सरकारले कोरोना भाइरसको परीक्षण शुल्क फेरि घटाएको छ । परीक्षण शुल्क दुई हजार रुपैयाँबाट घटाएर एक हजार रुपैयाँमा झारिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङ्गमा जानकारी दिए ।
उनले परीक्षणको यो रकम समयानुकुल समायोजन हुँदै जाने पनि बताए ।
सरकारले कोरोना परीक्षणको रकम चौथो पटक घटाएको हो । पहिले ५ हजार ५ सय रुपैयाँमा हुने गरेको परीक्षण ४ हजार ४ सय रुपैयाँमा झारिएको थियो, फेरि त्यसलाई पनि घटाएर २ हजारमा झारिएको थियो ।
यस्तै प्रवक्ता गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएका प्रयोगशालाले मात्र परीक्षण गर्न पाउने बताए ।
यसैबीच सरकारले कोरोना भाइरसको जोखिम लगातार बढिरहेको भन्दै जनस्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ । देशभरका ७ सय ५३ वटै पालिकालकाई जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न/गराउन निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मंगलबारसम्म नेपालमा १ लाख १५ हजार ३५८ जनामा कोरोना पुष्टि भैसकेको छ । तीमध्ये ६६३ जनाको निधन भएको छ भने ७८ हजार ७८० जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।
पछिल्लो २४ घन्टामा ३ हजार ५५६ जनामा कोरोना पुष्टि भएको हो तीमध्ये २ हजार १२९ जना काठमाडौं उपत्यकामा तीन जिल्लाका बासिन्दा हुन् ।
अहिलेसम्म सरकारले १२ लाख ७ हजार ९१ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण भएको जनाएको छ ।