार्थीहरुले बिहिबार प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा माइतिघरबाट नयाँ बानेश्वरमा जाँदै गरेको टोली र प्रहरीबीच एभरेष्ट होटल अगाडि धकेलाधकेल समेत भएको थियो ।
प्रदर्शनमा सहभागीहरुले ‘रामकुमारीलाई रिहा गर’, ‘बलात्कारीलाई फाँसी दे’, ‘नालयक सरकार राजीनामा दे’, ‘रामकुमारीलाई होइन बलात्कारीलाई पक्राउ गर’ जस्ता नारा लगाएका थिए।