काठमाडौं उपत्यकामा दैनिक ३ अंक (१०० वा सो भन्दा बढी) मा संक्रमित फेला पर्न थालेपछि आम मानिसहरु सचेत हुन थालेका छन् ।
सोमबार बिहान काठमाडौं उपत्यकामा मुख्य सडकहरुमा फाट्टफुट्ट सवारी साधनबाहेक केही चलेका थिएनन् । यसबाट पनि आम नागरिक सचेत भएको अनुमान लगाउन सकिन्छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना उच्च विन्दुमा पुगेपछि विभिन्न स्थानीय तहहरुले आफू अनुकुल लकडाउन र सिल गरिरहेका छन् ।
सोमबार भक्तपुरको कौशलटार देखि केटीएम दैनिकको कार्यालय डिल्लीबजारसम्म आउँदा सडक लगभग सुनसान प्राय थियो । अत्यावश्यक सेवाका केही सवारी साधनहरु मात्र सडकमा गुडेका देखिन्थे । बाटोमा जोर बिजोर कार्यान्वयन गर्न ट्राफिक प्रहरीको चेकिङ्ग थियो ।
उपत्यकामा २० प्रतिशत लक्षण भएका संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म काठमाडौं उपत्यकमा एक हजार नौ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये दुई सय ८० अर्थात् १४ प्रतिशत वृद्धवृद्धा रहेका छन् । देशका अन्य जिल्लाको तुलनामा यो धेरै हो । पछिल्लो एक महिनामा ठूलो संख्यामा उपत्यकामा वृद्धवृद्धा संक्रमित हुनुले घरघरमा कोरोना पुगेको चिकित्सकहरूको अनुमान छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा पुष्टि भएका कोरोना संक्रमितमा धमाधम लक्षण लेखिन थालेको छ । इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा पुष्टि भएका एक हजार नौ सय ६७ संक्रमितमध्ये २० प्रतिशतलाई कडा खालको लक्षण देखिएको छ । लक्षण भएपछि बेड अभावले गर्दा झन्डै नौ सयभन्दा बढी संक्रमित घरमा बसेका छन् ।