नेपाल दैनिक भेटिने कोरोना सङ्क्रमितको सङ्ख्या दिनदिनै घट्न थालेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार अपराह्न सार्वजनिक गरेको तथ्यांक अनुसार गत २४ घण्टामा ९९ जना सङ्क्रमित फेला परेका छन् ।
मन्त्रालयले देशभरका प्रयोगशालामा २ हजार ७९५ जनाको नमुना परीक्षण गर्दा ५७ पुरुष र ४२ जना महिलामा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाएको छ ।
योसहित कूल सङ्क्रमितको सङ्ख्या २ लाख ७१ हजार ८०६ पुगेको छ जसमध्ये २ लाख ६७ हजार ८१२ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २४८ जना भाइरसमुक्त भएका हुन् ।
हाल एक हजार ९५९ जना सङ्क्रमित आइसोलेशनमा छन् ।
हालसम्म २० लाख ९१ हजार १६६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा कोही पनि सङ्क्रमितको मृत्यु भएको छैन । हालसम्म २ हजार ३५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हाल ९५ जना क्वारेन्टिनमा छन् ।