अभिनेता राजेश हमालको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ विवादमा परेको छ । क्रिस्चियनको लगानीमा हिन्दुविरोधी कार्यक्रम निर्माण गरेको भन्दै कार्यक्रमको अहिले सामाजिक संजाललगायत चारैतिर चर्काे विरोध हुन थालेका छन् ।
समता फाउण्डेसनले कान्तिपुर टेलीभिजनबाट प्रसारण गर्दै आएको ‘जातको प्रश्न’ नेपाली समाजको विभेद र छुवाछुतको अत्यका लागि भन्दै सुरु भएको थियो । तर कार्यक्रम हिन्दुबिरोधी भएको भन्दै बिरोध हुन थालेको हो ।
‘क्रिश्चियन एड नेपाल’को लगानी रहेको कार्यक्रमका कारण अहिले अभिनेता हमाल पनि निसानामा परेका छन् । हमाल नायक भएर पनि कार्यक्रम मार्फत उनले समाजप्रति कुठाराघात गरेर खलनायकको भूमिका निर्वाह गरेको आरोप लगाइएको छ । हमालले ‘जातको प्रश्न’ नामको कार्यक्रम तत्काल छोडेर हिन्दु समाजसँग माफी माग्नुपर्ने अवाज समेत गुन्जन थालेका छन् ।
नेपालका हुने गरेका जातीय विभेद र छुवाछुतका घटना न्यूनीकरण गर्ने उद्देश्यले सो कार्यक्रम निर्माण गरिएको भनिए पनि उल्टै समाजमा जातीय द्वन्द्व ल्याउन भूमिका खेलेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अभिनेता हमालको विरोध गरिरहेका छन् । उनले लिइएका अन्तर्वार्ताको कमेन्टमा पनि हमालको विरोध गरिन थालिएको छ ।
समाजमा टेलिभिजन शोले जातीय विभेद अन्त्य नगराउन भन्दै ति आलोचकहरुले शिक्षाको पहुँच बढाउँदै चेतनाको स्तर उकास्नु पर्ने बताएका छन् । सो कार्यक्रमप्रति युट्युब तथा फेसबुकमा आएका कमेन्टले पनि जातीय द्वन्द्वको गन्ध दिएको आलोचकको दावी छ ।
हमालको पुत्ला दहन
हिन्दूत्व समाप्त पार्न खोजेको भन्दै हिन्दू समर्थकहरुले महानायक राजेश हमालको पुत्ला दहन गरेका छन् । साथै सामाजिक सञ्जालमा पनि नायक हमालको बिरोध तीब्र बनाइएको छ ।
जातको प्रश्न नामक टेलिभिजन कार्यक्रममार्फत हमालले हिन्दूको अस्थित्वमाथि आँच आउने तथा हिन्दू बिरोधी बिषयवस्तु उठाएको भन्दै उनीहरुले हमालको पुत्ला दहन गरेका हुन् ।केही महिना अघिबाट सञ्चालनमा आएको उक्त कार्यक्रम समता फाउण्डेसनले नेपाली समाजको विभेद र छुवाछुतको अत्यका लागि भन्दै सुरु गरेको हो ।
तर राष्ट्रिय एकता अभियानको अगुवाईमा सोमबार काठमाडौंको भिमसेन गोलामा जम्मा भएका हिन्दू समर्थकहरुले क्रिश्चियन लगानीमा हिन्दूत्व समाप्त पार्ने खेल राजेश हमालले भूमिका खेलेको आरोप लगाएका छन् ।हमालले हिन्दुहरुको हुर्मत लिने काममा मतियार बनेको उनीहरुको आरोप छ । पुत्ला दहनमा भेला भएका सहभागीहरुले उक्त टेलिभिजन कार्यक्रमलाई बन्द गरेर हिन्दु समाजसँग माफी माग्नुपर्ने मागसमेत गरेका छन् ।सहभागीहरुले राजेश हमालले हिन्दू धर्म संस्कृतिलाई मास्ने काम गरेको र जातिय बितण्डता मच्चाउन खोजेको बताएका थिए ।
उनीहरुले हिन्दू समाजबाट उठेको रकमबाट नायक बनेर हिन्दू समाजलाई नै घात गरेको बताएका छन् । हमालले आफ्नै काममार्फत नायकबाट खलनायक भएको सिद्ध गरेको उनीहरुको आरोप छ । हमालले क्रिश्चियनको पैसा खाएर हिन्दू धर्मावालम्बीहरुमाथि प्रहार गरेको नारासमेत लगाएका थिए ।क्रिश्चियन दलाली बन्द गर, हिन्दु द्रोह राष्ट्र द्रोह, राजेश हमाल नायक कि खलनायक, राजेश हमाल इन सेल, हिन्दूत्व माथिको आक्रमण बन्द गर जस्ता लेखिएका पोष्टर बोकेर बिरोध भएको थियो ।
फाउन्डेसनले विज्ञप्ती निकाल्यो
‘जातको प्रश्न’ कार्यक्रम प्रसारण भइरहेकै बेला आफ्नो लोगो र कार्यक्रम प्रस्तोता राजेश हमालको तस्बिरसमेत दुरुपयोग गरी सामाजिक सञ्जालमा अफवाह फैलाइएको घटनाप्रति कार्यक्रम निर्माता ‘समता फाउन्डेसन’ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
दलित समुदायविरूद्ध भइरहेका शृंखलाबद्ध हिंसा र विभेदबारे सरोकारवाला पक्ष र समुदायस्तरमा पनि संवादको संस्कृति बढाउन ‘जातको प्रश्न’ टेलिभिजन कार्यक्रम उत्पादन गरिएको र यसमा कुनै निश्चित जात, धर्म, लिंग, क्षेत्रप्रति कुनै पनि प्रकारको पूर्वाग्रह नराखिएको समता फाउन्डेसनले विज्ञप्ति जारी गरी ‘स्पष्ट’ पारेको हो।
‘उक्त पोस्टर समता फाउन्डेसनले नबनाएको र त्यसमा संस्थाको कुनै संलग्नता नभएको पनि यसै विज्ञप्तिमार्फत प्रस्ट्याउँछौं,’ संस्थाका कार्यकारी अध्यक्ष प्रदीप परियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘अनधिकृत रूपमा संस्थाको लोगो र व्यक्तिको फोटो प्रयोग गररी पोस्टर बनाई भ्रम फैलाउनु नेपाल सरकारको साइबर कानुनबमोजिम दण्डनीय क्रियाकलाप भएको तथ्यबारे ध्यानाकर्षण गराउँदै सम्बन्धित सबैलाई सचेत हुन अनुरोध गर्दछौं।’
विरोधका स्वरहरु धेरै
अभिनेता हमालले चलाएको ‘जातको प्रश्न’ कार्यक्रम समता फाउन्डेशनले ‘क्रिश्चियन एड नेपाल’सँग सहकार्य गरी उत्पादन गरेको हो । यो कार्यक्रम हरेक शनिबार साढे ६ बजे कान्तिपुर टेलिभिजनमा र समता फाउन्डेशनको युट्युब च्यानलमा हेर्न सकिन्छ । ती कार्यक्रममा उनले जातीय विभेद निम्त्याउने गरी कार्यक्रम चलाएको देखिँदैन ।
तर, उनको जातको प्रश्न कार्यक्रमबारे समाजमा पक्ष र विपक्षमा विचार आइरहेको छ । ‘राजेश हमालले आफ्नो महानायकको ताजको गरिमा बचाउन चाहन्छन् भने यस्तो विवादास्पद कार्यक्रमबाट चाँडोभन्दा चाँडो पन्छिनु उत्तम हुन्छ’, पत्रकार चिरञ्जीवि पौडेलले फेसबुकमा लेखेका छन् ।
यसबारे उनले थप लेखेका छन्, ‘नेपालमा छुवाछुतको समस्या पहिलेजस्तो डरलाग्दो अहिले छैन । तर पनि जातीय विभेदका केही अवशेषहरु बाँकी छन् । शिक्षामा बढ्दो पहुँचसँगै यो समाधान हुँदै जान्छ । एउटा क्रिस्चियन संस्थाले डलर खन्याएर छुमन्तर हुने होइन । क्रिस्चयन एडको प्रष्ट रणनीति छ, अल्पविकसित एव अविकसित देशहरुमा पसेर जातीयताको नारा उराल्न सहयोग गर्ने र धार्मिकर जातीय अल्पसंख्यकहरुलाई हातमा लिएर आफ्नो मिसन पुरा गर्ने । राजेश हमाललाई मोहरा बनाएर सञ्चालनमा ल्याइएको ‘जातीय प्रश्न’ भन्ने टेलिभिजन कार्यक्रम यही मिसनको एउटा कडी हो ।आवरणमा यो कार्यक्रमले जातीय छुवाछुतविरुद्ध जनचेतना फैलाउने उद्देश्य राखेको छ । तर, अन्तर्यमा यसको अभिष्ट नेपालमा विभिन्न जातजातीबीच विद्वैष चर्काउँदै हिन्दू धर्मप्रति अनास्था फैलाउने नै हो ।’