कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ अहिलेसम्म १ लाख ७१ हजार ४८६ जनाले लगाएका छन् ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि लगाउन सुरु गरिएकोमा अहिले ७७ वटै जिल्लाका २०१ वटा खोप केन्द्रबाट अग्र पङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो ।
आजसम्म प्रदेश नं. १ मा २३ हजार ८२ जना, प्रदेश नं. २ मा २२ हजार ७५६ जना, वाग्मती प्रदेशमा ५९ हजार ९४२ जना, गण्डकी प्रदेशमा १७ हजार ३१५ जना, लुम्बिनी प्रदेशमा २६ हजार ८९८ जना, कर्णाली प्रदेशमा ८ हजार ६८४ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८०९ जनालाई खोप दिइएको छ । यही माघ १४ गतेबाट पहिलो चरणमा प्राथमिकता परेका व्यक्तिलाई लगाउँदै आएको खोप शनिबार समापन गरिँदैछ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले खोपको दोस्रो चरणबारे चाँडै जानकारी गराइने बताए ।
मन्त्रालयले पहिलो चरणमा प्राथमिकता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट प्रमाणीकरण गरेको विवरण तथा अन्य व्यक्तिका हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिस पत्र जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी खोप लगाउन आग्रह गरेको छ ।