भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ४५ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।
त्यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म १ करोड सात लाख ९० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ८९९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ७ लाख ९० हजार १८३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १०७ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ५४ हजार ७०३ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा १ करोड चार लाख ८० हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ५५ हजार २५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार १५० जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र छ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ८६४ को मृत्यु भइसकेको छ ।
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १९ करोड ९२ लाख १६ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बुधबार एकै दिनमा मात्र सात लाख ४२ हजारभन्दा बढी व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेको जनाइएको छ ।